शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विमानस्थल सञ्चालनमा नआउँदा पर्यटन व्यवसाय खस्किँदै

सोमबार, ०४ माघ २०७२, ११ : ०४
सोमबार, ०४ माघ २०७२
कञ्चनपुर– दुई दशकअघिदेखि बन्द अवस्थामा रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा आउन नसक्दा यस क्षेत्रको पर्यटन व्यवसाय खस्किँदो अवस्थामा पुगेको छ । विमानस्थल सञ्चालन नहुँदा यहाँका महत्वपूर्ण पर्यटकीयस्थल ओझेलमा परेका छन् । हवाई सेवा प्रभावित भएकै कारण यहाँ विदेशी पर्यटकको सङ्ख्या शून्य जस्तै रहेकोे छ । करोडौँ रुपैयाँ खर्चिएर निर्माण गरिएको विमानस्थलका भौतिक संरचना जीर्ण भएका छन् । हवाई मैदान स्थानीय बासिन्दाको गाईगोरु चराउने क्षेत्र बनेको छ । हवाई मैदानमा रहेको ‘रन वे’ गाडी सिकारुहरूका लागि प्रशिक्षण केन्द्र बनेको छ । पर्यटन व्यवसाय प्रवद्र्धन गर्नका लागि हवाई यातायात महत्वपूर्ण भएकाले विमानस्थल सञ्चालन गर्न सरकारलाई पटक पटक आग्रह गर्दा सुनवाइ नै नभएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष गणेशदत्त जोशीले बताए । उनले हवाई यातायात नभएकै कारण यहाँका व्यवसायीहरूले पर्यटन व्यवसायमा लगानी गर्न नसकेको बताए । “यहाँका शुक्लाफाँटा वन्यजन्तु आरक्ष, शिद्धबाबा, झिमिला ताल, बेदकोट ताल, विष्णु मन्दिरलगायतका पर्यटकीय क्षेत्र हवाई यातायातका कारण ओझेलमा परेका छन्” – उनले भने । हवाई यातायातको व्यवस्था नहुँदा यहाँ घुम्न आउने पर्यटकको सङ्ख्या नगन्य मात्रामा रहने गरेको नेपाल पर्यटन बोर्ड कार्यालय गड्डाचौकीका कर्मचारी स्थानेश्वर लेखकले बताए । गत वर्ष सुदूरपश्चिम घुम्ने पर्यटकको सङ्ख्या दुईजना रहेकामा यस वर्षको हालसम्म यहाँ घुम्ने विदेशी पर्यटको सङ्ख्या शून्य रहेको उनले बताए । “पर्यटन व्यवसाय प्रवद्र्धनका लागि हवाई यातायात महत्वपूर्ण रहेकाले बन्द विमानस्थल सञ्चालन गर्न सम्बन्धित निकायले चासो राख्नुपर्ने हुन्छ” – उनले भने । विसं २०२५ मा निर्माण गरिएको विमानस्थल सशस्त्र द्वन्द्वका कारण विसं २०५५ देखि बन्द अवस्थामा रहेको छ । यसैगरी, सुदूरपश्चिमका आधादर्जन बढी विमानस्थलमध्ये बाजुराको कोल्टी र कैलालीको गेटा विमानस्थल मात्रै सञ्चालनमा रहेका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप