आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

बिहीबार, १४ पुस २०७९, ११ : ४२
बिहीबार, १४ पुस २०७९

नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेता चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ ।  काँग्रेसले आज मतदाता नामावली प्रकाशन, दाबी विरोध, उम्मेदवारको लागि दरखास्त आव्हानलगायतका कार्यक्रम सार्वजनिक गरिसकेको छ । सोही कार्यक्रम अनुसार आज दिउँसो १२:३० बजेदेखि १:३० बजेसम्मका लागि उम्मेदवारको दरखास्त आव्हान हुनेछ । 

दिउँसो २ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने, उम्मेदवारका विषयमा दाबी विरोध, जाँचबुझ, उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यक्रम पनि आजै हुनेछ । अपरान्ह ४:०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । 

उम्मेद्वारले २५ हजार रुपैयाँ शुल्क बुझाउनु पर्ने काँग्रेसले व्यवस्था गरेको छ । यस्तै भोलि बिहान ९ बजेदेखि १० बजेसम्मका लागि मतदानको समय दिइएको छ । 

चार जना प्रतिस्पर्धी
कांग्रेस संस्थापन पक्षबाट तीन जना उद्धव थापा, अमृत अर्याल र भीम पराजुली अनि संस्थापन इतर पक्षबाट केदार कार्की एक्लैको दाबी रहेको छ । अहिले प्रदेशसभाको प्रमुख प्रतिपक्षी दलको नेता हुन पाइने र भविष्यमा जुनसुकै बेला सरकारको नेतृत्वको अवसर आउने सम्भावना भएको भन्दै काँग्रेसभित्र दलको नेता बन्न तीव्र प्रतिस्पर्धा भएको हो । 

सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहबाटै तीन–तीन जना दाबेदार अघि सरेपछि संस्थापन पक्ष तनावमा छ । नेता सिटौला निकट रहेका प्रदेश १ का पार्टी सभापति थापा र केन्द्रीय सदस्यसमेत रहेका विराटनगरका पूर्व प्रमुख पराजुली अनि देउवा निकट केन्द्रीय सदस्य अमृत अर्याल तीनै जनाले दलको नेता दाबी गरिरहेका छन् । तीनै जना नेताले बिहीबार मनोनयन दर्ता गर्ने बताएका छन् ।

यी तीनै जनाबीच सहमति जुटाउन छलफल चलिरहेको छ । हालसम्म निष्कर्षमा पुगेको छैन । संस्थापन पक्षबाट तीन जना प्रतिष्पर्धाका लागि तयार रहँदा इतर पक्षबाट शेखर कोइराला निकट केदार कार्की आफू पहिलो चरणबाटै निर्वाचित हुने आत्मविश्वासमा छन् । प्रदेश १ मा संस्थापन भित्र पनि देउवा र सिटौला समूहको छुट्टाछुट्टै दाबी छ । 

९३ सदस्सीय प्रदेशसभाको दोस्रो ठूलो दल कांग्रेससँग जम्मा २९ सांसद छन्। कांग्रेसको विधान अनुसार दलको नेता छानिन ५१ प्रतिशत मत ल्याउनैपर्छ । त्यसका लागि १५ मत आवश्यक पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप