शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

सरकारी कार्यालय नै तिर्दैनन् विद्युत् महसुल

बिहीबार, १४ माघ २०७२, १३ : १६
बिहीबार, १४ माघ २०७२

भक्तपुर– नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाअन्तर्गत विद्युत् महसुलबापत करिब रु १३ करोड आठ लाख बाँकी बक्यौता रहेको छ । सरकारी कार्यालयले नै विद्युत् प्रयोग गर्ने महसुल नतिर्ने गरेपछि बाँकी बक्यौता बढेको हो ।

विद्युत् महसुलबापत बाँकी बक्यौताका रूपमा रहेको उक्त रकममध्ये सबैभन्दा बढी भक्तपुर नगरपालिकासँग रु पाँच करोड ४५ लाख रहेको प्राधिकरण भक्तपुर शाखाले जानकारी दिएको छ ।

भक्तपुरका अन्य विभिन्न सरकारी कार्यालयसँग रु २९ लाख ६९ हजार, गुठी संस्थानअन्तर्गत रु १९ लाख ४६ हजार, जिल्लाका १६ वटा साबिक गाविस हाल नयाँ चारवटा नगरपालिकासँग रु ८३ लाख १९ हजार, सडक र विभिन्न मन्दिरको रु २१ लाख ४९ हजार, गुठी संस्थानअन्तर्गतकै तलेजु मन्दिरको रु १९ लाख र अन्य उपभोक्तासँग बाँकी बक्यौता रहेको कार्यालयका लेखा अधिकृत घनश्याम श्रेष्ठले जानकारी दिए ।

भक्तपुर नगरपालिकाले नगरभित्रको सडक क्षेत्रमा बालेको विद्युत् महसुल वर्षौंदेखि नतिरेका कारण धेरै रकम बाँकी बक्यौतामा रहेको उनले बताए ।

त्यसैगरी गुठी संस्थानअन्तर्गत पनि विभिन्न मठमन्दिर र अन्य क्षेत्रमा प्रयोग भएको विद्युत् महसुल वर्षौंदेखि नतिरेपछि बाँकी बक्यौता रहेको हो ।

प्राधिकरण शाखा प्रमुख विक्रम अमात्यले सर्वसाधारण नागरिकसँग भन्दा सरकारी कार्यालयसँग महसुलको बाँकी बक्यौता बढी रहेको बताउँदै जति पत्राचार गरे पनि त्यस्ता कार्यालयले महसुल नतिरी अटेर गरेर बसेको बताए ।

प्राधिकरण भक्तपुर शाखाले गत साउन महिनायता रु ३१ करोड ७३ लाख बराबरको विद्युत् बिक्री गरेकामा रु २९ करोड ५६ लाख सङ्कलन गरेको जानकारी पनि उनले दिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप