मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार जोसुकैको बनोस्, चिन्ता कोरोनको नयाँ भेरिएन्टको जो छ

आइतबार, १० पुस २०७९, १५ : २६
आइतबार, १० पुस २०७९

नेपालमा बन्ने जो सुकैको सरकारसँग मलाई कुनै चासो छैन । जुन गठबन्धनको बने पनि, नेतृत्व जसले गरे पनि, जोसुकै मन्त्री बने पनि म कुनै टीका टिप्पणी गर्दिन । यति मात्र चाहन्छु कि छिट्टै सरकार गठन भएर निकट भविष्यमा आउन गइरहेको विपत्तिको सामना गर्न नेपाल सक्षम होस् ।

कोरोनाले फेरि संसारलाई निल्ला जस्तो छ । त्यसैले, मैले राजनीतिभन्दा कोरोनाको नयाँ सब भेरियन्ट ओमिक्रोन बीएफ ७ को कुरा यस लेखमा गर्दैछु । चीनमा ओमिक्रोनको यस सब भेरियन्टले तबाहीकै स्थिति खडा गरिसकेको छ । छिमेकी भारतको केन्द्र सरकारका साथै राज्य सरकारले युद्धस्तरमा भाइरससँग मुकाबिला गर्ने तयारी थालिसकेको छ ।

सर्वप्रथम चीनमा देखा परेको ओमिक्रोनको यो सब भेरियन्ट बीएफ ७ अमेरिका, यूरोप, भारतलगायत ९० भन्दा बढी देशमा पुगिसकेको छ।

चीनिया सरकारले बीएफ ७ ले मचाएको उत्पातबारे सही तथ्याङ्क प्रस्तुत गरेको छैन। तर अस्पतालमा देखिएका लामा लामा लाइन, औषधि पसलमा ज्वरोकै औषधिको अभाव, क्रेमेसन स्थलमा चौबीसै घण्टा सेवा उपलब्ध हुँदा पनि देखिएको लामो प्रतीक्षा सूचीले फरक कुरा बयान गरिरहेका छन् ।

चीन सरकारले भने दुनियाले नपत्याउने कुरा गर्दै गत बिहिवार १८  डिसेम्बरदेखि २४  डिसेम्बरसम्म ६ जनाको मृत्यु एवम् यस अवधिमा २० हजार ८३४ जना संक्रमित देखापरेको जनाएको छ । चीनले भेरियन्ट बीएफ ७ बाट संक्रमित हुने एवम् मृत्यु हुनेको वास्तविक डेटा सार्वजनिक नगर्दा कोरोना भाइरसको यस भेरियन्टको घातक अवस्थाबारे अनुमान लाउन मुश्किल भइरहेको छ ।

 ‘‘Cell Host and Microbe’ जर्नलमा प्रकाशित अध्ययनअनुसार यस भेरियन्ट ‘न्यूट्रलाइजेसन रेजिस्टेन्स’ क्षमता पहिलाको वुहान भेरियन्ट कोभिड  १९ भन्दा ४ दशमलब ४ गुना बढी छ । यसको सोझो अर्थ के हो भने पहिला संक्रमित भएर उपलब्ध भएको प्रतिरोधात्मक क्षमता एवम् भ्याक्सिन लगाएर विकसित भएको प्रतिरोधात्मक क्षमताले यस भेरियन्टलाई नियन्त्रित गर्दैन ।

बीएफ ७ को आरओ (प्रसार क्षमता) १० देखि १८ सम्म रहेको कुरा प्रकाशमा आएको छ।  अर्थात् यो भेरियन्ट अहिलेसम्मका सबै कोरोना भाइरस भेरियन्टको तुलनामा अति छिट्टै व्यापक रुपमा प्रसारित हुन्छ ।

अमेरिका, जर्मनी, फ्रान्स, ब्राजिल, दक्षिण कोरिया  र जापानको स्थितिबाट यसको घातक अवस्थाबारे अनुमान लाउन सकिन्छ ।

गत एक सातामा जापानमा  ११  लाख ३६  हजार ५०४  संक्रमित भए, मृतक संख्या १ हजार ९३२ रह्यो । दक्षिण कोरियामा ४ लाख ७१ हजार १७६ संक्रमित देखिए भने मृतक संख्या ३९१  रह्यो । फ्रान्समा ३ लाख ५ हजार ३२९ संक्रमित र मृतक संख्या ७४८ रह्यो । अमेरिकामा संक्रमित संख्या ३ लाख ५६५  र मृतक संख्या १ हजार ९०३ रह्यो । ब्राजिलमा संक्रमित संख्या २ लाख ६०  हजार ३३८ र मृतक संख्या  १ हजार ५६  र  जर्मनीमा संक्रमित संख्या २ लाख ३१  हजार ५५ एवम् मृतक संख्या ८८४ रह्यो।

२३  डिसेम्बरका दिन अमेरिकामा २९  हजार ४२४  नयाँ संक्रमित देखिए भने १६५ को मृत्यु भयो । फ्रान्समा ४३ हजार ७६६ संक्रमित आए भने मृतक संख्या १५८, जर्मनीमा संक्रमित संख्या ३४  हजार ९२  र मृतक संख्या १५७  । यसै गरी ब्राजिलमा संक्रमित संख्या ७०  हजार ४१५ र मृतक संख्या २८२ रहेको थियो। जापानमा संक्रमित संख्या १ लाख ७३  हजार ३३६  र मृतक संख्या ३१५  र दक्षिण कोरियामा संक्रमित संख्या ६८ हजार १६८ र मृतक संख्या ६३ रहेको थियो। यी देशको तथ्याङ्कले भेरियन्ट बीएफ ७ निकै खतरनाक रहेको देखाएको छ।

चीनको सरकारले सार्वजनिक गरेको तथ्याङ्कमाथि विश्वास नगरेर हङकङको वर्तमान स्थितिबाट चीनमा के भइरहेको अथवा के हुन सक्ने अनुमान लाउन थालिएको छ । हङकङमा अहिले प्रत्येक दिन मृतक संख्या उकालो लाग्दै गइरहेको छ । डिसेम्बर १५ का दिन त्यहाँ १७ हजार ८० संक्रमित १९ मृतक, डिसेम्बर १६ मा  संक्रमित १५ हजार ७२६ मृतक ३२, डिसेम्बर १७ मा संक्रमित १५ हजार ७७४ मृतक २४, डिसेम्बर १८ मा संक्रमित १६ हजार २३ मृतक ४०, डिसेम्बर १९ मा संक्रमित १५ हजार ३८३ मृतक ३९, डिसेम्बर २० मा संक्रमित १४ हजार ९८२  मृतक ३३,  डिसेम्बर २१ मा संक्रमित १६ हजार ९५३ मृतक संख्या  ५०, डिसेम्बर २२ मा संक्रमित संख्या १९ हजार ७०५ मृतक ३४ जना, डिसेम्बर २३ मा संक्रमित संख्या २० हजार २५२ मृतक संख्या ४६, डिसेम्बर २४ मा संक्रमित संख्या २१ हजार ३६२ मृतक संख्या ३९ रहेको थियो। 

१ करोड पनि जनसँख्या नभएको हङकङमा कोरोना संक्रमणको यो स्थिति छ भने बाँकी अनुमान आफै लाउन सकिन्छ।

पश्चिमा  संक्रमणविदहरुले चीनबारे गरेको भविष्यवाणी अति डरलाग्दो छ ।  नयाँ वर्षका आउने ४ महीना अप्रिलसम्ममा चीनले संक्रमणका कारण ठूलो क्षति ब्योहोर्ने अनुमान गरिएको छ ।

चीनमा बसोबास गर्ने विदेशी नागरिक, मानव अधिकारकर्मी एवं ब्लूमबर्ग न्यूज एजेन्सीले दिएको जानकारी अनुसार चीनका क्रेमेसन स्थलमा दाहसंस्कारका लागि २० दिन पछिको समय दिइदैछ । विभिन्न खाले गोदाम र मस्जिदहरुमा मृत शरीर राखिएका छन् ।

ह्यूमन राइट एक्टिभिस्ट जेनिफर जेङका अनुसार युक्वैनिङ सब डिस्ट्रिक्टको  एउटा वेयरहाउसमा १५ हजार भन्दा बढी शव राखिएका छन् । चिनिया कम्युनिस्ट पार्टीका कैयन उच्च पदाधिकारीका साथै राष्ट्रपतिका कैयन सहयोगी पनि कोरोनाले निधन भएको समाचार छ ।

यसै बीच चीनको नेशनल हेल्थ कमिशनले अबदेखि (गएको शनिवार २४ डिसेम्बर ) देशमा फैलिएको कोरोना संक्रमण र यसबाट हुने मृत्युको जानकारी प्रकाशित नगर्ने घोषणा गरेको छ । चीनले ७ डिसेम्बर यता विश्व स्वास्थ्य संगठनलाई देशको कोरोना अवस्थाबारे कुनै जानकारी दिएको छैन । 

अहिलेसम्मको अनुमानअनुसार बीएफ ७ को ‘न्यूट्रलाइजेसन रेजिस्टेन्स’ कोभिड  १९ भाइरसभन्दा ४ दशमलब ४ गुणा बढी छ ।  यसको प्रसार क्षमता १८ सम्म छ र भाइरसविरुद्ध बनेका भ्याक्सिन निष्प्रभावी भए भने विश्व एक पटक पुनः  सन् २०२० कै स्थितिमा पुग्ने सम्भावना देखिन्छ ।

कोरोनाबारे भारतका विभिन्न राज्यका मुख्यमन्त्री तथा प्रधानमन्त्रीको चासो एवम् सक्रियता त्यसै भएको होइन । भारत आउन सक्ने सम्भावित संकटको सामना गर्न तत्पर बनिसकेको छ ।

मैले लेखको प्रारम्भमा सरकारको गठन शीघ्र होस् भन्ने चाहना व्यक्त गरेको थिएँ ।  कारण देशमा हुन सक्ने, आउन सक्ने कोरोना जोखिम नै हो । हो, कुनै पनि प्रधानमन्त्रीले देशमा भाइरस प्रवेश हुनबाट रोक्न सक्दैन ।  भाइरसबाट हुने आदि यावतका क्षतिलाई पनि रोक्न सक्दैन ।  तर यदि सरकार जनउत्तरदायी छ भने हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न सक्छ ।

खासमा प्रमुख जिम्मा प्रधानमन्त्रीको पनि होइन, प्रधानमन्त्रीको सहयोग र सदाशयता भए पुग्छ । हो, स्वास्थ्य मंत्रालयको कमान भने योग्यका हातमा हुनुपर्छ। त्यसैले आज  १० गते शपथ लिने प्रधानमंत्रीले तू का तू स्वास्थ्य मंत्रालयको कमान योग्य व्यक्तिलाई दिएर ओमिक्रोन बीएफ ७ को मुकाबिला गर्ने मोर्चा खोल्नु आवश्यक हुन्छ ।

दलीय भागबण्डाले गर्दा योग्य स्वास्थ्य मन्त्री भेट्ने अवस्था नभएमा तत्काल कोभिड टास्क फोर्स गठन गरिनु उपयुक्त हुनेछ र त्यसको कमान सम्हाल्ने सबैभन्दा उपयुक्त पात्र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई हुनसक्छन् l भूकम्पपछि उनले पुनर्निर्माण विकास प्राधिकरणमा सीईओ हुने चाहना राखेको स्मरण छ नेपालीलाई। बाबुरामले उक्त जिम्मेवारी वहन गर्ने मौका पाए भने कोभिडबाट हुन सक्ने क्षतिलाई ७५ प्रतिशतभन्दा न्यून गर्न सक्छन्, जसले गर्दा ओमिक्रोन बीएफ ७ भाइरस जति खतरनाक भए पनि लकडाउन गर्नु पर्ने अवस्था आउने छैन। बाबुरामलाई व्यक्तिगत रूपले म चिन्दिन, आजसम्म भेटेको पनि छैन। तर, यदि आसन्न संकटका बेला उनले कुनै जिम्मेवारी वहन गरे भने उनलाई हरसम्भव सहयोग गर्नेछु।

अहिले नेपालमा कोरोना संक्रमण नियन्त्रणमा छ भनेर मख्ख पर्ने सोच घातक हुनसक्छ। संक्रमण बढ्न नदिने हर सम्भव तैयारी संक्रमण बढ्नु भन्दा पहिला नै गर्नुपर्छ।  एक पटक संक्रमण बढ्यो भने जतिसुकै प्रयास गरे पनि न त संक्रमण प्रसारलाई रोक्न सकिन्छ र न त संक्रमणबाट हुने जनधनको क्षतिलाई रोक्न सकिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानमित्र
ज्ञानमित्र

लेखक अध्यात्म र विज्ञानमा विशेष रुचि राख्छन् ।

लेखकबाट थप