बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

पत्रकारले समाजलाई जोड्नुपर्छ : अध्यक्ष विष्ट

बिहीबार, १७ मङ्सिर २०७२, १२ : ५८
बिहीबार, १७ मङ्सिर २०७२
प्यूठान– पछिल्लो समय देशमा देखिएको समस्यामा पत्रकार र सञ्चारमाध्यमले विशेष ध्यान दिँदै समाजलाई जोड्ने काममा लाग्नुपर्ने नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले बताएका छन् । आज प्यूठानमा जिल्लाका पत्रकारसँग सामूहिक छलफल गर्दै उनले तराई क्षेत्रमा पछिल्लो एक सय दिनमा ९५ वटा प्रेस स्वतन्त्रता हनन भएको भन्दै आन्दोलनले प्रेस क्षेत्र थप असुरक्षित भएको समेत बताए । देशमा पछिल्लो समय देखिएको जाति तथा क्षेत्रगत विभाजनलाई सङ्केत गर्दै अध्यक्ष विष्टले समाज विभाजन हुने समयमा पत्रकार तथा सञ्चारमाध्यमले समाजलाई जोड्ने कार्यमा लाग्नुपर्ने बताए । अर्को एक प्रसङ्गमा अध्यक्ष विष्टले पत्रकारको न्यूनतम पारिश्रमिक ऐन २० वर्षदेखि कार्यान्वयन नभएको भन्दै त्यसको तत्काल कार्यान्वयनमा महासङ्घले पहल गर्ने बताए । पत्रकारको क्षमता विकासको अभाव भएकाले पनि पारिश्रमिक ऐन प्रभावकारी बनाउन नसकिएको भन्दै उनले सरकारसँगको समन्वयमा केन्द्रीय प्रशिक्षण विभाग स्थापनाको तयारी भएको बताए । यसैबीच, अध्यक्ष विष्टसमक्ष प्यूठानका पत्रकारले पत्रकार असुरक्षित हुने र पत्रकारको परिवारमा समेत भौतिक आक्रमणको प्रयास हुने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । प्यूठानका पत्रकार प्रमोद पोख्रेलको आमाको बम विस्फोट गराई हत्या भएको लामो समयसम्म पनि छानबिन नभएको प्रसङ्ग उठाउँदै जिल्लाका पत्रकारले पत्रकारको सुरक्षाको ग्यारेन्टी नभएको बताएका हुन् । हाल पत्रकार पोख्रेलले आमाको हत्या भएपछि १२ वर्षदेखि पत्रकारिता गर्दै आएकोमा विस्थापित भएको भन्दै जिल्लाका पत्रकारले घटनालाई गम्भीर रुपमा लिन अध्यक्ष विष्टलाई आग्रह गरेका छन् । पत्रकारिता गरेकै कारण आमाको हत्या भएको र आफू विस्थापित भएको भन्दै पीडित पोख्रेलले अध्यक्ष विष्टसमक्ष ज्ञापनपत्रसमेत बुझाएका छन् । ज्ञापनपत्र बुझदै अध्यक्ष विष्टले घटनालाई आफूहरुले गम्भीर रुपमा हेरेको बताए । उनले जिल्ला तथा क्षेत्रीय स्तरबाट केन्द्रमा सामूहिक दबाब दिन आवश्यक भएको समेत बताएका छन् । घटनाका विषयमा छानबिन नभएको भन्दै जिल्लाका पत्रकारले आपत्ति जनाएका छन् । त्यस्तै, अर्को एक प्रसङ्गमा अध्यक्ष विष्टले पत्रकार महासङ्घ प्यूठानमा देखिएको विवाद मिलाउनका लागि जिल्ला तथा केन्द्रले पहल गर्ने बताए । नेपाल प्रेस युनियन र प्रगतिशील पत्रकार सङ्घ प्यूठानले आयोजना गरेको अध्यक्ष विष्टसहित केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतम, क्षेत्रीय संयोजक झलक गैरे, महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेललगायतसँग सामूहिक छलफल भयो । छलफलमा प्रेस युनियनका मध्यपश्चिम संयोजक देवेन्द्र बर्मा र प्रेस युनियन प्यूठान शाखाका अध्यक्ष मेघराज भट्टले पत्रकार महासङ्घ प्यूठान शाखा राजनीतिबाट प्रभावित हुँदा समस्या समाधान गर्न समस्या भएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप