शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

फरार अभियुक्त खोजी अभियान प्रभावकारी बन्दै

मङ्गलबार, १९ माघ २०७२, १२ : ४२
मङ्गलबार, १९ माघ २०७२
चितवन– जिल्ला प्रहरी कार्यालय चितवनले थालेको फरार अभियुक्त खोजी अभियान प्रभावकारी बन्दै गएको छ । जिल्लादेखि तल्लो एकाइसम्म सबै निकाय परिचालन भएपछि फरार अभियुक्त पक्राउ हुने क्रम बढेर गएको हो । प्रहरी प्रमुख वसन्तबहादुर कुँवरका अनुसार हालसम्म ५४ जना पक्राउ परिसकेका छन् । जिल्ला अदालत चितवनले फरार रहेका दुई हजार १२८ अभियुक्तको खोजीका लागि जिल्ला प्रहरी कार्यालय, चितवनमा पत्राचार गरेको थियो । जसअन्तर्गत कैद जरिवाना असुल उपरका ४९ जना र मुद्दा फैसला नभएका पाँचजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा सबैभन्दा बढी वन मुद्दाका १४, कीर्ते जालसाजीका नौ, जुवाका नौ, सवारी ज्यानका पाँच र अपहरणका चारजना रहेका छन् । त्यसैगरी मानव बेचबिखन, कर्तव्य ज्यान, कुटपिट, ज्यान मार्ने उद्योग र वन्यजन्तुका दुई÷दुईजना रहेका छन् । त्यस्तै लागुऔषध, लेनदेन र कीर्तेका एक÷एकजना रहेको कार्यालयले जनाएको छ । तीमध्ये सबैभन्दा बढी जिप्रका चितवन र इप्रका रत्ननगरले १३÷१३ जना पक्राउ गर्न सफल भएको प्रमुख कुँवरले बताए । अन्य प्रहरीका विभिन्न एकाइबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेहरु २० वर्ष कैद फैसलासम्मका रहेका छन् । प्रमुख कुँवरका अनुसार फरार अभियुक्तहरु २०५६ साल यताका रहेका छन् । गाउँ गाउँमा रहेका त्यस्ता अभियुक्तलाई नियन्त्रणमा लिन अदालतका कर्मचारीसहित प्रहरीको विशेष टोलीसमेत परिचालन गरिँदैछ । उहाँका अनुसार यसै साताबाट साधन स्रोतको व्यवस्थासहित सादा पोसाकका प्रहरी परिचालन गरिँदैछ । जिप्रका चितवनले गएको भदौबाट अभियान सुरु गरेकामा पछिल्लो समय प्रभावकारी बन्दै गएको हो । फरार भनिएका अभियुक्त कतिपय बाहिर गएका छन् भने कतिपयको मृत्युसमेत भइसकेको हुन सक्ने कुँवरको अनुमान छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप