शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

चौकीदारले ‘लाख’ मागेपछि अख्तियारको शरणमा भीमफेदीका कैदीबन्दी !

मङ्गलबार, ०५ माघ २०७२, १६ : ३१
मङ्गलबार, ०५ माघ २०७२

मकवानपुर–चौकीदारले धम्क्याउँदै लाख रुपैयाँ माग्न थालेपछि भीमफेदी कारागारका कैदीबन्दीहरु अख्तियारको शरणमा पुगेका छन् । कारागारका चौकीदार लक्ष्मण पौडेलले धाक–धम्की दिएर आफूहरुसँग दश हजारदेखि एक लाख रुपैयाँसम्म माग्ने गरेको र ‘रकम नदिए दुर्गममा चलानी गरिदिन्छु’ भनेर यातना दिने गरेको भन्दै भीमफेदीका कैदिबन्दीहरुले अख्तियार दुरुपायोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । ०६९ चैतमा कारागार ब्यवस्था विभागले चलानिको आदेश दिएपनि जेलरलाई आर्थिक प्रलोभनका पारेर सोही कारागारमा अड्डा जमाएर बसेका पौडेललाई अन्य तिनजना नाईकेहरुले सहयोग गर्ने गरेको पाईएको छ । अख्तियारमा परेको उजुरीपत्रमा उल्लेख भए अनुसार पौडेललाई दिवाकर श्रेष्ठ, दिपक पाण्डे र सुमन घलेले सघाईरहेका छन् । ‘मेरो माथिसम्म पहुँच छ’ भन्दै नयाँ जाने कैदीबन्दीहरुसँग रकम असुल गर्दै आएका पौडेलले पैसा दिन आनाकानी गर्ने बन्दीहरुलाई अनायासै कुटपिट र गालीगलौज गर्ने गरेको भीमफेदीका बन्दीहरुले जानकारी दिएका छन् । बन्दीहरुले अख्तियारमा दिएको उजुरीमा उल्लेख भएअनुसार पौडेल र उनका मतियारहरुले बिरामी बन्दीहरुलाई समेत रकम माग गर्दै नदिएमा दुर्गममा पठाईदिने धम्कि दिँदै अस्पताल जानबाट समेत रोक लगाउँदै आएका छन् । यसरी लक्ष्मणले कारागार भित्र उदण्दता मच्चाएको बारे कारागार प्रशासन देखि जिल्ला प्रशासन कार्यालय मकवानपुर समेत जानकार भएपनि उनीबारे कसैले मुख खोलेका छैनन् । भीमफेदी कारागारका चौकिदारले कैदिबन्दीसँग अनधिकृत रुपमा पैसा उठाएकोबारे जिज्ञासा राख्दा मकवानपुरका प्रजिअ रामप्रसाद थपलियाले यसबारे आफुलाई कुनै जानकारी नभएको बताए । उनले भने, ‘सहायक सिडिओ सा’वलाई थाहा होला कि ? मलाई त केही पनि थाहा छैन ।’ गएको पुस दोस्रो साता गृहमन्त्रालयले मकवानपुर जिल्ला प्रशासनलाई चौकीदारको उदण्डताबारे लेखेर पठाउन आग्रह गर्दै पत्र लेखेको थियो । सो पत्रबारे समेत अनभिज्ञता देखाउँदै सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की पनि बुझेर खबर गर्छु भन्दै पन्छिए । कारागार ब्यवस्था विभागका महानिर्देशक हिमनाथ दवाडीले चौकीदारको बारेमा सानातिना उजुरी परिरहने जानकारी दिँदै भने, ‘चौकिदारबारे सम्वन्धित कारागारले सिफारिश गरेमा हामी तुरन्त सरुवा गर्छौ, तर भीमफेदीका चौकिदारले त्यस्तो उदण्डता मच्चाएकोबारे विभागलाई जानकारी छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप