बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

जलविद्युत विकासको विकल्प छैन: ऊर्जाविद्

बुधबार, १६ मङ्सिर २०७२, १३ : ३०
बुधबार, १६ मङ्सिर २०७२
काठमाडौँ– देशमा रहेको पर्याप्त जलविद्युत्को उत्पादन नगरी आयातित इन्धनमा निर्भर रहँदा ऊर्जा सङ्कट झेल्नुपरेको यहाँ आयोजित गोष्ठीमा सहभागी विज्ञहरुले जोड दिएका छन् । राजनीतिक पार्टीका विद्यार्थी सङ्गठनका नेताहरुलाई वर्तमान ऊर्जा सङ्कटका बारेमा प्रशिक्षत गराउने उद्देश्यले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालको सहयोगमा युथ एलायन्स फर इन्भायरोमेन्टले आयोजना गरेको सो गोष्ठीमा जलविद्युत्को विकास नभएसम्म देश विकास हुन नसक्ने भएकाले यसतर्फ राजनीतिक नेतृत्वलाई अग्रसर गराउन युवा नेताहरु लाग्नुपर्ने विज्ञहरुको धारणा रहेको थियो । इन्जिनियरिङ अध्ययन संस्थानका डा अमृतमान नकर्मीले नेपालको दिगो विकासका लागि स्वच्छ ऊर्जामा आम जनताको पहुँच विस्तार गर्न देशमा उपलब्ध जलविद्युत्कोजस्ता नवीकरणीय ऊर्जा प्रविधिको विकासको अर्को विकल्प नरहेको स्ष्ट गरे । आयातीति इन्धनको परिनिर्भरताले गर्दा नै अहिले मुलुकले ऊर्जा सङ्कट झेल्नुपरेको हो भन्नुहुँदै उनले खनिज इन्धनको बचतबाट वर्षेनि रु ५० अर्ब रकम जलविद्युत्मा लगानी गर्न सकिएमा चार वर्षभित्रै ऊर्जामा बन्न सकिने तर्क गरे । एलपी ग्यास, डिजेलको मूल्य वृद्धि हुँदा आन्दोलन गर्ने विद्यार्थी नेताहरुले अब आयातित इन्धनको निर्भरता कम गर्न जलविद्युत्को विकास गरी ऊर्जामा आत्मर्भिर गराउन सरकारलाई बाध्य तुल्याउनुपर्नेतर्फ लाग्नुपर्ने ऊर्जाविद् नकर्मीको सुझाव थियो । कोषका निर्देशक सन्तोषमणि नेपालले नेपालको संविधानमा व्यवस्था गरिएका प्राकृतिक स्रोत साधनको उपयोग, अधिकार र व्यवस्थापनका विषयमा आम नागरिकलाई सुसूचित गराउनुपर्नेमा जोड दिए । सो अवसरमा युथ एलायन्स फर इन्भायरोमेन्टका अध्यक्ष सनोत अधिकारीले युवा नेताहरुलाई राजनीतिक वादभन्दा मुलुकको स्रोत साधनको उपयोग, आर्थिक विकास र जनजीविकाका सबालमा प्रशिक्षित गराउन यसखालका कार्यक्रमहरु सञ्चालन गरिने बताए । गोष्ठीमा विभिन्न विद्यार्थी नेताहरुले विगतमा राजनेताहरुले मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ ध्यान नदिंदा अहिले नेपाली जनताले ऊर्जा सङ्कटको सामना गर्नुपरेकाले आगामी दिनमा दलीय राजनीतिभन्दा माथि उठेर स्वाधीनता, आत्मनिर्भर अर्थतन्त्रको विकासमा हिँडाउन पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप