शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्नुपर्छ: मन्त्री मैनाली

बुधबार, ०९ मङ्सिर २०७२, ११ : ५३
बुधबार, ०९ मङ्सिर २०७२
काठमाडौं–उपप्रधानमन्त्री तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनालीले महिला हिंसा न्यूनीकरणका लागि संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्नतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै आज मन्त्री मैनालीले महिला हिंसालाई पनि सामाजिक हिंसाकै रुपमा लिएर सामाजिक परिपाटी विरोधी कार्यक्रमलाई पनि सँगै लैजानुपर्ने बताए । राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष मनु हुमागाईँले महिला हिंसाविरुद्ध आयोगले विभिन्न खालका सचेतना कार्यक्रमलाई अगाडि बढाइरहेको जानकारी दिए । गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष शेष घलेले महिला हिंसाविरुद्ध एनआरएनए सक्रिय रुपमा लागिरहेको बताउँदै हिंसा न्यूनीकरणको थालनी आफ्नै घरबाट गर्नुपर्नेमा जोड दिए । अभियानको थालनीका क्रममा आज भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी भद्रकाली, सहिदद्वार, न्युरोड हुँदै वसन्तपुर डबलीमा पुगी कोणसभामा परिणत भएको थियो । सो अवसरमा हिंसाविरुद्ध महिला आफैँ पनि सङ्गठित हुनुपर्ने सन्देशमूलक नाटक प्रस्तुत गरिएको थियो । सोह्र दिनसम्म विभिन्न खालका जनचेतनात्मक कार्यक्रम गरी सो अभियान गरिने बताइएको छ । यसमा महिला अधिकारका क्षेत्रमा कार्यरत करिब ४० सङ्घसंस्थाले सहभागिता जनाइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप