कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
गणतन्त्र नेपाली जनताको र नेपाली कांग्रेसको मूल स्वर हो, बीपीलाई आजको आग्रहको प्रमाण नबनाऔँ
सारांश
- नेपाली कांग्रेसभित्र संवैधानिक राजतन्त्र पुनर्स्थापित गर्ने समूह सक्रिय देखिएको छ, जसले पार्टीको आत्मपहिचान र ऐतिहासिक बाटोमाथि प्रश्न उठाएको छ ।
- गणतन्त्र नेपाली जनता र कांग्रेसको मूल स्वर हो, जुन कुनै बाह्य दबाब वा राजनीतिक सौदाबाजीको परिणाम नभई नेपाली समाजको दीर्घकालीन सङ्घर्ष र जनआन्दोलनको अनिवार्य निष्कर्ष हो ।
- कांग्रेसको भविष्य अतीतमुखी राजतन्त्रमा नभई भविष्यमुखी गणतन्त्रको संस्थागत संस्कृति निर्माण, जनताको जीवनसँग गणतन्त्रलाई जोड्ने र लोकतान्त्रिक आकाङ्क्षालाई पूरा गर्नेमा छ ।
नेपाली कांग्रेसभित्र संवैधानिक राजतन्त्रलाई आफ्नो राजनीतिक मूलाधारका रूपमा पुनर्स्थापित गर्न खोज्ने एउटा समूह पछिल्लो समय सक्रिय देखिएको छ । यो स्वाभाविक रूपमा लोकतान्त्रिक पार्टीभित्र हुने बहसको हिस्सा हुन सक्छ । कुनै पनि जीवित पार्टीभित्र विचारहरू आउँछन्, बहस हुन्छ, मतभेद हुन्छन् र कहिलेकाहीँ पुराना प्रश्नहरू नयाँ परिस्थितिमा पुनः उठ्छन् ।
प्रश्न त्यतिबेला भने गम्भीर हुन्छ, जब इतिहासलाई वर्तमान राजनीतिक आग्रहअनुसार पुनर्लेखन गर्न थालिन्छ, जब बीपी कोइरालालाई आजको आफ्नो राजनीतिक निष्कर्षको प्रमाण बनाउन खोजिन्छ, जब ऐतिहासिक सङ्क्रमणकालीन विचारलाई स्थायी वैचारिक धर्मशास्त्रका रूपमा प्रस्तुत गरिन्छ, तब समस्या थप जटिल बन्न थाल्छ ।
आज नेपाली कांग्रेसभित्रको एउटा समूहमा देखिएको संवैधानिक राजतन्त्रको अनुरागलाई यही सन्दर्भमा बुझ्नुपर्छ । यो केवल राजतन्त्र वा गणतन्त्रको बहस होइन । यो कांग्रेसको आत्मपहिचानको प्रश्न हो ।
यो प्रश्न हो– नेपाली कांग्रेस कहाँबाट आएको हो ? उसले नेपालको राजनीतिक इतिहासमा कुन बाटो रोज्दै आएको हो ? र, आज ऊ कुन दिशातर्फ फर्कन खोजिरहेको छ ?
कांग्रेसका लागि यो प्रश्न झनै महत्त्वपूर्ण छ । किनकि, नेपाली कांग्रेसले गणतन्त्रलाई कुनै बाह्य दबाब, क्षणिक लोकप्रियता वा राजनीतिक सौदाबाजीका कारण स्वीकार गरेको होइन । नेपाली समाजको दीर्घकालीन राजनीतिक सङ्घर्ष, जनआन्दोलन, लोकतान्त्रिक चेतना र इतिहासको अनिवार्य निष्कर्षका रूपमा नेपाली कांग्रेस गणतन्त्रमा आइपुगेको हो ।
किनभने, गणतन्त्र नेपाली जनताको र नेपाली कांग्रेसको मूल स्वर हो । यसलाई स्वीकार गर्नु कांग्रेसको आत्मसमर्पण थिएन । बरु, यो नेपाली जनताको सार्वभौम इच्छाप्रति कांग्रेसको ऐतिहासिक निष्ठा थियो । बीपीलाई आजको आग्रहको प्रमाण नबनाऔँ । आज संवैधानिक राजतन्त्रका पक्षधरहरूले बीपी कोइरालालाई उद्धृत गरिरहेका छन् ।
बीपीले राजतन्त्रसँग सहकार्य गरे, राजासँग संवाद गरे, राजतन्त्रको राजनीतिक उपयोगिताबारे विचार व्यक्त गरे, यी सबै ऐतिहासिक तथ्य हुन् । तर, इतिहासलाई एउटा वाक्यमा कैद गर्न सकिँदैन ।
बीपी कोइराला कुनै जड विचार र चिन्तनधाराका व्यक्ति थिएनन् । उनी इतिहासलाई चलायमान प्रक्रियाका रूपमा बुझ्थे । राजनीतिक सिद्धान्तलाई जीवन्त समाजसँग जोडेर हेर्थे । परिस्थितिमा आएको परिवर्तनको ठोस विश्लेषणसँगै रणनीति र संस्थागत सोचमा परिवर्तन आवश्यक हुन्छ भन्ने कुरा उनले भन्दा बढी कसले बुझेको थियो होला र ?
बीपीलाई उद्धृत गरेर आजको राजतन्त्रको आग्रहलाई वैधता दिन खोज्नेहरूले बीपीको सबैभन्दा ठूलो विशेषतालाई नै बिर्सिरहेका छन्– उनको राजनीतिक गतिशीलता ।
बीपीको राजनीतिक दर्शनलाई राजतन्त्रको संरक्षणमा सीमित गर्नु उनको विराट् व्यक्तित्वलाई सानो बनाउनु हो ।
बीपी संवैधानिक संरचनाका पुजारी थिएनन् । उनी लोकतन्त्रका पक्षधर थिए । उनको चिन्ता राज्यको शिरमा मुकुट छ वा छैन भन्नेभन्दा पनि धेरै ठूलो थियो । उनको मूल प्रश्न थियो– जनताको स्वतन्त्रता कहाँ छ ? नागरिकको गरिमा कहाँ छ ? राज्य जनताप्रति उत्तरदायी छ वा छैन ? समाजमा आर्थिक र सामाजिक न्याय छ वा छैन ?
बीपीको राजनीतिक दर्शनलाई राजतन्त्रको संरक्षणमा सीमित गर्नु उनको विराट् व्यक्तित्वलाई सानो बनाउनु हो । इतिहासका व्यक्तिहरूलाई आफ्नो वर्तमान राजनीतिक आग्रहको पोस्टर बनाउन सजिलो हुन्छ । तर, इतिहासको इमानदार अध्ययन कठिन हुन्छ । बीपीलाई उद्धृत गर्नु सजिलो छ, बुझ्नु कठिन ।
राजतन्त्र बीपीको अन्तिम गन्तव्य थिएन । बीपीले राजतन्त्रसँग सहकार्य गरेका हुन् । तर, ‘राजतन्त्रलाई बीपीले लोकतन्त्रको अन्तिम आदर्श मानेका थिए’ भनी निष्कर्ष निकाल्नु इतिहासप्रतिको अन्याय हो, झुट हो ।
राजतन्त्रसँग बीपीको सम्बन्ध राजनीतिक सङ्घर्षको एउटा जटिल अध्याय थियो । त्यो सम्बन्धमा रणनीति थियो, बाध्यता थियो, परिस्थितिजन्य समझदारी थियो र आफ्नै प्रकारको राजनीतिक प्रयोग थियो । तर, बीपीको सम्पूर्ण राजनीतिक जीवनलाई त्यही एउटा सम्बन्धमा सीमित गर्न सकिँदैन ।
नेपालमा राजतन्त्र र लोकतन्त्रबीचको सम्बन्ध स्वयं इतिहासको ठूलो प्रश्न हो । २००७ सालपछि लोकतन्त्रको आगमन भयो, तर राजतन्त्रले लोकतन्त्रलाई पूर्ण रूपमा स्वीकार गरेन । अनेक जालसाजी गर्दै गर्दै २०१७ सालमा निर्वाचित सरकार नै अपदस्थ गरियो, संसद् विघटन गरियो । राजनीतिक दलहरू प्रतिबन्धित गरियो, नागरिकका लोकतान्त्रिक अधिकारहरू खोसिए । त्यसपछि नेपाली कांग्रेसले दशकौँसम्म लोकतन्त्रका लागि सङ्घर्ष गर्यो ।
राजतन्त्रसँग बीपीको संवाद अवश्य थियो, तर राजतन्त्रले लादेको निरङ्कुशतासँग उनको घनीभूत सङ्घर्ष थियो ।
यदि नेपालको राजतन्त्र लोकतन्त्रकै संरक्षक थियो भने नेपाली कांग्रेसले आफ्नो जीवनको यति ठूलो सङ्घर्ष राजतन्त्रले लादेको निरङ्कुशताविरुद्ध किन खर्च गर्थ्यो र ? इतिहासको यक्ष प्रश्नबाट भाग्न सकिँदैन मित्रहरू ! र, नेपाली कांग्रेसकै इतिहासलाई बङ्ग्याएर प्रस्तुत गर्न पनि मिल्दैन ।
राजतन्त्रसँग बीपीको संवाद अवश्य थियो, तर राजतन्त्रले लादेको निरङ्कुशतासँग उनको घनीभूत सङ्घर्ष थियो । बीपीलाई बुझ्ने हो भने यी दुवै पक्षलाई सँगसँगै बुझ्नुपर्छ । एक पक्षलाई मात्र समातेर अर्को पक्षलाई लुकाउनु बीपीको सम्मान होइन, उपयोगितावाद हो ।
- कांग्रेस गणतन्त्रमा किन आयो ?
नेपाली कांग्रेस गणतन्त्रमा आइपुग्दा उसको यात्रा कुनै आकस्मिक मोड थिएन । नेपालको राजतन्त्रले आफूलाई लोकतान्त्रिक ढङ्गले रूपान्तरित गर्न सकेन । राजतन्त्रले जनताको सार्वभौम अधिकारलाई अन्ततः आफ्नो अस्तित्वभन्दा माथि राख्न सकेन ।
२०६२/६३ को जनआन्दोलनपछि नेपाल एउटा निर्णायक मोडमा पुग्यो । नेपाली जनताले केवल राजा हटाउन आन्दोलन गरेका थिएनन् । उनीहरूले राज्यको स्वामित्वको प्रश्न उठाएका थिए ।
राज्य कसको हो ? जनताको कि वंशको ? सत्ता जनताबाट आउँछ कि जन्मबाट ? राष्ट्रको सार्वभौमसत्ता नागरिकमा निहित हुन्छ कि कुनै परिवारमा ? गणतन्त्रले यी प्रश्नहरूको स्पष्ट उत्तर दियो । नेपालको गणतन्त्रको अर्थ राजाको ठाउँमा राष्ट्रपति राख्नु मात्र थिएन । यसको मूल अर्थ थियो– सत्ता वंशानुगत हुँदैन र सार्वभौमसत्ता कुनै व्यक्तिमा होइन नागरिकमा निहित हुन्छ ।
गणतन्त्रको अर्थ हो– नेपाल कुनै परिवारको निजी सम्पत्ति होइन । राज्यका सबै नागरिक समान छन् । कुनै व्यक्ति जन्मकै आधारमा राष्ट्रको स्वाभाविक मालिक हुँदैन । नेपाली कांग्रेसले यही ऐतिहासिक परिवर्तनलाई स्वीकार गरेको हो ।
यो स्वीकारोक्ति नेपाली कांग्रेसको कमजोरी होइन । यो नेपाली कांग्रेसको लोकतान्त्रिक परिपक्वता हो । गणतन्त्र नेपाली एकताको आधार हो ।
गणतन्त्रले पहिलोपटक नेपाली राज्यलाई सबै नागरिक एक हुन् भन्ने सिद्धान्तमा पुनर्संरचना गर्ने सम्भावना दिएको छ ।
राजतन्त्रका पक्षधरहरू प्रायः एउटै तर्क गर्छन्– राजतन्त्र राष्ट्रिय एकताको प्रतीक हो । तर, यो तर्कले नेपालको वास्तविक सामाजिक मनोविज्ञान र इतिहासलाई तोडमरोड गरेर अत्यन्त सरलीकृत ढङ्गले एउटा परिवारको विरासत र त्यसको महत्तालाई स्थापित गर्न प्रयत्न गर्छ ।
नेपाल कहिल्यै एक जाति, एक भाषा, एक संस्कृति वा एउटै राष्ट्रबाट निर्मित देश थिएन । नेपाल अनेकतामा एकता भएको देश हो । हिमाल, पहाड र मधेसको सहअस्तित्व बोकेको देश हो । अनेक भाषा, जाति, धर्म, संस्कृति र स्मृतिको साझा भूगोल हो नेपाल । यदि नेपाललाई एकताबद्ध राख्ने कुनै शक्ति छ भने त्यो एउटा वंशमा होइन, आम नागरिकको साझा सहअस्तित्व र आत्मसम्मानमा छ ।
गणतन्त्रले पहिलोपटक नेपाली राज्यलाई सबै नागरिक एक हुन् भन्ने सिद्धान्तमा पुनर्संरचना गर्ने सम्भावना दिएको छ । गणतन्त्रले भन्छ– राज्यको केन्द्रमा कुनै वंश होइन, नागरिक हुन्छ । मधेसका नागरिकलाई पनि त्यही अधिकार छ, जुन काठमाडौँका नागरिकलाई छ र कर्णालीका नागरिकलाई पनि । दलित नागरिकलाई पनि त्यही गरिमा छ, जुन 'उच्च जातीय' नागरिकलाई छ । जनजाति, महिला, सीमान्तकृत, अल्पसङ्ख्यक सबै राज्यका समान स्वामी हुन् ।
यसै कारणले गणतन्त्र नेपाली एकताको आधार बन्न सक्छ । राजतन्त्रको एकता प्रायः माथिबाट थोपरिएको एकता थियो । गणतन्त्रको एकता तलबाट निर्माण हुने एकता हो । राजतन्त्रले भन्छ– ‘म नै राष्ट्र हुँ ।’ गणतन्त्रले भन्छ– ‘जनता राष्ट्र हुन् ।’ यी दुई वाक्यबीचको अन्तर नै नेपालको आधुनिक राजनीतिक इतिहासको भिन्नता हो ।
त्यसैले कांग्रेसले आफ्नो जरा बिर्सनु हुँदैन । नेपाली कांग्रेसको सबैभन्दा ठूलो शक्ति उसको इतिहास हो । तर, इतिहास त्यतिबेला मात्र शक्तिमा रूपान्तरित हुन्छ, जब त्यसलाई इमानदारपूर्वक लागू गरिन्छ । इतिहासलाई आजको आफ्नो सुविधाअनुसार उपयोग गर्ने हो भने त्यो शक्ति होइन, बोझ बन्न पुग्छ ।
कांग्रेसले यो पनि सम्झनुपर्छ कि जनताले उसलाई केवल इतिहासको सम्मान गर्न चुनेका होइनन् ।
कांग्रेसले आफ्नो इतिहासमा लोकतन्त्र प्राप्तिका लागि गरेको सङ्घर्ष देख्न सक्नुपर्छ । राणाशासन, निरङ्कुश पञ्चायत र राजाको प्रत्यक्ष शासनकालविरुद्धको सङ्घर्ष देख्न सक्नुपर्छ । समावेशिता, सङ्घीयता र गणतन्त्रको यात्रालाई देख्न सक्नुपर्छ । अनि मात्र उसले गणतन्त्रको महत्त्वबोध गर्न सक्छ ।
कांग्रेसले के पनि सम्झनुपर्छ भने जनताले उसलाई केवल इतिहासको सम्मान गर्न चुनेका होइनन् । जनताले उसलाई भविष्य निर्माण गर्न चुनेका हुन् । कांग्रेसभित्र संवैधानिक राजतन्त्रको विचार फेरि टुसाउनु केवल एउटा वैकल्पिक राजनीतिक प्रस्ताव होइन । यदि यसलाई पार्टीको मूल वैचारिक आधारका रूपमा स्थापित गर्न खोजियो भने यसले कांग्रेसलाई आफ्नो ऐतिहासिक जराबाटै उखेलेर असान्दर्भिक र निम्छरो शक्ति बनाइदिनेछ ।
राजनीतिक पार्टीहरू विचारबाट बाँच्छन् । तर, विचारको अर्थ पछाडि फर्कनु होइन । विचार भनेको समयसँग संवाद गर्ने क्षमता हो । कांग्रेसको प्रश्न यो होइन- बीपीले कुनै समयमा राजतन्त्रसँग संवाद गरेका थिए कि थिएनन् । प्रश्न के हो भने आजको नेपालमा जनताको सार्वभौम इच्छाको मूल तत्त्व गणतन्त्र हो वा राजतन्त्र ? उत्तर स्पष्ट छ– गणतन्त्र ।
गणतन्त्रका कमजोरीहरू छन्, तर त्यसको समाधान राजतन्त्रात्मक व्यवस्थामा होइन, गणतन्त्रको परिष्करणमा छ । खराब लोकतन्त्रको समाधान उन्नत लोकतन्त्र हो । भ्रष्ट गणतन्त्रको समाधान उत्तरदायी गणतन्त्र हो । अयोग्य नेतृत्वको समाधान सक्षम नेतृत्व हो, न कि गणतन्त्रको विकल्प राजतन्त्र ।
कांग्रेसले राजतन्त्रको पुनरागमनमा आफ्नो ऊर्जा खर्च गर्ने होइन । उसले गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्छ ।
आज नेपाली जनतामा असन्तुष्टि छ । राजनीतिक दलहरूप्रति निराशा छ । राज्यप्रति अविश्वास छ । तर, जनताको असन्तुष्टिलाई राजतन्त्रको पक्षमा भएको जनादेशका रूपमा पढाउनु गलत हो । जनताले राजनीतिक दलहरूलाई सुधार्न चाहेका छन् । राज्यलाई उत्तरदायी बनाउन चाहेका छन् । लोकतन्त्रलाई मजबुत बनाउन चाहेका छन् । जनताको निराशालाई राजतन्त्रात्मक व्यवस्थाको हिलोमा पुनः धकेल्न चाहनु जनताकै जनादेश, भावना र मर्मको अपमान हो ।
कांग्रेसको भविष्य पछाडि फर्कनुमा होइन, अगाडि बढ्नुमा छ । त्यसैले नेपाली कांग्रेसले आज आफैँलाई प्रश्न सोध्नुपर्छ– के ऊ आफ्नो भविष्यलाई अतीतमुखी बहसमा खुम्च्याउन चाहन्छ वा भविष्यमुखी क्षितिज निर्माणमा लगाउन चाहन्छ ?
नेपालमा गणतन्त्र स्थापित भइसकेको छ । तर, गणतन्त्रको संस्थागत संस्कृति अझै निर्माणाधीन छ । लोकतन्त्रको सामाजिक आधार अझै कमजोर छ । आर्थिक असमानता छ । स्रोतसाधनको वितरण असमान छ । सङ्घीयता अपूर्ण छ । नागरिक अधिकारको प्रश्न जीवित छ । मधेस, पहाड र हिमालबीचको असमानता अझै समाप्त भएको छैन ।
यिनै प्रश्नहरू कांग्रेसका वास्तविक प्रश्न हुन् । कांग्रेसले राजतन्त्रको पुनरागमनमा आफ्नो ऊर्जा खर्च गर्ने होइन । उसले गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्छ । गणतन्त्रलाई विद्यालयमा लैजानुपर्छ । गणतन्त्रलाई गाउँमा लैजानुपर्छ । गणतन्त्रलाई किसानको खेतमा लैजानुपर्छ । गणतन्त्रलाई श्रमिकको जीवनमा लैजानुपर्छ ।
कांग्रेसलाई जरातर्फ फर्कन आवश्यक छ, तर त्यो जरा राजतन्त्रमा छैन । कांग्रेसको जरा जनताको लोकतान्त्रिक आकाङ्क्षामा छ । र, नेपाली जनताको त्यो आकाङ्क्षाको सबैभन्दा स्पष्ट राजनीतिक नाम हो– गणतन्त्र ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसरी बाहिरिएको थियो त्रिवि एमबीएसको प्रश्नपत्र
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
-
हिमालयन १०० एडिसन–३ चेसको उपाधि सन्देशलाई
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण