बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

रामकृष्णको सांगीतिक प्रस्तुतिसँगै अमेरिकामा ‘मालती मंगले’को प्रदर्शन

बिहीबार, ०४ असार २०८३, १९ : ३०
बिहीबार, ०४ असार २०८३

काठमाडौँ । गायक रामकृष्ण ढकाल यतिबेला सांगीतिक कार्यक्रम र आफूले निर्माण गरेको फिल्म ‘मालती मंगले’ प्रदर्शनका लागि अमेरिकामा छन् । 

जुन ५ मा बोस्टनमा ‘मिट एन्ड ग्रिट’सहित फिल्म प्रदर्शनको आयोजना गरिएको गायक तथा निर्माता ढकालले रातोपाटीलाई बताए । त्यसक्रममा ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ र ‘झ्याम पारम’ उनले गाएका थिए । उनलाई बोस्टनमै बसोबास गर्ने सुशीला बस्नेत तिमिल्सिनाले गायनमा साथ दिएकी थिइन् । बोस्टनमा फिल्म हेरेपछि छोरी रानी ढकालसँगै रामकृष्ण पनि निकै भावुक बनेका थिए । 

USA Malati Mangale_Ram Krishna Dhakal3

यसैगरी जुन ५ मा न्यु ह्याम्पसायरमा गुरुङ समाजले ढकालको सांगीतिक प्रस्तुतिसहित फिल्म शोको आयोजना गरेको थियो । त्यसक्रममा स्थानीय प्रकाश गुरुङ लगायत कलाकारले समेत प्रस्तुति दिएका थिए ।  

आइतबार अर्थात् जुन २१ मा नर्थ क्यारोलिनाको सारलट, जुन तेस्रो साता भर्जिनिया र अन्तिम साता बाल्टिमोरमा ‘मालती मंगले’को प्रदर्शन र सांगीतिक प्रस्तुति रहने ढकालले बताए । जुन महिनाको अन्तिममा अमेरिका टुर सकेर ढकाल ‘मालती मंगले’ लिएर अस्ट्रेलिया जानेछन्, जहाँ आगामी जुलाई ४ मा सिड्नीको पारमाटा रोडस्थित ग्रान्ड प्यालेस सेन्टरमा रेड कार्पेटसहितको प्रिमियर शो हुनेछ । 

USA Malati Mangale_Ram Krishna Dhakal2

विजय बराल, वर्षा राउत र मेक्सम गौडेलको मुख्य भूमिका रहेको फिल्म वैशाख २५ गतेदेखि नेपालमा प्रदर्शनमा आएको हो । नेपाल रिलिजको दोस्रो सातादेखि फिल्म अमेरिकाका विभिन्न सहरमा समेत प्रदर्शन भइरहेको छ । 

अभावबिच पनि आत्मीय प्रेमले हाँसीखुसी जीवन बिताइरहेको ग्रामीण दम्पतीको जीवनमा जब सामाजिक भ्रमले कब्जा जमाउँछ, तब आपसमा आउने असमझदारी र उतारचढावको कथा ‘मालती मंगले’ले प्रस्तुत गर्छ ।

USA Malati Mangale1

रानी फिल्म्सको प्रस्तुति रहेको ‘मालती मंगले’मा प्रकाश घिमिरे, सुवर्ण थापा, उमेश सुनाम, सुस्मा निरौला र सरिता गिरी तथा बाल कलाकारहरू नरिन थापा र मन्सु सापकोटाले समेत अभिनय गरेका छन् । फिल्ममा रोशन विश्वकर्माको कोरियोग्राफी, महेश पौडेलको छायांकन, रोमी मोसेजको सम्पादन र संयोग गुरागाईंको पटकथा तथा संवाद छ । मनोज जोशीले कला निर्देशन गरेका छन् भने कार्यकारी निर्माता सागर ज्ञवाली हुन् ।

नेपाली सुगम संगीत र पार्श्व गायनका प्रसिद्ध गायक रामकृष्ण ढकालले अढाइ दशकअघि आफ्नै सांगीतिक संघर्षमा आधारित फिल्म ‘आशीर्वाद’मा अभिनय गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप