मनोहरा खोलामा दिनभर प्रहरी, रातभर तस्करी
भक्तपुर - भक्तपुर र काठमाडौंको सीमानाकाको रुपमा रहेको मनोहरा खोला एवम् आसपासका क्षेत्रबाट रातभर व्यापक रुपमा बालुवा चोरी हुने गरेको छ ।
खोला र आसपासका क्षेत्रबाट व्यापक बालुवा चोरी भएको गुनासो आएपछि भक्तपुरको दुवाकोटस्थित गुहेश्वरी गणबाट शसस्त्र प्रहरीको टोली खटिए पनि बालुवा चोरी निकासी भने रोकिएको छैन ।
मनोहरा खोलामा दिनभर शसस्त्र प्रहरी रहने र रातभरी तस्करीले कब्जा गर्ने स्थानीयवासीको गुनासो छ । स्थानीवासी भन्छन् ‘मनोहरा खोलामा दिनभर प्रहरी हुन्छ, रातभरी तस्करी हुन्छ, प्रहरी गएलगत्तै तस्करीले खोलासँगै भक्तपुर तर्फको क्षेत्रबाट व्यापक बालुवा निकालेर काठमाडौँ निकासी हुन्छ ।’
रातको करिब १० बजेपछि प्रहरी फर्कने र प्रहरी फर्किएपछि बालुवा तस्करीले खोलादेखि भक्तपुर तर्फको बालुवाको ढिस्को कब्जा गरेर बालुवा झिकेर काठमाडौँ लैजाने गरेको चाँगुनारायण नगरपालिका मनोहराका स्थानीयवासी रामशेखर श्रेष्ठले बताए ।
विगत वर्षमा भक्तपुर जिल्ला विकास समितिले खानी सञ्चालनको अनुमति दिँदा खोलाबाट बालुवा चोरी कम हुने गथ्र्यो । तर यसवर्ष भक्तपुर जिल्ला विकास समितिले बालुवा खानी सञ्चालनको अनुमति नदिएपछि अवैध रुपमा बालुवा चोरी निकासी व्यापक रुपमा बढेको हो ।
खोला नै भासिने गरी तस्करीले बालुवा चोरी गर्दा प्राकृतिक सम्पदा नष्ट भएको बताउँदै स्थानीयवासी रामशङ्कर फुयाँलले बालुवा चोरीका कारण खोलाले आफ्नो धार परिवर्तन गर्दा जिल्लाको सिमानासमेत मिचिएको बताए ।
शसस्त्र प्रहरी गुहेश्वरी गण दुवाकोटका प्रमुख प्रहरी उपरीक्षक राघवसिंह थापाले भने शसस्त्र प्रहरी बलले नै बालुवा चोरी नियन्त्रण गरेको दाबी गरे ।
उनले भने ‘‘मनोहरा खोलाको क्षेत्र र बालुवा झिक्ने एरिया धेरै भएकाले प्रहरी नपुगेको क्षेत्रमा कतै चोरी भएको भए थाहा भएन तर शसस्त्र प्रहरीले २४ सैघण्टा ड्युटी गरेर बालुवा चोरी निस्तेज पारेको छ, चोरी छ भने अझै पनि कडाई गर्नेछौ ।’’
बालुवा चोरी गरेर बिक्रीका लागि लैजादै गरेको २५ वटा भन्दा बढी चोरीका बालुवा बोकेका गाडीलाई नियन्त्रणमा लिएर भक्तपुर जिल्ला विकास समितिलाई बुझाएको उनले बताए ।
जिल्ला विकास समिति भक्तपुरका स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरीले यसवर्ष भक्तपुरका सबै बालुवा खानी बन्द भएको बताए ।
मनोहरा खोला र आसपासका क्षेत्रबाट बालुवा चोरी निकासी हुने गरेको गुनासो आएपछि प्रहरीको सहयोग मागेको बताउँदै पुरीले प्रहरीले त्यस्ता व्यक्ति र गाडीलाई नियन्त्रण गरी जिविसलाई बुझाउने गरेको बताए ।
भूकम्पले भत्काएका घर तथा भवनको पुनःनिर्माणको काम सुरु भएपछि उपत्यकामा व्यापक रुपमा बालुवाको माग भएको तर भक्तपुरका बालुवा खानी बन्द भएपछि तस्करीले मनोहरा खोला र आसपासका बालुवाको ढिस्कोलाई निसाना बनाएर बालुवा तस्करी गर्ने गरेको स्थानीयवासीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण