शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रित्तिँदै पहाड, भरिँदै तराई

बुधबार, १३ पुस २०७९, १९ : ५४
बुधबार, १३ पुस २०७९

इलाम देउमाई–२ का खगेन्द्र सुवेदी बसाइँ सरेर झापा बुधबारे झरे । उनी परिवारसहित नै पाँच वर्षअघि बुद्धशान्ति गाउँपालिका झापा झरेका हुन् । 

कोरिया बसेर नेपाल फर्किएका उनी जन्मथलो दुर्गम भएकै कारण सुगम खोज्दै झापा झरेका हुन् । स्वास्थ्य उपचार, शिक्षालगायतले तराईमा बढी विकास भएका कारण तराई झरेको उनको भनाइ छ । उनी तराई झरे पनि उनको पहाडमा भएको जमिन बिक्री भएको छैन । जमिन कमाउने मानिससमेत गाउँमा भेटिन छोडेका छन् । 

खगेन्द्रजस्तै तीन वर्ष पहिले नै गुरु अधिकारी पनि देउमाई नगरपालिका दुई छोडेर झापा बसाइँ झरे । उपचारमा झापामा आएका उनी चिकित्सकले निरन्तर फलोअपमा आउनुपर्छ भनेपछि झापामा नै बस्न थाले । झापा बस्दाबस्दै उनले नयाँ ठाउँमा नै घर बनाएर बस्न थालेकाक छन् । उनको पहाड घर पनि त्यतिकै छ । केही समयका लागि सडक बनाउने ठेकेदारले घर भाडामा लिए पनि दीर्घकालीनरूपमा पहाडमा जमिन कमाउने र जमिन खरिद गर्ने मान्छे आउन छोडेको उनले बताए । 

भर्खरै देउमाई दुईका टङ्क अधिकारीसमेत पुरानो ठाउँ छोडेर झापा झरेका छन् । उनले पनि पहाडमा सुविधा नभएकै कारण तराई झर्नुपरेको सुनाए । उनी एउटा गाउँमा नमूना व्यक्तिमात्र हो । बीचमा सोही गाउँबाट अन्य धेरैले गाउँ छोडेर सहर रोजेका छन् । उपचार गराउन सहर नै जानुपरेकाले पनि मानिसले गाउँ छोड्दै गएका छन् । नानीबाबुलाई विद्यालय पढाउन र उच्च शिक्षाका लागि पनि गाउँ नै छोड्नुपर्ने अवस्था आएको धेरैको भनाइ छ । अन्य धेरै तराई झर्ने सोचमा हुनुहुन्छ । पहाडमा खेती गर्न पनि झन्झट, ढुवानी महँगो, बिक्रीका लागि बजार खोज्नुपर्ने समस्यालगायतका कारण धेरैले गाउँलाई माया मार्न थालेका छन् । 

समस्या पर्दा पहाडमा समाधानका लागि धेरै असहज हुने भएकाले पनि तराई झर्नुपर्ने बाध्यता रहेको बताइएको छ । बूढेसकालमा न्यानोका लागि तराई झर्नेदेखि अवसरको खोजीमा समेत तराई रोज्नेको लर्को नै लागेको छ । पहाडी क्षेत्रमा रोजगारीको समस्या, पाए पनि बर्खामा रोजगारस्थल धाउन समस्या भएका कारण पनि धेरैले तराई रोज्न थालेका छन् । पहाडी क्षेत्रमा जागिर खाए पनि धेरै आफन्त तराईमा नै हुँदा पनि पहाड बस्न मन नलाग्ने गरेको उनीहरूको भनाइ छ । 

अवसर पहाडमा नभएपछि प्रायः युवा वैदेशिक रोजगारीमा जाने गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएसँगै सुगम ठाउँमा जमिन किनेर उतै बसाइँ जान थालेपछि गाउँ रित्तिन थालेको छ । यसका लागि पहाडी क्षेत्रका नगरपालिका तथा गाउँपालिकाले विशेष कार्यक्रम ल्याए पनि प्रभावकारी बन्न सकेको छैन । देउमाई नगरपालिकाले बाहिरबाट बसाइँ सरेर आउनेलाई जस्तापाता सहयोग गर्ने नीति ल्याएको नगरपालिकाका सूचना अधिकारी गोविन्द बाँस्तोलाले बताए । केही वर्ष अगाडि नै यो कार्यक्रम ल्याए पनि पछिल्लो समय थप कार्यक्रम ल्याउन सकिएको छैन ।  

सरकारले एकीकृत बस्ती कार्यक्रम ल्याउन आवश्यक रहेको जानकार बताउँछन् । बस्तीलाई एक ठाउँमा बसाएर खेती गर्ने जमिन र अन्य प्रयोजनको जमिन पहिचान गरेर त्यस्ता कार्यक्रम ल्याउन स्थानीय सरकार लाग्नुपर्ने धेरैको माग छ । पहाडी क्षेत्रमा भएका बासिन्दालाई पहाडमा नै रोक्नका लागि खास कार्यक्रम नभएको, पहाडमा विकास क्रम ढिलो भएका कारण पनि यस्तो समस्या आएको बताइएको छ । सुविधा सम्पन्न अस्पताल र कलेजको व्यवस्था गर्न सकिएमात्र पनि धेरै बसाइँसराइ रोकिन सकिने स्थानीयवासीको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप