बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

‘प्राप्त उपलब्धिलाई जोगाएर अघि बढौं’ : उपप्रधानमन्त्री मैनाली

बिहीबार, १७ मङ्सिर २०७२, १३ : ३३
बिहीबार, १७ मङ्सिर २०७२
काठमाडौँ– उपप्रधानमन्त्री तथा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सिपी मैनालीले बन्द, हडताल र नाकाबन्दी त्यागेर संसद्बाटै समाधान खोज्न मधेसवादी दलहरुसँग आग्रह गरेका छन् । उपप्रधानमन्त्री मैनालीले भने– “संविधान र सरकारले मधेसी समुदायलाई केही पनि दिएको छैन भन्ने होइन, दिएको छ । प्राप्त उपलब्धिलाई जोगाएर कार्यान्वयन गर्दै थप अधिकारका लागि अगाडि बढ्नुको सट्टा भूकम्पबाट थिलोथिलो भएको अवस्थामा फेरि बन्द, हडताल गरेर सङ्कट उत्पन्न गर्ने कुरा सही हुन सक्दैन ।” चौबिसौँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा विभिन्न सङ्घसंस्था आबद्ध मूल आयोजक समितिद्वारा यहाँ आज आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले संविधानमा सबैका सबै अधिकारभन्दा पनि सबैका केही अधिकार सुनिश्चित गरिएको र त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताए । नेपालको नयाँ संविधानले पहिलोपटक अपाङ्गताको अधिकारलाई सिन सुनिश्चित गरेको उनको भनाइ थियो । महिला मन्त्रालयका सचिव मधु रेग्मीले लामो समयदेखि संशोधन हुन नसकेको अपाङ्गता संरक्षण तथा कल्याण ऐन, २०३९ लाई अपाङ्गता अधिकारसम्बन्धी महासन्धिअनुरूप पुनर्लेखन गरी संसद्मा दर्तासमेत गरिएको जानकारी दिए । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा कुल जनसङ्ख्याको झन्डै दुई प्रतिशत मानिसमा अपाङ्गता छ । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि २००६ ले अपाङ्गतालाई व्यक्तिगत वा शारीरिक अवस्था नभनेर विभिन्न प्रकारका भौतिक, दृष्टिकोणजन्य, सञ्चारसम्बन्धी र सामाजिक अवरोधको परिणाम हो भनी व्याख्या गरेको छ । विश्व स्वास्थ्य सङ्गठन र विश्व बैंकद्वारा सन् २०११ मा प्रकाशित पछिल्लो अपाङ्गतासम्बन्धी विश्व प्रतिवेदनअनुसार संसारमा कुल जनसङ्ख्याको १५ प्रतिशत मानिस कुनै न कुनै रूपमा अपाङ्गताको अवस्थामा बाँचिरहेका छन् । राष्ट्रसङ्घीय विकास कार्यक्रमले जनाएअनुसार अपाङ्गता भएका व्यक्ति ८० प्रतिशत विकासोन्मुख देशमा रहेका छन् । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आज पदयात्राको समेत आयोजना गरियो । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपबाट सुरु भएको पदयात्रा भद्रकाली, सहिद ढोका, नयाँसडक, रत्नपार्क, पुरानो बसपार्क हुँदै पुनः भृकुटीमण्डप पुगेर कोणसभामा परिणत भएको थियो । पदयात्रामा उपप्रधानमन्त्री, महिला मन्त्रालयका सचिव तथा उपसचिव, अपाङ्गता भएका व्यक्ति तथा सरोकारवाला सङ्घसंस्थाको सहभागिता थियो । पदयात्रामा सहभागीले ‘हामीलाई निःशुल्क शिक्षा चाहिन्छ’, ‘अपाङ्गतालाई पनि मौका दिनुपर्छ’, ‘भूकम्पपछिको पुनःनिर्माण अपाङ्मैत्री हुनुपर्छ’ र ‘अति अशक्त र पूर्ण अशक्तलाई सहयोगीको व्यवस्था गरौँ’ लेखिएका प्लेकार्ड बोकेका थिए । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको यस वर्षको नारा ‘अर्थपूर्ण समावेशीकरण : सबै क्षमताका व्यक्तिका लागि पहुँच र सशक्तीकरण’ भन्ने रहेको छ । मूल समितिले यो दिवस विभिन्न कार्यक्रम गरी करिव एक हप्तासम्म मनाउने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप