छोरीहरूबाट काजक्रिया : सामाजिक रूपान्तरणमा नयाँ फड्को
बुधबार, १६ मङ्सिर २०७२, १५ : ४०
काठमाडौं– काजक्रिया गर्ने परम्परामा केही नवीनता र सुधारका लागि बहसहरू भइरहेका समयमा झापाको शान्तिनगरमा एउटा नयाँ शैलीको काजक्रियाको थालनी भएको छ ।
इलाम जिल्लाको इरौटारमा २०१७ असार ५ गते जन्मिएर यही मङ्सिर ६ गते क्यान्सर रोगकाकारण ५५ वर्षको उमेरमा देहावसान भएका दीपक पौडेलका परिवारजनले छोरीहरुबाट यस्तो नयाँ शैलीको काजक्रियाको थालनी गरेको हो । मृतक पौडेलका एक श्रीमती र दुई छोरीहरू छन् ।
मृतक पौडेलका आफन्त साहित्यकार देवी नेपालका अनुसार गत असारमा गिजामा क्यान्सर देखिएपछि भक्तपुरस्थित क्यान्सर अस्पतालमा शल्यक्रिया गरे पनि उपचार सफल हुननसकी मङ्सिर ६ गते बिहान ३ः२५ बजे निधन भएपछि आर्यघाटमा दाहसंस्कार कार्यक्रममा नै छोरीहरूले दागबत्ती दिई नयाँपनको सङ्केत गरेका थिए ।
यसपछिको काजक्रियाका लागि आफ्नो निजीनिवास झापाको शान्तिनगर पुगेको पौडेल परिवारले मृतकको इच्छा अनुसार सम्पूर्ण दशकर्म छोरीहरूबाट नै गराउने सोच बनाएको थियो । तर, स्थानीय पण्डितहरूबीचमा केही विवाद बढ्न थालेपछि मृतकका दाजु रङ्गलाल र भाइ दुर्गाका साथमा श्रीमती र दुई छोरीहरू संयुक्तरूपमा क्रियामा बसी कोरोढिकुरोको काम पनि एकैसाथ गर्दै आएका छन् ।
काजक्रियाको यो रूपलाई प्रत्यक्षरूपमा देख्नेहरू एकपटक आश्चर्यमा पर्छन् । क्रियापुत्रीहरूको पहिरन र बसाइपनि परम्परा भन्दा भिन्न छ । मृतककी श्रीमतीले सादा सेतो कपडा नलगाएर अरुबेला लगाउने सामान्य साडीका साथै एउटा सादा बर्को ओढेकी छन् । उनीहरूको सुत्ने ठाउँ मात्र फरक छ । दाजु र भाइको सुत्ने ठाउँ अलि पर छ तर अरु सबै जेठानी, देउरानी र छोरीहरू एकै ठाउँमा सुत्छन् ।
यसरी नै स्त्रीजातिले पस्नै नहुने र छुनसम्म पनि वञ्चित गराइएको ढिकुरोलाई मृतककी श्रीमती निर्मलाले गोबरले लिप्नथाले पछि छोरीहरूले पिण्ड पकाउँछन्, अनि श्रीमतीले पिण्ड बटारेर दिएपछि हरेक दिन पालैपालो कहिले दाजुले, कहिले भाइले र कहिले छोरीहरूले पिण्ड दिन्छन् । उक्त पाँचजनाको काममा कुनै प्रकारको भेदभाव र शास्त्रीय बन्धन देखिँदैन । खाना पकाउने र खाने कुरामा पनि नितान्त फरकपन पाइन्छ ।
दशकर्म गर्ने तथा ढिकुरामा पिण्ड दिने पुरुष अथवा छोरा वा दाजुभाइलाई अरुले छुनु नहुने र तिनैले खाना पकाएर खानुपर्ने परम्परालाई केही नवीनता दिइएको छ । त्यहाँ मृतककी श्रीमती वा छोरीहरू कसैले खाना पकाउँछन्, मृतककी भाउजू पार्वता र बुहारी कृष्णाले घरबाट साग पकाएर खलोमा लगिदिन्छन्, अनि पाँचजना सँगैबसेर एकैसाथ खाना खाने गर्दछन् ।
सुरुमा विवादभएर केही डराएका स्थानीय पुरोहित देवनारायण दाहाल अहिले भने आफूले नयाँकार्यको थालनी गराउन पाएकोमा खुसी छन् । उनी भन्छन्, “मेरो ३५ वर्षे कर्मकाण्डीय जीवनमा यो पहिलो अनुभव हो । मलाई अहिले पनि परम्परा बिथोल्ने भनी आलोचना गर्नेहरूको सङ्ख्या ठूलो छ । मैले छोरा र छोरीमा विभेद हुनुहुँदैन, दशकर्मको सम्पूर्ण अधिकार छोरीमा पनि हुनुपर्छ भन्ने आवाज पहिलेदेखि नै उठाउँदै आएको छु तर म एक्लो परिरहेको छु । हरेक दिन मैले अनेक प्रकारका गालीहरू खाइरहनु पर्छ तर राम्रो कामको थालनी कसै न कसैले त गर्नैपर्छ । त्यो मैले नै गर्न पाएँ, यस कुरामा मलाई गर्वबोध भएको छ ।”
यसरी नै पुरोहित दाहाल धर्मशास्त्रलाई समयानुकूल व्यावहारिक परिवर्तन गर्दै लैजानुपर्ने कुरामा जोड दिन्छन् भने स्थानीयवासीहरु यस प्रकारको क्रिया गराईमा परिवारमा कुनै प्रकारको भेदभाव नहुने, सामूहिक भावना, सामूहिक जिम्मेवारी र समभावपनि देखिने र वास्तविक समवेदनाको कार्यगत स्वरुपपनि स्पष्ट देखिनेहुनाले सबैले यस कार्यको प्रशंसा गर्दै अनुसरण पनि गर्नुपर्ने विचार राख्दछन् ।
मृतक दीपक पौडेल महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलामका भूगोल विषयका सहप्राध्यापक, मानवअधिकारकर्मी तथा प्रगतिशील सामाजिक एवम् सांस्कृतिक अभियन्ता पनि हुन् । श्रीमती निर्मला मानवअधिकार सञ्जाल इलामकी लेखा प्रमुख हुन् भने छोरीहरू दीनिशा र दीपिशा काठमाडौँको नयाँ वानेश्वरस्थित एम्बिसन कलेजमा बिएससी सिएसआइटीको चौथो र दोस्रो वर्षमा अध्ययनरत छन् ।
साहित्यकार नेपाल भन्छन्– शैक्षिक एवम् सामाजिक क्षेत्रमा अत्यन्त लोकप्रिय उक्त परिवारप्रति समवेदना प्रकट गर्न पुगेका हजारौँ शुभचिन्तकहरू पौडेल परिवारको उक्त नवीन, क्रान्तिकारी एवम् व्यावहारिक काजक्रिया गराइको मुक्तकण्ठले प्रशंसा गर्दै फर्केका देखिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
-
मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण
-
इङ्ग्ल्यान्डको विश्वकप नकआउट चरण लगभग पक्का !
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भइसकेको फेला
-
१० बजे १० समाचार : महराले छाडे सक्रिय राजनीति, अख्तियारले बयानमा बोलाएपछि आरजुलाई आपत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण