इङ्ग्ल्यान्डको विश्वकप नकआउट चरण लगभग पक्का !
सारांश
- इङ्ग्ल्यान्डले क्रोएसियामाथि ४-२ को जित हासिल गर्दै विश्वकप नकआउट चरणमा पुग्ने सम्भावना ९९ प्रतिशतभन्दा बढी बनाएको छ ।
- ह्यारी केनले पेनाल्टी र कर्नर बलमा हेडरमार्फत दुई गोल गरे भने जुड बेलिङ्घम र मार्कस रासफोर्डले पनि गोल थपे ।
- इङ्ग्ल्यान्डको जितमा केनको दुई गोल र बेलिङ्घमको प्रदर्शन उत्कृष्ट रहे पनि रक्षात्मक पक्षमा भने सुधार आवश्यक देखिएको छ ।
डलासमा क्रोएसियामाथि अस्तव्यस्त जस्तो लाग्ने तर रोमाञ्चक ४–२ को जित दर्ता गर्दै समूह 'एल'को शीर्ष स्थानमा पुगेपछि इङ्ग्ल्यान्डले विश्वकपको नकआउट चरणमा पुग्ने स्थिति बलियो बनाएको छ ।
इङ्ग्ल्यान्डको यस जितमा पहिलो हाफमै चार गोल भए, जसमा ह्यारी केनले पुनः प्रहार गरिएको पेनाल्टीमार्फत गोल गरे र कर्नरबाट प्राप्त बललाई पेनाल्टी एरिया बाहिरबाट हेड गर्दै गोल थपे । तर क्रोएसियाले प्रत्येक पटक बराबरी गोल फर्कायो । पहिले मार्टिन बातुरिनाले बक्सको किनाराबाट जोर्डन पिकफोर्डलाई छक्याउँदै बल जालीमा पठाए, त्यसपछि स्थानीय एमएलएस क्लब एफसी डलासका स्ट्राइकर पेटार मुसाले उत्कृष्ट टिम मुभ पूरा गर्दै खेललाई हाफटाइम भित्रै बराबरीमा ल्याए ।
दोस्रो हाफ पनि खेल तीव्र गतिमा अघि बढ्यो । र, इङ्ग्ल्यान्डले तब फेरि अग्रता लियो, जब जुड बेलिङ्घम दायाँतर्फ दौडिँदै बल नियन्त्रण गर्दै तल्लो कुनामा प्रहार गरे । त्यसैगरी मार्कस रासफोर्ड बेन्चबाट आएर चौथो गोल गरे । खेलको अन्त्यतिर केनले आफ्नो बायाँ खुट्टाको पिडौंला समाते पनि उनी ठीकठाक देखिए ।
द एथ्लेटिकको प्रक्षेपण मोडेलअनुसार यो जितपछि इङ्ग्ल्यान्डको अन्तिम ३२ मा पुग्ने सम्भावना ९९ प्रतिशतभन्दा बढी भएको छ ।
पहिलो पटक ४८ टोली सहभागी भएको यस विश्वकपमा, १२ समूहबाट शीर्ष दुई टोली तथा आठ उत्कृष्ट तेस्रो स्थानका टोलीहरू नकआउट चरणमा पुग्छन् । यदि इङ्ग्ल्यान्ड समूह विजेता बन्न सक्यो भने उनीहरूले जुलाई १ मा एटलान्टामा समूह ई, एच, आई, जे वा के मध्ये कुनै एक समूहको तेस्रो स्थानमा रहेको टोलीसँग खेल्नेछन् ।
द एथ्लेटिकका ओलिभर के, लियाम थार्मे, टिम स्पियर्स, जेम्स होर्नकासल र रेफ्रीसम्बन्धी विशेषज्ञ ग्राहम स्कटले प्रमुख क्षणहरूको विश्लेषण गरेका छन् ।
के इङ्ग्ल्यान्ड वास्तविक दाबेदार जस्तो देखिन्छ ?
यस विश्वकपको पहिलो हप्तामा प्रमुख दाबेदारहरूको प्रदर्शन मिश्रित रह्यो । अर्जेन्टिना, जर्मनी र अन्ततः फ्रान्सका लागि प्रभावशाली जितहरू आए, तर ब्राजिल (मोरक्को विरुद्ध) र विशेष गरी स्पेन (केप भर्डे विरुद्ध) तथा पोर्चुगल (डीआर कङ्गो विरुद्ध) का निराशाजनक बराबरीहरू पनि देखिए ।

यस सन्दर्भमा इङ्ग्ल्यान्ड समर्थकहरू आफ्नो टोलीको जितबाट खुसी हुनेछन् । अनि, आक्रमणमा राम्रो क्षमताको संकेत पनि देखिएको छ । क्रोएसिया २०१८ विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई हराउने टोली भए पनि देख्नमा यो समूहको सबैभन्दा कठिन खेल यही थियो । घाना र पानामासँगका आगामी खेलहरूले टोलीलाई दबाबबिना लयमा आउन अवसर दिनेछ ।
यो खेल कतार विश्वकपमा चार वर्षअघि इङ्ग्ल्यान्डले इरानलाई ६–२ ले हराएको खेलसँग मिल्दोजुल्दो थियो । यसमा केही पक्ष उत्साहजनक भए भने केहीमा सुधार आवश्यक भएको देखियो । विशेषगरी रक्षात्मक पक्षमा । तर प्रशिक्षक थोमस टुचेलले खेलाडीलाई सहज हुन भने दिने छैनन् ।
बेलिङ्घमले इङ्ग्ल्यान्डका लागि के फरक पारे ?
हाफटाइममा सहायक प्रशिक्षक बारीले पहिलो हाफको आलोचना गरेको केही मिनेटमै बेलिङ्घमले इङ्ग्ल्यान्डलाई अग्रता दिलाए र प्रशिक्षकहरूले खोजेको प्रदर्शन देखाए । उनको स्मार्ट एङ्गल फिनिस देशका लागि सातौँ गोल थियो, जुन इलियट एन्डरसनको लामो पासपछि आएको तीव्र आक्रमणको अन्तिम परिणाम थियो ।
म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड, फ्रान्सका किलियन एम्बाप्पे र अर्जेन्टिनाका लियोनेल मेसीले पछिल्ला खेलहरूमा निर्णायक प्रदर्शन गरिरहेकाले ठुला प्रतियोगितामा ‘ठुला क्षणका खेलाडी’ हुनु अत्यन्त चुनौतिपूर्ण हुन्छ । बेलिङ्घमले रक्षात्मक रूपमा पनि उत्कृष्ट काम गरे ।
अघिल्लो २४ घण्टामा एर्लिङ हालान्ड र लियोनेल मेसीले क्रमशः नर्वे र अर्जेन्टिनाका लागि उत्कृष्ट प्रदर्शन गरिसकेका थिए । त्यसै सन्दर्भमा जुड बेलिङ्घमले पनि इंग्ल्यान्डका लागि बलबाहिरको खेलमा उल्लेखनीय योगदान दिए । दोस्रो हाफको हाइड्रेसन ब्रेक हुनुअघि ६८औँ मिनेटमा टचलाइन नजिक उनले गरेको उत्कृष्ट ट्याकलले इंग्ल्यान्डका समर्थकहरूबाट ठुलो प्रशंसा पायो ।
खेलको अन्त्यतिर मोर्गन रोजर्स मैदान प्रवेश गरिसकेपछि बेलिङ्घम अझ पछाडि सरेर गहन भूमिका निर्वाह गरे । विभिन्न स्थानमा प्रभावकारी रूपमा खेल्न सक्ने उनको यही बहुआयामिक क्षमता इंग्ल्यान्डका लागि ठुलो सामर्थ्यका रूपमा देखियो । ७९औँ मिनेटमा उनलाई डिजेड स्पेन्सले बेलिङ्घमलाई प्रतिस्थापन गरे ।
के यसले बेलिङ्घमलाई इंग्ल्यान्डको स्थायी नम्बर १० को भूमिकामा स्थापित गरिसकेको हो त ? सम्भवतः होइन । त्यो स्थानका लागि मोर्गन रोजर्स पनि बलियो प्रतिस्पर्धी छन् र यदि प्रशिक्षक थोमस टुचेलले फरक शैलीको खेलाडी चाहेका खण्डमा रोजर्सले ढाड गोलपोष्टतर्फ फर्काएर पनि पास ग्रहण गर्ने भूमिकामा अझ प्रभावकारीसँग निभाउन सक्छन् ।
बेलिङ्घम भने खाली स्थानमा प्रवेश गर्दै आक्रमण सिर्जना गर्न असाधारण रूपमा सक्षम छन् । यो उनले आफ्नो गोलमार्फत पनि देखाए । साथै, व्यक्तिगत द्वन्द्व (ड्युअल) मा पनि उनी निकै प्रभावशाली छन् । इङ्ग्ल्यान्डले सन्तुलनलाई प्राथमिकता दिने भएकाले बेलिङ्घम र रोजर्स दुवैलाई सधैं सँगै सुरुदेखि खेलाइने सम्भावना कम छ ।
इङ्ग्ल्यान्डले पेनाल्टीमा दोस्रो मौका किन पायो ?
इङ्ग्ल्यान्डलाई पेनाल्टी दिने निर्णय स्पष्ट थियो, लुका मोड्रिचले नोनि माडुकेलाई फाउल गरेका थिए । तर केनको पहिलो प्रहार रोकिएपछि पुनः प्रहारको आदेश दिनु आवश्यक नियमहरूमा आधारित थियो । यदि पेनाल्टी बचाइएपछि डिफेन्डर अघि बढेर खेलमा संलग्न हुन्छ भने पेनाल्टी पुनः गरिन्छ । यदि आक्रमणकारी समयभन्दा पहिले बक्समा प्रवेश गर्छ भने प्रत्यक्ष फ्री किक दिइन्छ ।
पहिलो प्रहारमा जोस्को ग्वार्दियोल बक्सभित्र नै रहेको देखिएको थियो । साथै गोलकिपर डोमिनिक लिभाकोभिच पनि लाइन छोडेर अघि बढेका थिए, जसले पुनः प्रहार अनिवार्य बनायो । यो निर्णय सही थियो र क्रोएसियालाई महँगो पर्यो ।

केनले आफ्नो पेनाल्टीको शैली किन बदले ?
केनले दुवै पेनाल्टी एउटै दिशामा प्रहार गरे, तर रनअप फरक थियो । पहिलो प्रयासमा उनले ‘स्टटर रनअप’ प्रयोग गरे, जुन उनले २०२३ मा बायर्न म्युनिख गएपछि बनाएका हुन् । दोस्रो प्रयासमा भने उनले परम्परागत छिटो रनअप प्रयोग गर्दै बललाई कुनामा प्रहार गरे ।
‘दोस्रो सधैं सजिलो हुन्छ,’ उनले भनेका थिए । ‘मसँग दुवै शैली छन् ताकि गोलकिपरलाई अनुमान लगाउन गाह्रो होस् ।’
पेनाल्टी विशेषज्ञ गियर जोर्डेटका अनुसार केनले पहिलो प्रहारमा गोलकिपरलाई प्रतिक्रिया गर्न नदिने शैली अपनाएका थिए, तर लिभाकोभिचको उत्कृष्ट चालका कारण उनी भ्रमित भए र प्रहार बचाइयो ।
को हुन् मार्टिन बातुरिना ?
मार्टिन बातुरिना । नाम सम्झिनुहोस् ? कोमोले गत गर्मीमै उनलाई चिनेको थियो, जब उनीहरूले डाइनामो जाग्रेबलाई१८ मिलियन युरो तिरेर यी आक्रमणकारीलाई अनुबन्ध गर्ने सहमति गरेका थिए । बातुरिनाले सुरुमा तुरुन्त प्रभाव पार्न संघर्ष गरे, तर टोलीमा स्थानका लागि प्रतिस्पर्धा अत्यन्त कडा थियो । विशेष गरी निको पाज र जेसुस रोड्रिगेज कोमोमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्, साथै असाने दियाओ फिट हुँदा उत्कृष्ट रहे । २३ वर्षीय खेलाडीले अन्ततः टोलीमा आफ्नो स्थान बनाउनु आफैंमा ठुलो उपलब्धि हो ।
सेस्क फाब्रेगास चार वर्षअघि खेलाडीको रूपमा कोमोमा सामेल भएका थिए, जब क्लब सेरी बीमा थियो । अहिले उनी प्रशिक्षक हुन् र उनले टोलीलाई च्याम्पियन्स लिगसम्म पुर्याएका छन् । ‘उनी धेरै बौद्धिक छन्,’ कोमोका मुख्य प्रशिक्षक सेस्क फाब्रेगासले भने । ‘सबैजना उनको पहिलो टच र बल प्रयोगको कुरा गर्छन् । तर मलाई सबैभन्दा आश्चर्य पार्ने कुरा भनेको उनले कसरी डिफेन्स गर्छन् भन्ने हो ।’
बातुरिनाको युवा जोश धेरै अर्थमा कोमोको ऐतिहासिक रूपमा च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्ने यात्राको प्रतीक थियो । उनले आफ्नो पहिलो सिरी ए सिजनमा ६ गोल गरे, र कोप्पा इटालियामा इन्टर र नापोलीविरुद्ध पनि गोल गरे । आज उनले विश्वकप मञ्चमा पनि क्रोएसियाका लागि पहिलो गोल गर्दै उत्कृष्ट ‘कर्लिङ’ शटमा गोल गरे ।
के इङ्ग्ल्यान्डको कर्नर गोल फुटबलको विगतको शैली थियो ?
आज केनको र इङ्ग्ल्यान्डको दोस्रो गोलमा विश्वकप २०१८ को झल्को धेरै देखिन्थ्यो । डेक्लान राइसको कर्नरबाट आएको उत्कृष्ट क्रसमा स्ट्राइकर केनले गरेको हेडर प्रशिक्षण मैदानमै अभ्यास गरिएको जस्तो देखिन्थ्यो । केन सबैभन्दा पछाडिबाट दौडिएका थिए, जबकि हवाई चुनौती दिने अन्य खेलाडीहरू निको ओ’रेली र जोन स्टोन्स अगाडि थिए । उनीहरूले डिक्वोय र ब्लकरको भूमिका खेले, जसले क्रोएसियाका खेलाडीहरूलाई केनसम्म पुग्नबाट रोके । केनले दुवै खुट्टाबाट जम्प गर्दै बललाई शक्तिशाली रूपमा बायाँ तल्लो कुनामा पठाए, जसमा लिभाकोभिच पुग्न सकेनन् ।
इङ्ग्ल्यान्डले यही आउटस्विङ्गिङ रुटिन न्यूजिल्यान्डविरुद्धको प्रि–विश्वकप वार्मअप खेलमा पनि प्रयोग गरेको थियो, र यो त्यही रणनीति हो जसले उनीहरूलाई २०१८ मा सेमिफाइनलसम्म पुर्याउन सफल भएको थियो । त्यतिबेलम गारेथ साउथगेट प्रशिक्षक थिए ।
त्यतिबेला कियरन ट्रिपियरका आउटस्विङ्ग कर्नरहरू ह्यारी म्याग्वायरले गोल गर्ने मुख्य खतरा बनेका थिए । यो रणनीति पुनः प्रयोग गर्नुको कारण भने रेफ्रीहरूको कडाइ हो, विशेष गरी कर्नरअघि हुने ‘ब्लकिङ’ र सम्पर्कमा कडा निगरानी राखिएको छ । प्रिमियर लिगमा गत सिजन इन्स्विङ्ग कर्नरमा हुने तानातान र द्वन्द्व अत्यधिक भएकाले यसो गरिएको हो ।
क्रोएसियाविरुद्ध यो रणनीति अझ अर्थपूर्ण थियो, किनकि उनीहरू तीन डिफेन्डरको संरचनामा खेल्छन् र टोलीमा उचाइ पनि राम्रो छ । त्यसैले गोलतर्फ घुम्ने बलहरू उनीहरूका लागि लाभदायक हुने सम्भावना थियो, यद्यपि डेक्लान राइसले पछिल्ला दुई सिजनमा गोलकिपरको माथि पर्ने ‘ह्विप्ड’ बलमा राम्रो नियन्त्रण विकास गरेका छन् ।

के यो हालसम्मको प्रतियोगिताको उत्कृष्ट गोल थियो ?
क्रोएसियाले फुटबलको सबैभन्दा ठुलो मञ्चमा खेलेको हेडर र भलीहरूको संयोजन सायद यस विश्वकपको अहिलेसम्मको उत्कृष्ट गोल हुन सक्छ । यो सुरु भयो मारियो पासालिचबाट, जो गोलबाट ४० यार्ड टाढा थिए । उनले माथि हेरे, इभान पेरिसिचको बक्सतर्फको दौड देखे र उत्कृष्ट क्लिप गरिएको पास दिए । पेरिसिचले गोलतर्फ पीठ फर्काएर घुम्ने बुद्धिमत्ता देखाउँदै दायाँतर्फ परफेक्ट हेडर दिए, जसले मुसारतर्फ बाटो बनायो । यी एफसी डलासका खेलाडीले पहिलो स्पर्शमै साइड–फुटेड भली प्रहार गर्दै पिकफोर्डलाई छक्याए । र गोलले पूर्णता पायो । हरेक टच र हरेक चाल अत्यन्त सटीक र सही हुनुपथ्र्यो । र भयो पनि त्यस्तै । उत्कृष्ट गोल भयो !
पूर्व म्यानचेस्टर युनाइटेडका मिडफिल्डर रोय किनले आईटीभीमा भनेः ‘यस प्रतियोगितामा यसभन्दा राम्रो गोल सायद नदेखिएला । चाल, गुणस्तर, फिनिस, संयम... सबै उत्कृष्ट थियो ।’
जोन स्टोन्समाथि लगाइएको जोखिम सफल भयो ?
मार्क गुही दुई वर्षअघि युरोपियन च्याम्पियनसिपमा इङ्ग्ल्यान्डका प्रमुख खेलाडीमध्ये एक थिए । तर विश्वकप नजिकिँदा प्रशिक्षक थोमस टुचेलले केन्द्रीय रक्षामा एजेरी कोन्सा र स्टोन्सको जोडी रोज्ने संकेत देखिएको थियो ।
के यो सफल भयो ? इङ्ग्ल्यान्डले खेल जित्यो, तर यसको डिफेन्स (केवल कोन्सा र स्टोन्स मात्र होइन) विश्वस्त देखिएन । क्रोएसियाले पहिलो हाफका दुई बराबरी गोल सजिलै बनाएको दृश्य चिन्ताजनक थियो । पूर्व म्यानचेस्टर युनाइटेड र डेनमार्कका गोलकिपर पिटर स्माइखेलले हाफटाइममा भने, ‘इङ्ग्ल्यान्डको पछिल्लो पंत्ती कमजोर देखिएको छ ।’
स्टोन्सले पेटार सुचिचमाथि गरेको स्लाइडिङ ट्याकल असफल हुँदा क्रोएसियाले पहिलो बराबरी गोल बनाएको दृश्य अप्रत्याशित थियो, किनकि उनी सामान्यतया यस्ता परिस्थितिमा सहज देखिन्छन् । यसलाई फिटनेसको कमी वा ‘रस्टिनेस’ भन्न सकिए पनि यो समग्र डिफेन्सिभ असफलताको हिस्सा थियो, जुन दोस्रो गोलमा पनि दोहोरियो । दोस्रो गोलमा पनि कोन्सालाई दोष दिन सकिने भए पनि रीस जेम्सले पनि राम्रो कभर गर्न सकेनन् ।
दोस्रो हाफपछि इङ्ग्ल्यान्डले धेरै सुधार गरेको छ र समूह चरण पार गर्न पर्याप्त बलियो देखिन्छ, तर टुचेलले समाधान गर्नुपर्ने केही समस्या अझै बाँकी छन् ।
द एथलेटिकबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण