आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकीका सांसदले कति पाउँछन् सेवा सुविधा ?

शुक्रबार, १५ पुस २०७९, २१ : ३२
शुक्रबार, १५ पुस २०७९

गण्डकीका प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथ ग्रहण गरेकै दिनदेखि प्रदेशसभाबाट सांसदहरुले सेवा सुविधा पाउने व्यवस्था छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सभामुख, उपसभामुखको निर्वाचन हुन बाँकी छ । प्रदेशसभामा पदाधिकारी र सांसदहरुको सेवासुविधा फरकफरक हुन्छ । शपथ ग्रहणसँगै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पहिलो अधिवेशन आह्वान गरे पनि नयाँ सरकार गठन गर्न आह्वान गरेका छैनन् । गुरुङले पुस १८ गते पहिलो अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा सचिवालयका अनुसार पुस १८ गते पहिलो अधिवेशन बस्ने छ ।

संसदले शपथ गरेकै दिनदेखि सहायक स्वकीय सचिव पाँचौं सरह एक जना राख्न पाउँछन् । आर्थिक वर्ष २०७८÷७९ को बजेटमा सहायक पाँचौंको तलब ३६ हजार २४२ रुपैयाँ तोकिएको छ । संसदका पदाधिकारीले थप सेवा सुविधा पाउँछन् । स्वयं सांसदको मासिक पारिश्रमिक ५४ हजार २ सय रुपैयाँ हुन्छ । सांसदले पारिश्रमिक बाहेक बैठक भत्ता पनि पाउँछन् । प्रदेश सचिवालयले राखेको बैठकमा प्रति बैठक १ हजार पाउने कानुनी व्यवस्था छ । 

प्रदेशसभा सचिव हरिराज पोखरेलका अनुसार प्रदेश सांसदले गण्डकी प्रदेशसभाले हालसम्म पारित गरिसकेका ऐन नियम, नेपालको सविधान, प्रदेश सभा नियमावली, प्रदेश सभा स्मारिका, गण्डकी प्रदेश सभा सचिवालयको नाम अंकित डायरी, नेपालको राष्ट्रिय झन्डा अंकित र गण्डकी प्रदेशसभा लेखिएको झोला १÷१ थान पाइसकेका छन् ।

यसबाहेक सांसदले सञ्चार सुविधा बापत टेलिफोन, इन्टरनेट र पत्रपत्रिका बापत मासिक १५ सय पाउनेछन् । प्रदेशसभा सचिवालयले पदाधिकारी र सदस्यलाई प्रदेश सरकारको तर्फबाट सरकारी आवासको बन्दोबस्त गरिनेछ । विपक्षी दलको नेतालाई घर भाडा बापत मासिक २० हजार दिइने छ । यद्यपि प्रदेश सांसदले प्रतिमहिना १५ हजार पाउनेछन् ।  

सांसदले आफ्नो कार्यकाल पाँच वर्षको अवधिमा एक पटकमात्र फर्निचर खर्च बापतको रकम पाउँछन् । उनीहरुले आफ्नो कार्यकालमा फर्निचरबापत एकमुष्ट ५० हजार पाउने संसद सचिवालयले जनाएको हो ।

सांसदले आफूले शपथ ग्रहण गरेको दिनदेखि नै निजी सचिवालय बन्दोवस्त गर्न सक्छन् । यसका लागि उनीहरुले मासिक १२ सय रुपैयाँ पाउने व्यवस्था छ । उनीहरुले १ महिनामा खर्च गर्ने बिजुली धारा बापत नेपाल सरकारलाई बुझाउन प्रदेश सदस्य भएबाफत १५ सय पाउने व्यवस्था छ ।  सांसदले भ्रमण  भत्ता बापत पनि रकम पाउने व्यवस्था छ ।

उनीहरुले नेपाल भित्र भए २ हजार र विदेश भ्रमण गर्दा दैनिक भ्रमण गर्दाको दिनको अमेरिकन डलर रेट अनुसार १५० पाउने व्यवस्था छ । उनीहरु यात्रामा हुँदा बिमा बापत प्रति भ्रमण १० लाख पाउने व्यवस्था छ । सांसदहरुले यातायात सुविधा बैठक बसेको प्रतिदिन ७ सय ५० पाउने व्यवस्था छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप