शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशमा बन्ला जसपा र जनमतको ‘केमेस्ट्री’ ?

शुक्रबार, १५ पुस २०७९, १७ : ३६
शुक्रबार, १५ पुस २०७९

चुनावपछि केन्द्रमा राजनीतिक गठबन्धन परिवर्तन भएपछि मधेस प्रदेशमा पनि त्यसको प्रभाव परेको छ । मधेसमा अब कसको नेतृत्वमा सरकार बन्ला भन्नेबारे चर्चा सुरु भएको छ । यसअघिको सत्ता गठबन्धनमा सीके राउत नेतृत्वको जनमत पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी हावी थिए । यी दुवै दलले मधेस प्रदेश सरकारको नेतृत्वमा दाबी गर्दै आएका थिए ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले तत्कालीन गठबन्धनका नेताहरूसँग कुरा गर्दा मधेस प्रदेशमा आफ्नो दलले नेतृत्व पाउनुपर्ने दाबी गरेका थिए । केन्द्रमा सरकारलाई समर्थन गरेपछि त्यसको बदलामा मधेस प्रदेशको सरकार पाउनुपर्ने दबाब जनमत पार्टीको थियो ।

त्यस्तै, लोसपाले पनि सत्ता गठबन्धनको एक हिस्सा भएका कारण भागबन्डामा मधेस प्रदेश आफूहरूले पाउनुपर्ने प्रस्ताव राखेको थियो । जब पाँच दलीय गठबन्धन भत्कियो अनि त्योसँगै सबैको प्रस्ताव र योजना पनि भत्कियो । अहिलेको सत्ता गठबन्धनमा मधेस प्रदेशको नेतृत्व लिनेमा जसपा नेपाल हाबी भएको छ ।

भागबन्डामा मधेश प्रदेश आफूले पाउनुपर्ने दाबी जसपाका अध्यक्ष उपेन्द्र यादवले एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली र माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डसमक्ष राखिसकेका छन् । जसपाले सोही अनुसार प्रदेशमा पनि तयारी सुरु गरिसकेको छ । मधेस प्रदेशको सरकार चलाउने गरी संसदीय दलको नेता चयन गर्नेमा जसपाले गृहकार्य सुरु गरेको छ ।

चुनावमा जनमत र जसपाको केमेस्ट्री मिलेको थिएन । जनमत पार्टीका अध्यक्ष सीके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई नै सप्तरी–२ मा पराजित गरेका थिए । अन्य ठाउँमा पनि जसपा र जनमत बीचमै प्रतिस्पर्धा देखिएको थियो । अहिले दुवै दल एउटै गठबन्धनमा पुगेका छन् । त्यति मात्र होइन, संघदेखि प्रदेशसम्म एउटै सरकारमा सामेल पनि भएका छन् । मधेस प्रदेशमा सरकार बनाउँदा दुवैलाई एक अर्काको सहयोग पनि चाहिएको छ ।

जनमत पार्टीले पनि मधेस प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने अडान राखेको छ । उसले पनि सात दलीय गठबन्धनमा आफ्नो प्रस्ताव राखिसकेको छ । सो पार्टीमा महासचिव एवं मधेस प्रदेशका प्रदेशसभा सदस्य चन्दन सिंहले मधेस प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले गर्ने आफूहरूको अडान कायमै रहेको बताए ।

उनले मधेस प्रदेश सरकारको नेतृत्व जनमतले गर्न पाउनुपर्छ भनि गठबन्धनमा पनि प्रस्ताव गरिसकेको बताए । यद्यपि यी विषयमा छलफल हुन बाँकी छ । गठबन्धनको निर्णयहरू कसरी हुन्छ, कसरी अगाडि बढ्छ भन्ने हेरेर परिस्थिति अनुसार अगाडि बढ्ने उनले बताए ।

जसपा वा जनमत जसको नेतृत्वमा त्यहाँ सरकार बने पनि एकले अर्कालाई सघाउनुपर्ने हुन्छ । दुवै दल सात दलीय गठबन्धनमा छन् । एउटै गठबन्धनमा रहेका कारणले एक अर्कालाई सहयोग गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।

जसपाका प्रवक्ता एवं प्रदेशसभा सदस्य मनिष सुमनले भने, ‘दुवै दल एउटै गठबन्धनमा भएको कारणले एक अर्कालाई सघाउनु नै पर्छ ।’ मधेस प्रदेश सरकारको नेतृत्व जनमत वा जसपा वा अरु कुनै दलले गर्ने विषयमा कहीँ कतै औपचारिक निर्णय भएको छैन । दलका नेताहरूको आ आफ्नो अनौपचारिक दाबी गरिरहेका छन् । तर त्यसबारे औपचारिक छलफल कतै नभएको उनले बताए ।

मधेस प्रदेश सरकारको नेतृत्व जसपाले गर्न पाउनुपर्ने दाबी जायज रहेको बताउँदै उनले भने, ‘सात दलीय गठबन्धनमा भागबन्डा भयो भने मधेस प्रदेश जसपाको भागमा पर्नुपर्ने हो र हाम्रो अपेक्षा पनि त्यही छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप