आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेस महाधिवेशनको रौनक : क्षेत्रीय प्रतिनिधि छान्न नगर अधिवेशन शुरु

शुक्रबार, १५ माघ २०७२, १३ : ०३
शुक्रबार, १५ माघ २०७२

नवलपरासी – नेपाली कांग्रेसको महाधिवेशनका लागी गाबिस र नगरपालिकाको प्रतिनिधि छान्ने काम आज शुरु भएको छ । गांँउ नगरपालिकामा बिहान दश बजेबाट नवलपरासीका सबै स्थानमा क्षेत्रीय प्रतिनिधि छान्ने काम बिना अबरोध शुरु भएको कार्यकर्ताहरुले बताएका छन् । नेपाली काँग्रेसको आसन्न १३ औँ महाधिवेशनका लागि गाउँ, नगर वडा र नगर अधिवेशन आज उत्साहका साथ हुँदैछ । जिल्लाका सबै गाविस, नगरपालिका र नगरपालिकाका वडाहरुमा एकैसाथ काँग्रेसको प्रारम्भिक तहको निर्वाचन हुन लागेको नेपाली कांग्रेस नवलपरासीले जनाएको छ । यस अधिवेशनमा सबै गाविस र नगर वडाबाट करिब १३ सय ५० क्षेत्रीय प्रतिनिधि तथा स्थानीय समितिका पदाधिकारी/सदस्य निर्वा्चित हुने काँग्रेस नवलपरासीका सचिव विष्णु लामिछानेले बताए । मुलुकमा २०५४ सालयता स्थानीय तहको निर्वाचन हुन नसकेको अवस्थामा हुन लागेको काँग्रेसको यस अधिवेशनले स्थानीय तहमा थोरै भए पनि प्रजातान्त्रिक अभ्यासमा जनसहभागिता बढाउने विश्वास लिइएको छ । निर्वाचनका लागि सबै ५६ वटा गाविस, ७ नगरपालिका, ६ वटा निर्वाचन क्षेत्रमा निर्वाचन सामग्रीका साथै निर्वाचन अधिकृतसमेत पठाइसकेको नेपाली काग्रेस नवलपरासीका प्रमुख निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले बताए । यो अधिवेशन पार्टीको प्रारम्भिक तहको निर्वाचन भए पनि पार्टीको जिल्ला र केन्द्रको नेतृत्व चयनका लागि आवश्यक पर्ने महाधिवेशन प्रतिनिधि चयनमा महत्वपूर्ण मानिन्छ । यतिखेर काँग्रेसका नेता कार्यकर्ता निर्वाचनमा सहभागी हुन आफ्ना गाउँ÷नगरमा केन्द्रीत भएका छन । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट केही अवरोध हुने आशंका भए पनि नवलपरासीमा त्यस्तो अवस्था नरहेको कांग्रेस कार्यकर्ता बताउँछन् । काँग्रेसको हरेक नगरपालिकाको वडा तहमा, गाविसको गाविस तहमा, निर्वाचन क्षेत्र र जिल्ला तहमा अधिवेशन भई कार्यसमिति गठन हुनेछ कुनै नगर वडा र नगर अधिवेशन एकै दिन गर्न असुविधा भए नगर अधिवेशन माघ १६ गते गर्न सकिने निर्वाचन समितिले जनाएको छ । त्यस्तै क्षेत्रीय अधिवेशन यही माघ २२ गते र जिल्ला अधिवेशन माघ २५ गते सम्पन्न गर्नुपर्ने निर्वाचन तालिका छ । केन्द्रीय महाधिवेशन भने आगामी फागुन २०, २१, २२ र २३ गते काठमाडौँमा हुनेछ । पार्टीको १३ औँँ महाधिवेशनका लागि नवलपरासीमा स्वीकृत कुल क्रियाशील सदस्य सख्या १३ हजार २६ रहेको छ । १२ महाविधेशनमा सात हजार सात सय ७ जना क्रियाशील सदस्य रहेको सचिव लामिछानेले बताए । गाविसको अधिवेशनबाट गाउँ कार्य समिति र क्षेत्रीय प्रनितिधि चयन हुन्छन् भने नगरका वडा अधिवशेनबाट वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन हुन्छन् । नगर अधिवशेनमा भने त्यस नगरका सबै क्रियाशील सदस्यले मतदान गरी नगर कार्य समितिको चयन गर्ने विधानमा व्यवस्था छ । नगरका वडा र गाउँ अधिवेशनबाट निर्वा्चित क्षेत्रीय प्रतिनिधिसहितले क्षेत्रीय कार्य समिति, जिल्ला कार्य समिति र महाधिवेशन प्रतिनिधिको चयन गर्छन् । महाधिवेशन प्रतिनिधिले महासमिति सदस्य र केन्द्रीय कार्य समितिको चयन गर्ने व्यवस्था विधानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप