बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

‘पढ्न–लेख्न मात्र जान्ने, अरु नजान्ने’ विडम्बनालाई चिर्न प्रधानमन्त्रीको आग्रह

बुधबार, १६ मङ्सिर २०७२, १४ : ५९
बुधबार, १६ मङ्सिर २०७२
काठमार्डां– प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको एकचालिसौं दीक्षान्त समारोहका अवसरमा आज दशरथ रङ्शालामा आयोजित कार्यक्रममा विभिन्न अध्ययन संस्थान र सङ्कायका सात हजार ३४२ विद्यार्थीलाई दीक्षित गराए । देशको जेठो र ठूलो विश्वविद्यालयका विद्यार्थीलाई दीक्षित गराउँदै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले गुणस्तरीय शिक्षाको माध्यमबाट सक्षम जनशक्ति तयार पार्ने कार्यमा विश्वविद्यालयलाई सफलता मिलोस् भन्ने कामना पनि गरे । प्रधानमन्त्री ओलीले ‘पढ्न–लेख्न मात्र जान्ने, अरु नजान्ने’ विडम्बनालाई चिर्दै समक्षम र सीपयुक्त जनशक्ति तयार गर्नु आजको त्रिविको चुनौती हो भने । उनले नयाँ संविधानले शिक्षा र रोजगारीलाई मौलिक हकको रुपमा सुनिश्चित गरी शिक्षा र रोजगारीबीचको अन्योन्याश्रित सम्बन्धलाई संविधानमा लिपिबद्ध गरिएको अवगत गराउँदै न्यून आय भएकालाई अध्ययनको मौका दिने त्रिविलाई बहुविश्वविद्यालयको स्थापनापछि पनि आफ्नो उक्त परम्परालाई निरन्तरता दिँदै आएकामा प्रशंसा गरे । आफूसमेत त्रिविको उत्पादन भएको स्मरण गर्दै उनले शिक्षा मानवता र राष्ट्रको सेवामा उपयोगी हुनुपर्ने विचार राखे । प्रधानमन्त्री ओलीले भने, “राज्यले सबैलाई शिक्षा प्राप्तिको आवश्यक वातावरण सिर्जना गरिदिन्छ । आर्थिक हैसियत भएकाहरुको मात्रै उच्च शिक्षामा पहुँच हुने विद्यमान असमान विश्व व्यवस्थामा ती समाजमा आय नभएका अधिकांशलाई विश्वविद्यालय शिक्षाको अवसर प्राप्त छ ।” ‘आफू को हुँ भन्ने नबिर्सौँ र आफ्नो कर्तव्य सम्झौँ’ भन्ने आग्रह गर्दै उनले डिग्री हासिल गरेका विद्यार्थीलाई प्रतिस्पर्धी विश्व समाजमा अब्बल प्रमाणित गर्न पनि अब्हान गरे । नपढेपनि उत्तीर्ण हुनुपर्ने प्रवृत्ति दुःखद् : शिक्षामन्त्री समारोहमा शिक्षामन्त्री तथा सहकुलपति गिरिराजमणि पोखरेलले केही समय यता राजनीतिकरणको चपेटामा शिक्षण संस्था परेको र त्यसबाट त्रिवि पनि अछुतो नरहेको बताए । उनले भने, “अराजकता र अस्तव्यस्तता सिर्जना पनि भएका छन् । त्यसैले शिक्षण संस्थालाई राजनीतिबाट अलि टाढा राखेर चल्नु अनिवार्य भइसकेको छ ।” उनले ‘‘विद्यार्थीले पढे पनि हुने नपढे पनि हुने, शिक्षणले पढाए पनि हुने नपढाए पनि हुने तर परीक्षामा उत्तीर्ण हुनै पर्ने आग्रह देखा पनि पक्कै पनि दुःखद् हो र यसले इमान्दार शिक्षक र प्रतिभावान् विद्यार्थीको अपमान र अवमूल्यन भएको छ यो अस्वीकार्य कुरा हो’’ भने । त्रिविलाई राष्ट्रिय विश्वविद्यालय बनाइने उपकुलपति डा तीर्थराज खनियाँले त्रिविलाई राष्ट्रिय विश्वविद्यालय र कीर्तिपुरलाई केन्द्रीय क्याम्पसको रुप प्रदान गर्न मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति प्राप्त भएको तथा शिक्षा मन्त्रालयको निर्देशनमा सोसम्बन्धी ऐन, नियम र प्रारुप पेस गरिसकेको जानकारी दिए । उनले सुधारको प्रक्रियामा त्रिविका सबै तहका कार्यक्रमलाई क्रमशः सेमेष्टर प्रणालीमा रुपान्तरण गरी उच्चशिक्षाको गुणस्तरलाई अन्तर्राष्ट्रिय प्रणाली र मापदण्ड अनुरुप बनाउँदै लगिने बताए । उच्चशिक्षाको देखिएको भूमण्डलीकरण तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धी वातावरण सिर्जना भएको स्थितिमा गुणस्तर कायम गर्न विश्वविद्यालय अब सहसम्बन्धमा आबद्ध हुन आवश्यक भएकामा जोड दिए । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप