बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : महराले छाडे सक्रिय राजनीति, अख्तियारले बयानमा बोलाएपछि आरजुलाई आपत

बिहीबार, ०४ असार २०८३, २२ : ००
बिहीबार, ०४ असार २०८३

काठमाडौँ । आज मिति २०८३ साल असार महिनाको ४ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर आएका छौँ ।

१. महरा राजनीतिबाट बिदा

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएका छन् ।  बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन् । रातोपाटीसँग कुरा गर्दै महराले स्वास्थ्य अवस्थाका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गरेको बताए ।

 

२. विनियोजन विधेयक पारित

बजेटको सबैभन्दा महत्त्वपूर्ण अङ्गको रूपमा रहेको आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।

बिहीबार १३ वटा निकायको विनियोजनमाथि छलफल सकिएसँगै उक्त प्रस्ताव बहुमतले पारित भएको हो ।

 

३. संसद बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र पदाधिकारीहरूलाई नियन्त्रणमा लिएर दबाब दिएको भन्दै आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समयमा कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले पत्रकार सीताराम बरालको ‘फेसबुक लाइभ’ मार्फत सार्वजनिक भएको विषयलाई उद्धृत गर्दै यस्तो गम्भीर आरोप लगाएका हुन् ।

४. रास्वपा बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको महाधिवेशनका क्रममा निर्वाचन आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिएको छ।

पार्टी कार्यालय बनस्थलीमा बिहीबार बसेको रास्वपा सचिवालय बैठकले महाधिवेशन अगावै विभिन्न पदमा दाबी गर्ने र आवश्यकता भन्दा बढी प्रचारप्रसार देखिएकाले आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय गरेको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।

५. औषधिको मूल्य

औषधिको मूल्य समायोजनका लागि औषधि परामर्श परिषद्को बैठक आगामी बुधबारभित्र बस्ने भएको छ ।

त्यसका लागि औषधिहरूको नियमन र अनुगमन गर्ने निकाय औषधि व्यवस्था विभागले समन्वय गरिरहेको छ । तर बैठक ठ्याक्कै कुन मितिमा बस्ने भन्ने अझै ठोस निर्णय भइनसकेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ ।

६. राप्रपा बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक शुक्रबारदेखि काठमाडौँमा सुरु हुँदैछ। धुम्बाराहीस्थित सूर्य क्याटरिङमा बिहान साढे ११ बजेदेखि बस्ने तय भएको बैठक पार्टी महामन्त्री धवलशमशेर राणाले राप्रपा छाडेपछि बस्न लागेकाले अर्थपूर्ण रूपमा हेरिएको छ ।

७. फेरिँदै पाठ्यक्रम

सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जन गर्ने भएको छ । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूपको परिमार्जनका लागि कार्यदल गठन गरी कार्य अगाडि बढाइसकेको जानकारी दिए ।

गत वैशाख २२ गते मन्त्रीस्तरिय निर्णयबाट प्रा.डा.बालकृष्ण लुइँटेलको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । पाठ्यक्रम विकास केन्द्रका अनुसार त्यसअघि राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को ९८औँ बैठकले कार्यदल अद्यावधिक गरी राष्ट्रिय पाठ्यक्रम प्रारूपमा पुनरावलोकन गर्न सिफारिस गरेको थियो ।

८. आरजुलाई आपत

राहदानी छपाइमा भएको अनियमितताबारे बयानमा आउन म्याद टाँस भएसँगै कांग्रेस नेतृ आरजु राणा देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा इमेल गरेकी छन् ।

 पूर्व परराष्ट्रमन्त्री समेत रहेकी देउवाले अख्तियारको ठेगानामा इमेल गर्दै भनेकी छन्, ‘म विदेशमा छु, ३ दिनभित्र आउन सक्दिनँ ।’

आरजुले आउन नसक्ने भन्दै इमेल गरेको अख्तियारका एकजना उच्च अधिकृतले पुष्टि गरे । उनले इमेलमा आफू कुन मुलुकमा रहेको भन्ने विवरण भने खुलाएकी छैनन् ।

९. हर्कको लाइसेन्स

प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको सवारी चालक अनुमति पत्र रद्द भैसकेको भेटिएको छ । यातायात व्यवस्था कार्यालय इटहरीको अभिलेख चेकजाँच गर्दा सम्पाङले २०७१ पुस ६ भन्दा पछि आफ्नो लाइसेन्स नवीकरण नगरेको भेटिएको हो ।

त्यसबेला उनले आफ्नो श्रेणी (ए) लाइसेन्स जरिवाना सहित नवीकरण गरेका थिए । त्यसपछि नवीकरण गर्नुपर्ने अवधिभित्र उनले लाइसेन्स नवीकरण नगरेको भेटिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । त्यसबारे प्रहरी प्रधान कार्यालयको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले छानबिन गरिरहेको छ ।

१०. काठमाडौँको बजेट

काठमाडौँ महानगरपालिकाकी  कार्यावाहक प्रमुख सुनिता डंगोलले नगरसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पेस गरेकी छिन् ।  बिहीबारको नगरसभामा उनले २५ अर्ब ८८ करोड बजेट प्रस्ताव पेस गरेकी हुन् ।

महानगरपालिकाले आर्थिक विकास क्षेत्रमा कुल बजेटको २.१ प्रतिशत अर्थात् ५४ करोड १८ लाख २० हजार रुपैयाँ प्रस्ताव गरेको छ । सामाजिक विकास क्षेत्रमा ९.६ प्रतिशत अर्थात् २ अर्ब ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप