शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘थेसिसका लागि सरलाई भेट्न जाँदा राजनीतिमा मोडिएँ’

कान्छी सांसद निशा डाँगीका रोचक कुरा
बिहीबार, १४ पुस २०७९, २० : ४८
बिहीबार, १४ पुस २०७९

सानो छँदा उनको गाउँमा बिजुली  थिएन । ब्याट्रीको माध्यमबाट ब्ल्याक एण्ड ह्वाइट टिभी हेर्ने गर्थिन् । टिभीमा अरुले समाचार पढेको देख्दा, कुनै दिन म पनि यसरी नै टिभीमा समाचार पढ्छु भन्ने बाल्यकालको उनको सपना थियो ।

झापाको भद्रपुर नगरपालिका१ की उनी टिभीमा समाचार पढ्ने लक्ष्य लिएर अघि बढ्दै गर्दा सफल पनि भइन् । टिभी एंकरको सफलतासँगै अब उनी टिभीमा पढिने समाचारको विषय बन्ने ठाउँमा आइपुगेकी छिन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद रहेकी उनी अर्थात् निशा डाँगी प्रतिनिधि सभाको कान्छी सांसद हुन् ।

काठमाडौंको नारायणटार जोरपाटीस्थित चामुण्डा माध्यमिक विद्यालयबाट एसएलसी गरेकी उनले पत्रकारिता तथा आमसञ्चारमा एमएसम्मको अध्ययन पूरा गरेकी छिन् ।

स्कुलको पढाइ सकेपछि घरबाट अरु विषय पढ्न आग्रह गरेपनि टिभीमा समाचार पढ्ने लालसाले पत्रकारिता अध्ययनमै लागिन् । प्लस टु मा पत्रकारिता अध्ययन गर्ने बेलादेखि नै उनले समाचार पढ्ने अभ्यास थालेकी थिइन् ।

म एकदमै पढन्ते विद्यार्थी थिएँ । झापामा नर्सरीदेखि ६ कक्षासम्म पढ्दा म एकदिन पनि कक्षाबाट गयल नभएको हाजिरीकपी हेडसरले राख्नुभएको छ, अध्ययनबारे उनले भनिन्– ‘मैले मास्टर्स पढ्ने बेलासम्म पनि कक्षामा गयल नभइ अध्ययन गरेँ । मैले होमवर्क नगरेको कहिल्यै भएन । सधैँ पढ्न खोज्ने विद्यार्थीको रुपमा थिएँ ।

पत्रकारको रुपमा उनको पहिलो भिडियो रिपोर्टिङ त्रिवि शिक्षण अस्पतालमा आइसियू वेडको अभावसम्बन्धी विषय थियो । सूचना लिन ५ वटा तयारी प्रश्न तयार पारेर अफिसमा देखाएर अस्पताल पुगेकी थिइन् । हेल्थ टिभीबाट काम सुरु गरेकी उनले झण्डै ५ वर्ष स्वास्थ्यसम्बन्धी विषयमा मात्र समाचार लेखिन् । पछि ९ महिनाजति डाक्साव हेल्थ म्यागजिनमा काम गरिन् ।

उनलाई अहिले यसरी राजनीतिमा आइपुग्दा अलिअलि सपना जस्तो पनि लागेको छ । तर बीए तहमा अध्ययन गर्ने बेलादेखि नै राजनीतिमा रुची लागेको जनाउँदै उनले भनिन्–‘कुनैबेला म राजनीतिमा लाग्छु होला भन्ने सोचेकी थिएँ । तर, यति छिट्टै सांसद हुन्छु भन्ने चाँइ सोचेको थिइनँ ।

जीवनमा उनले कहिल्यै पनि कुनै राजनीतिक दलतिर झुकाव राखिनन्, न त क्याम्पस पढ्नेबेला कुनै विद्यार्थी संगठनमा नै आबद्ध भइन् । उनले भनिन्–‘कुनैपनि राजनीतिक पार्टीको झण्डा नबोक्ने मानसिकतामा थिएँ कुनैबेला म । पत्रकार हुँदापनि कुनै पार्टीको झण्डा बोकेको ट्याग लाग्ला भन्ने कुरामा सचेत थिएँ ।

जव स्थानीय तहको निर्वाचन भयो, त्यो बेला राजनीतिक समाचारहरू पढ्दा त्यो बेला यस्तो पार्टी आइदिए कस्तो हुन्थ्यो होला भन्ने उनलाई लागिरह्यो । राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनु उनको लागि मिलेको संयोग हो कि जस्तोपनि लाग्छ । भन्छिन्, ‘यस्तो पार्टी आइदिए हुन्थ्यो भन्ने सोचिरहेको बेला यो पार्टी आयो । र, म यो पार्टीमा जोडिएँ ।

स्वतन्त्र पार्टी ‘ज्वाइन’को ‘प्लट’

एमए तहको परीक्षाअन्तर्गत उनले थेसिस लेख्ने काम सुरु गरेकी थिइन् । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय सचिव शुभराज शिल्पकार पत्रकारिता विभागमा पढाउँथे ।

सांसद डाँगीले बेलीविस्तार लगाइन्–‘म थेसिसको कामका लागि स्वतन्त्र पार्टीको कार्यालयमा उहाँलाई भेट्न गएकी थिएँ । सो क्रममा पार्टी कार्यालयमा काम गर्न मान्छे खोजिरहेको थाहा पाएँ । हेल्थ म्यागजिनका काम गर्दा पार्टीको महामन्त्री मुकुल सरलाई पनि चिनेकी थिएँ । त्यो हिसाबले पनि पार्टी के कस्तो हो भन्ने थाहा थियो । अफिसमा जाँदा सरकै टेबलमा पार्टीको विधानहरु थियो, बोकेर आएँ, पढेँ ।

पार्टीको विधान उनलाई मनपर्यो । मिडियामा आइरहेको थियो, फेसबुकमा आइरहेको थियो, यस्तो पार्टी हो भनेर त्यसपछि अरू विचार नगरी काम ज्वाइन गर्छु भनेर कार्यालय सचिव शिल्पकार सरलाई खबर गरिन् । यसरी पार्टीको कामसँगै थेसिसको कामपनि सँगसँगै अगाडि बढ्यो ।

उनी समानुपातिक सांसदमा सिफारिस हुनुको कुरा पनि पनि रोचक छ । सांसद डाँगीले भनिन्–‘पार्टीले समानुपातिक सांसदका लागि आवेदन फाराम खोलेको थियो । म आफै कार्यालयमा त्यही फारम संकलनको काममा लागेकी थिएँ । त्यसका लागि तोकिएको योग्यता हेरेपछि म पनि किन फारम नभर्ने लागेर फारम भरेँ ।

यसरी उनी पार्टीमा जोडिइन् । अहिले पार्टीमा कुनै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने पदमा भने उनी छैनन् । आफू पार्टीको साधारण सदस्य मात्र रहेको उनले बताइन् ।

अवश्य पनि मन्त्रीको दाबेदार हुँ 

नयाँ सरकार विस्तारको क्रममा छ । कान्छी सांसद डाँगीले आफू पनि सरकारमा गएर काम गर्न सक्षम रहेको दावी गरेकी छिन् । उनले भनिन्–‘सांसद भएपछि मन्त्रीको लागि दावी गर्न पाइन्छ । योग्य मान्छेले मन्त्रीका लागि दावी गर्ने हो, मैले पनि किन नगर्ने ? तर पार्टीमा हालसम्म यसबारे कुनै छलफल नभएको उनले बताइन् ।

पाका पुस्ताले सांसद भन्दा नपत्याउने

कतिपयले त उनलाई आफू सांसद हो भन्दापनि पत्याउँदैनन् । सांसदको रुपमा पाकाहरुले अझैपनि परिपक्व खालको अनुहार खोज्ने गरेको उनको अनुभव छ । नयाँ पुस्ताले भने युवा सांसद भएकोमा खुसी भएको उनको जिकिर छ ।

सांसदको रुपमा यात्रा अघि बढेपनि अहिले उनले अध्ययनको रफ्तारलाई अघि बढाउने विचार गरेकी छिन् । भन्छिन्–‘अहिले म अध्ययनकै क्रममा छु । नेपाल र नेपाली जनतालाई बुझ्न कति धेरै बाँकी छ । त्यसैले, अबको ६ महिना पुरै अध्ययनमा लाग्ने सोचेको छु ।

संसदमा कुनै एजेण्डा लिएर जानेभन्दा पनि जनताले के के खोजेका छन्, त्यो कुरालाई प्राथमिकता दिने, समग्र नेपालीको साझा एजेण्डा उठाउने उनको सोचाइ छ । 

उनले भनिन्–‘चुनावको बेलामा म समानुपातिक तर्फको उम्मेदवार भएको हुनाले झापाका ५ वटै निर्वाचन क्षेत्रमा हिँडे, झापाका कुना कुनामा जाँदा जनताले के के चाहेका छन्, के के सोचेका छन् भन्ने कुरा बुझेँ । धेरैले खोजेको भनेको निःशुल्क शिक्षा, स्वास्थ्य, रोजगारी, बाटोघाटो त्यति मात्रै हो । तर हामी कहाँ अड्किरहेका छौँ भनेर अरु पार्टीले ल्याएका एजेण्डाहरु पनि मैले हेरिरहेकी छु ।

अभिभावकलाई थाहै थिएन

उनको परिवार, आफन्तबाट राजनीतिमा कोही छैनन् । त्यसैले, निशा राजनीतिमा लागेर सांसद बन्नेछिन् भन्ने उनका बाबुआमाले सोचेका पनि थिएनन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा केही महिना स्वयंसेवक भएर काम गर्छु भन्दापनि उनीहरुले अनौठो मानेका थिए ।

उनले भनिन्–‘दुई तीन महिना पार्टीमा भोलिन्टियर भएर काम गर्छु भन्दा घरमा ए हो र, भन्ने भएको थियो । पार्टीमा लागेपछि धेरै काम हुन्थ्यो । बिहान ८ बजेदेखि राति १ बजेसम्म पनि काम गर्थें । त्यो देख्दा अभिाभावकहरुलाई अलिअलि टेन्सन हुन्थ्यो । तर अहिले त खुसी नै हुुनुहुन्छ ।

आफू कान्छी सांसद भएपछि झापाका स्थानीय खुसी भएको उनले सुनाइन् । जनप्रतिनिधिको रुपमा आफू कसरी अरु भन्दा फरक ढंगले अघि बढ्ने भन्ने सोचाइमा सांसद डाँगी रहेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप