बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

जागिर दिने प्रलोभनमा ठग्दै गैरसरकारी संस्था

बिहीबार, १७ मङ्सिर २०७२, १३ : ४६
बिहीबार, १७ मङ्सिर २०७२
कञ्चनपुर–कञ्चनपुरको एक गैरसरकारी संस्थाले जागिर दिन्छु, भन्दै यहाँका बेरोजगार युवालाई ठगिरहेको रहस्य खुलेको छ । नमुना समाज नेपाल नाम गरेको गैरसरकारी संस्थाले कैलाली र कञ्चनपुरका स्थानीय युवायुवतीलाई ठगेको रहस्य खुलेको हो । नमुना समाज नेपालले जागिर दिने आश्वासन दिँदै युवायुवतीबाट १० हजारदेखि एक लाख असुलेको थाहाभएको छ । पैसा दिएर जागिर नदिएको भन्दै विसन गिरी, नरेश राना, लक्ष्मण राना लगायतका व्यक्तिले जिल्ला प्रहरी कार्यालय र प्रशासनमा उजुरी दिएपछि उक्त एनजिओले रकम असुलेको रहस्य खुलेको हो । पैसा दिएको लामो समयसम्म पनि न त जागिर दियो, न त आफ्नो पैसा फिर्ता ग¥यो भन्दै उनीहरुले पैसा असुल गरी पाऊँ भनी प्रहरी र प्रशासनमा उजुरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता केदार खनालले उजुरीकर्ता र नमुना समाजका अध्यक्ष हरिनादेवी भट्टबीच बुधबार सहमति हुन नसक्दा प्रहरीले सोही दिन जिल्ला प्रशासन कार्यालयमा उक्त जाहेरीलाई छलफलका लागि पठाएको थियो । उजुरीकर्ताले आफूहरुबाट नमुना समाजले रकम असुलेर फिर्ता नगरेका कारण प्रहरी र प्रशासनमा उजुरी दिएको देखतभूलीका नरेश रानाले बताए । आफूबाट नगद १० हजार असुलेको उहाँको भनाइ छ । यस्तै भीमदत्त नगरपालिका–१५ का विसन गिरीले आफूबाट नगद एक लाख असुलेर फिर्ता नगरेको बताए । “जागिरको आशाले ऋण निकालेर नमुना समाजमा लगाएँ, आज न जागिर न पैसा फिर्ता भयो,” उनले भने – “एक लाखको ब्याज तिर्दैछु ।” गिरीजस्तै अन्य युवायुवतीले पनि ठगिएका छन् । नमुना समाज नेपाल कञ्चनपुरकी अध्यक्ष हरिनाले कैलालीका आठ र कञ्चनपुरका केही व्यक्तिबाट पैसा लिएको स्वीकारे । उहाँले सम्झौताअनुसार पैसा लिएको र जागिर दिलाई दिने समेत बताउनुभयो । “अहिले कार्यक्रम छैन, पछि जागिर दिन्छु”, उनले भने– “भोलि नै सबैलाई नियुक्तिपत्र दिनेछु ।” यसैबीच उजुरीकर्ता, नमुना समाज र जिल्ला प्रशासन कार्यालयबीच भएको सहमतिमा एक महिनाभित्र नमुना समाज कञ्चनपुरले पैसा फिर्ता गरिदिने लिखित सहमति भएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले उजुरीकर्ताले दिएको निवेदनको आधारमा नमुना समाजसँग छलफल गर्दा पैसा असुलेको देखिएकाले एक महिनाभित्र सबै पैसा फिर्ता दिने सहमति भएको जानकारी दिए । “सात जनाले मात्रै उजुरी दिए पनि सयौँ नागरिकबाट उक्त एनजिओले पैसा असुलेको छ,” उनले भने – “सबैको पैसा फिर्ता दिने नमुना समाज कञ्चनपुरकी अध्यक्ष भट्टले सहमति गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप