शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रभन्दा पृथक पहिचान खोज्ने प्रवृत्ति गलत : प्रधानमन्त्री

आइतबार, २३ फागुन २०७२, १९ : ४६
आइतबार, २३ फागुन २०७२

काठमाडौँ - साझा प्रकाशनद्वारा प्रकाशित राजनीतिक तथा साहित्यकार प्रदीप ज्ञवालीद्वारा लिखित ‘सांस्कृतिक रुपान्तरण ः एक विमर्श’ नामक पुस्तकको आज यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले लोकार्पण गरेका छन् ।

प्रधानमन्त्री ओलीले ऐतिहासिक र नेपाली मौलिकताको प्रवद्र्धन गर्दै वैज्ञानिक समाज अनुकूल राष्ट्रिय मर्यादित संस्कृति निर्माणमा लाग्नुपर्ने बताए । उनले भने, “राष्ट्रभन्दा पृथक पहिचान खोज्ने प्रवृत्ति गलत छ, पुर्खाले मेहनत गरेर बनाएको संस्कृतिलाई उन्नत र वैज्ञानिक बनाउनुपर्छ, यसमा परिवर्तनका लागि केही समय लाग्छ ।”

प्रधानमन्त्री ओलीले आर्थिक रुपमा डुबेको साझा प्रकाशनलाई माथि उठाउन सरकारबाट सहयोग हुने प्रतिबद्धता पनि दोहोराए ।

कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले संस्कृतिको संरक्षण र रुपान्तरणलाई जीवनका रङ्गसँग जोडेर प्रयोग गर्नुपर्नेमा जोड दिए ।

व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाले संस्कृति संरक्षण र साहित्यिक उन्नयनका लागि सरकारले पहल गर्नुपर्ने बताए ।

पुस्तकका लेखक ज्ञवालीले मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि सांस्कृतिक रुपान्तरण नभएको सन्दर्भमा पुस्तक लेखिएको बताए ।

पुस्तकका समीक्षक वासुदेव अधिकारी र तुलसी दिवसले राजनीतिक र संस्कृतिबीचको सहसम्बन्ध जोड्न र समुन्नत समाज तथा संस्कार निर्माणमा पुस्तक सहयोगी हुने टिप्पणी गरे । साझा प्रकाशनमा पहिलोपटक प्रधानमन्त्री

भाषा साहित्यको श्रीवृद्धिका लागि १९७० सालमा ‘गोर्खा भाषा प्रकाशिनी समिति’ हुँदै साझा प्रकाशन भएको सो संस्थाको पुल्चोकस्थित परिसरमा आज पहिलोपटक बहालवाला प्रधानमन्त्री पुगेका हुन् ।

प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले उत्साहित हुँदै विद्यालय तहका पाठ्यपुस्तक वितरणमा खोसिएको अधिकार पुनःबहाली हुनुपर्ने, एकपटकका लागि रु ४० करोड रकम अनुदान दिन आग्रह गरे । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप