शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

तीन दल र मधेसी मोर्चाबीच वार्ताः फेरि ब्यूतिने भयो कार्यदल

सोमबार, १८ माघ २०७२, २३ : २३
सोमबार, १८ माघ २०७२
काठमाडौ – विवादित विषयमा सहमति खोज्नको लागि गठन भएको आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारबीचको कार्यदललाई ब्यूत्याइने भएको छ । विगतमा कार्यदलमा भएको छलफललाई नै आधारमा वार्ता प्रकृया अगाडि बढाउनुपर्ने तीन दल र मधेशी मोर्चाबीच सहमति भएका हो । मधेशी मोर्चा र प्रमुख तीन दलबीच माघ ७ गते वालुवाटारमा वार्ता भएको थियो । तर त्यहाँ कुरा नमिलेपछि अनिश्चितकालका लागि वार्ता भंग भएका थियो । ९ गते सविधान संशोधन भएपछि वार्ताका लागि कहि कतैबाट पहल भएका थिएन । दलहरुको बीचमा संवादहिनताको अवस्था सृजना भएपछि तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष ह्रदयश त्रिपाठीले एमाआवादीका अध्यक्ष प्रचण्डलाई भेटेर वार्ताका लागि पहल लिन भनेपछि वार्ता प्रकृया अगाडि बढेको हो । त्रिपाठी र प्रचण्डबीच वार्ता भएपछि प्रचण्डले नेपाली काँग्रेसका सभापति सुशिल कोइराला र प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गरि मधेशी मोर्चासँगको वार्ता प्रकृया अगाडि बढाएका हुन् । उनले हिजो बसेको सरकार सञ्चालन उच्चस्तरीय राजनीतिक समितिको बैठकमा पनि मधेशी मोर्चासँग वार्तालाई अगाडि बढाउनु पर्ने प्रस्ताव राखेका थिए र संयन्त्रले समर्थन जनाएपछि आजदेखि वार्ता शुरु भएको हो । सिहदरवारस्थित राज्यव्यवस्था समितिको सभाकक्षमा सोमवार बसेको बैठकमा वार्ता र छलफलबाट समस्या समाधान गर्न दुवै पक्ष गम्भीर रुपमा अगाडि बढ्नु पर्ने कुराकानी भएको छ । प्रमुख तीन दलको कार्यदल र मधेशी मोर्चाको कार्यदलबीच बिगतमा भएको छलफललाई आधारमानी वार्ता प्रकृया अगाडि बढाउने बैठकमा सहमति गरेको मोर्चाका नेताहरुले जनाएका छन् । एमाओवादी प्रचण्डले कार्यदलमा विगतमा भएका सहमतिबाट नै वार्ताको प्रकृया अगाडि बढाउनु पर्ने दुई पक्षमा आज सहमति भएको बताउँदै आन्दोलनरत दलसँग गम्भीर ढंगबाट वार्ता गरि विवाद चाँडै समाधान गर्नुपर्नेमा सबैको चिन्ता रहेको बताए । तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले कार्यदलको बीचमा भएको वार्ता जुन ठाउँमा गएर स्थगित भएको थियो त्यहीबाट पुनः वार्ता शुरु गर्ने सहमति भएको बताए । तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बृषेशचन्द्र लालले वार्ताप्रति तीन दल गम्भीर भएको पाइएको भन्दै अबको वार्ता टुगिंने गरि बस्नु पर्नेमा जोड दिए । अर्को बैठक माघ २१ गते बस्ने पनि उनले जानकारी गराए । काँग्रेसलाई अवरोध नगर्न आग्रह साथै, जिल्लाहरुमा भइरहेको काँग्रेसको अधिवेशनलाई मधेशी मोर्चाका कार्यकर्ताले विथोलिरहेको प्रति प्रचण्डले ध्यानाकर्षण गराएका थिए । बैठकमा अध्यक्ष प्रचण्डले सबैले आ–आफ्नो पार्टीको गतिविधि गर्न पाउनुपर्ने सबैको अधिकारको कुरा हो, त्यसलाई कसैले रोक्न वा विथोल्न नहुने भन्दै मधेशी मोर्चाका नेताहरुलाई ध्यानाकर्षण गराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप