मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

न्यानो रकम नदिने सरकारले घर बनाउँछ भनेर कसरी पत्याउने ?

बिहीबार, १३ फागुन २०७२, ०९ : ५७
बिहीबार, १३ फागुन २०७२

मेलम्ची - सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा जाडोका लागि वितरण गरिएको रु १० हजार राहत रकम भूकम्पपीडितले फागुन लाग्दासमेत पाउन सकेका छैनन् ।

नगरपालिकाको १ देखि १५ नं वडासम्ममा जम्मा १७ हजार ४०८ घरधुरी छन् जसमा दुई हजार ७८ घरधुरीले अझै राहत रकम पाएका छैनन् ।

नगरपालिकाभित्रकै वडा नं १० र ११ मा अझै रकम वितरण सुरु गर्ने छाँटकाँट देखिँदैन । यी दुई वडामा न्यानो कपडा खरिदका लागि भनेर अहिलेसम्म कुनै रकम वितरण भएको छैन ।

सरकारले गर्मी मौसम सुरु भइसक्दा पनि रकम वितरण नगरेकोमा भूकम्पपीडित मर्कामा परेको मेलम्ची नगर विकास समितिका सदस्य प्रकाश दाहाल बताउँछन् ।

नगरपालिकाका १५ वटा वडामा आठ हजार ६३१ घरधुरीलाई विभिन्न सङ्घसंस्था र नेपाल सरकारबाट गरी जम्मा रु १२ करोड ९६ लाख ६० हजार वितरण गरिएको मेलम्ची नपाका प्रशासन प्रमुख कृष्ण ज्ञवालीले जानकारी दिनुभयो ।

नगरपालिकाभित्रका वडा नं १२ र १३ बाहेक अन्य बाँकी रहेका १३ वटा वडाका दुई हजार ७८ घरधुरीले राहत रकम नपाएको गुनासो गरेका छन् ।

मेलम्ची नगरपालिका वडा नं १५ का रामकाजी देउजा भन्छन् –“जाडोका लागि दिने भनिएको रकम अहिलेसम्म दिन नसक्ने सरकारबाट पुनःनिर्माणका लागि सहयोगको आशा कसरी गर्ने, जाडोको रकम वितरणका लागि त यति धेरै समय लगाउनेले वर्षा लाग्नु अगाडि नै घर बनाउँछ भनेर कसरी पत्याउने ?”

मेलम्ची नपाका कार्यकारी अधिकृत पूर्णप्रसाद दुलालले अहिलेसम्म रेडक्रसले मेलम्ची नगरपालिका वडा नं १२ र १३ मा एक हजार १५०, नगरपालिका र अन्य संस्थाको सहयोगमा सात हजार ४८१ घरधुरीलाई रु १० हजार वितरण गरेको र बाँकी अन्य दुई हजार ७८ घरधुरीलाई नपुग रकम जिल्ला दैवी प्रकोप उद्धार समितिमा रकम माग गरिएको बताए ।

प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दवाडीले नपुग रकम केन्द्रमा माग गरिएको र रकम आउनेबित्तिकै वितरण गरिने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप