शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

वीरगन्ज नाका अघोषित रुपमा खुल्यो, यसरी भित्रिन्छन् भारतबाट सामान

बुधबार, १३ माघ २०७२, १५ : ३४
बुधबार, १३ माघ २०७२
वीरगन्ज– आन्दोलनरत मधेसी दलको अवरोधका कारण ठप्प रहेको वीरगन्ज नाका ‘अघोषित’ रुपमा खुल्ला भएको छ । वीरगन्ज रक्सौलको दशगजा क्षेत्रमा रहेको मितेरी पुलमा विगत चार महिनायता मधेसी मोर्चाले धर्ना दिँदै आएपनि केहि दिनयता भारतको रक्सौलबाट मालसामान सहज रुपमा नेपाल भित्रिन थालेको छ । मोर्चाले यातायातका साधनलाई भित्रिन नदिएपनि महिनौ देखि भारतको रक्सौलमा रोकिएका मालसामान भरियामार्फत नेपाल भित्र्याउन दिएको छ । यसरी सामान ल्याउँदा मोर्चाले कुनै अवरोध नगरेको एक व्यापारीले रातोपाटीलाई जानकारी दिए । भारतको रक्सौलबाट ठेला, साइकल, मोटरसाईकल, टांगा र टायरगाडामा लोड गरेर ल्याइएको मालसामान मितेरी पुलबाट छेउमा रहेको पुरानो पुल मुनि झारिन्छ । त्यहाँबाट व्यपारीहरुले ती सामान भरिया मार्फत पुन धर्नास्थलमा बसेका आन्दोलनकारीहरुको छेउबाट मितेरी पुल हुदै ठेला र रिक्सामा लोड गरेर वीरगन्ज भन्सार कार्यालयमा पुर्याउने गरेका छन् । यसो त कारोबारी र व्यापारीहरुले आयात गरेको पोकामा रहेको सामानको रक्सौल कस्टमले सहज रुपमा जाँचपास दिने गरेको छ । नाकाबन्दी शुरु भएका बखत भारतीय कस्टमले नेपाल भित्रिने सामानको जाँचपास रोकेको थियो । दुई साता यता भने रक्सौल कस्टमले नेपाल आयात हुने सामानको सहजै जाँचपास दिने गरेको छ । यसअघि व्यपारीहरुले रक्सौलबाट रातिको समयामा मात्रै ठेला, साइकल, मोटरसाईकल, टांगा र टायरगाडामा सामान भित्रयाउदै आएका थिए । त्यतिबेला मोर्चाले अवराधे गर्ने भएकाले निकै चुनौति हुने गरेको थियो । सामान भित्रने क्रममा अवरोध गर्दा आन्दोलनकारी र व्यपारीहरुबीच पटक पटक झडप समेत भएको थियो । केही दिन यता भने व्यपारीहरुले दिउसै ठेला, साइकल, मोटरसाईकल, टांगा र टायरगाडामा मालसामान भित्रयाउदा पनि आन्दोलनकारीहरुले अवरोध गर्न छाडेका हुन् । गत शनिबार भएको संविधान संशोधनपछि सरकारले मधेसी दलको माग पुरा भएको दाबी गर्दै आएको छ । तर, मोर्चाले भने सबै माग पूरा नभएको भन्दै आन्दोलन नरोकिने बताउँदै आएको छ । यद्यपी मोर्चाभित्र पनि आन्दोलनलाई अव कसरी अघि बढाउने भन्ने विषयमा विवाद आआफ्नो तर्क हुँदै आएको छ । मोर्चामा एक समुहले आन्दोलन अब फिर्ता छिट्टै आन्दोलन फिर्ता लिने बताउँदै आएको छ भने अर्को समुहले माग पूरा भइनसकेकाले थप आन्दोलन चर्काउने बताउँदै आएको छ । सोमबार मात्रै काठमाडौंमा आयोजित एक कार्यक्तममा मोर्चाका दुई समुहका नेताले एकै मन्चमा फरकफरक तर्क पेश गरेका थिए । कार्यक्रममा मोर्चाको एक घटक तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मोर्चाको नाकाबन्दीसहितको आन्दोलनमा पुनर्विचार हुने बताएका थिए तर तमलोपाका महामन्त्री जितेन्द्र सोनलले संविधान संसोधनकै आधारमा नाकाबन्दी खोल्ने स्थिति नबनेको बताएका थिए । यादवले अबको आन्दोलन तराईमात्रै केन्द्रीत नभई पहाड र हिमालसम्म पुर्याएर राष्ट्रिय एकता कायम गर्ने दावी गर्दै आफूहरुले चलाएको अहिंसात्मक आन्दोलन असफल भए देश अर्को कोर्षमा जाने र त्यो बेला आन्दोलन आफूहरुको हातमा नरहने चेतावनी दिँदा महामन्त्री सोनलले भने संविधान संशोधनकै आधारमा नाकाबन्दी खोल्ने स्थिति नबनेको भन्दै नाकाबन्दी खुल्ने प्रोपागाण्डा मच्चाउनुको तुक नभएको बताएका थिए । यद्यपी मधेसी मोर्चाको आन्दोलनलाई सहयोग गरेको ठानिएको भारतले भने संशोधनको समर्थन गरिसकेको छ । इन्धन लगायत साना ठुला सवारी साधन भने अझैं भित्रिन सकेनन् पछिल्लो दिनमा वीरगन्ज नाकामा धर्नामा बस्ने आन्दोलनकारीहरुको संख्या पातलिदै गएको छ । जसका कारण आफूहरुलाई सामान भित्रयाउन सहज भएको एक व्यपारीले बताए । तर, रक्सौलबाट सहज रुपमा इन्धन लगायत साना ठुला सवारी साधन भित्रिन सकेको छैन । ति बाहेक दुई साता यता देखि तयारी पोशाक, हार्डवेयर, जुत्ता चप्पल, मोटरपार्टस, कपडा लगायलका सामानहरु भने सहज रुपमै वीरगन्ज भित्र्याउन सकिएको ति व्यापारीको भनाई छ । [caption id="attachment_27911" align="alignright" width="840"] file photo[/caption] वीरगन्ज नाकाहुँदै भारतबाट सामान भित्रिने क्रम बढेपछि वीरगन्ज भन्सार कार्यालयको राजश्व असुली बढदै गएको वीरगन्ज भन्सार कार्यालयका सुचना अधिकारी शुसिल शर्माले बताएका छन् । नाकाबन्दी शुरु भएपछि भन्सार कार्यालयको दैनिक राजश्व असुली २०÷२५ हजार रुपैयामै सिमित भएको थियो । तर, तीन साता यता भने दैनिक राजश्व असुली ३० लाख रुपैया देखि ३५ लाख रुपैया सम्म पुगेको सुचना अधिकारी शर्माले बताए । संविधान र सीमांकन प्रति असन्तुष्ट मधेसी दलले असोज ७ गतेदेखि वीरगन्ज रक्सौलको दशगजा क्षेत्रमा रहेको मितेरी पुलमा धर्ना दिएर नाका ठप्प पार्न सुरु गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप