ग्याँस कार्डधारी उपभोक्ताहरु अलमलमा
पोखरा –ग्याँसको आपूर्ति सहज वनाउने भन्दै पोखरा उपमहानगरपालिका कार्यालयले वितरण गरेको ग्याँस कार्ड अहिले धरापमा परेको छ । ग्याँस कार्ड वितरण गर्न अख्तियारी दिने निकाय र लागू गर्न तम्सिएका निकाय वीचको असमझदारीका कारण पोखरामा ग्याँस वितरण कार्य धराममा परेको हो । जसका कारण पोखरामा हाल वितरण भैसकेका ५२ हजार ग्याँस कार्डधारी उपभोक्ताहरु अलमल्ल परेका छन् । नगरपालिकाले छापेका १ लाख कार्ड मध्ये ४८ हजार कार्ड वितरण गर्न नै वाँकी रहेका छन् । कार्ड हातमा पाएका नागरिकले नै ग्याँस नपाएपछि प्रशासन र नगरपालिकाले नै उपभोक्तालाई अभावको वेला झन् झमेलामा पारेको गुनासो गरेका छन् । कार्ड वितरणको उदेश्य थियो एउटा उपभोक्ताले निश्चित समयका लागि एउटा ग्याँस सहजै हात पार्न सकोस् । तर व्यवहारमा कार्ड वाहेक नै पहुँच हुनेले दर्जनौ सिलिण्डर पाउने र पहुँच नभएकाले नपाउने अवस्था सृजना भएको पोखरा १५ का उपभोक्ता श्याम थापाले वताए । यसमा ग्याँस उद्योगीले पनि चासो नदिएको उनको भनाई छ । देशमा नाकावन्दी सँगै कास्कीमा ग्याँसको अभाव भएपछि यस अघिका पश्चिमाञ्चल क्षेत्रीय प्रशासक केदारवहादुर अधिकारीले सरोकारवाला निकायको वैठक नै डाकेर पोखरा र लेखनाथ नगरपालिका क्षेत्रका उपभोक्तालाई ग्याँस कार्ड वितरण गर्न निर्देशन दिएका थिए । ग्याँस कार्ड सौजन्यमा छपाई गर्ने र हरेक कर तिर्ने उपभोक्ताहरुलाई नगरपालिकाले निशुल्क कार्डको व्यवस्था गर्ने अख्तियारी सहित सो वैठकले नगरपालिकाहरुलाई निर्देशन दिएको वैठकमा सहभागी एकले वताए । वैठकले निर्देशन दिए लगत्तै पोखरा उपमहानगरपालिका कार्यालयले तत्काल १ लाख कार्ड छपाई गरेर वितरणको प्रक्रिया थालनी गर्यो । नगरपालिकाले ग्याँस कार्ड वितरणको लागि प्रतिकार्ड रु १० रुपैयाँ राखेर वडा सचिवलाई जिम्मा लगायो । वडा सचिवहरुले टोल विकास संस्थाका पदाधिकारीहरुलाई जिम्मा लगाउँदै कार्ड वितरण गरे । कतिपय वडाहरुले नगरपालिकाले तोकेकै दर रेट अनुसार रु १० मा कार्ड वितरण गरे भने कतिपय टोल विकास संस्थाहरुले सदस्य वनाउँदै १ हजार ५० रुपैयाँसम्म रकम असुली गरे । पोखराका ५२ हजार नागरिकको हातमा अहिले ग्याँस कार्ड छ । तर कार्ड लिएर ग्याँस विक्रेता डिलर कहाँ जाँदा ग्याँस नपाएको उपभोक्तले गुनासो गरेका छन् । पोखराको अर्चलवोटका वावुराम तिमिल्सिनाले ग्याँस कार्ड लिएपनि अहिलेसम्म कार्डको आधारमा ग्याँस नपाएको वताए । कार्ड लिएर जाँदा डिलरवालाले वास्तै गरेनन् उनले भने । उनी मात्रै होईन पोखराका ५२ हजार ग्याँस कार्डधारी उपभोक्ताको हालत अहिले यस्तै छ । ग्याँस छपाई गरेको पोखरा उपमहानगरपालिका कार्यालयले प्रशासनको आदेश अनुसार अहिले ग्याँस कार्ड वितरण स्थगित भएको जनाएको छ । “क्षेत्रीय प्रशासकले आदेश दिनुभयो हामीले १ लाख ग्याँस कार्ड छापेर वितरण गर्दै थियौं, फेरि जिल्ला प्रशासन कार्यालय कास्कीले वितरण स्थगित गर्न भन्यो त्यसैले अहिले अभियान रोकियो”–पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले भने । उनले नगरपालिकाले छपाएका ४८ हजार कार्ड वितरण स्थगित भएको जनाएका छन् । नगरपालिका कै दररेट अनुसार ५२ हजार ग्याँस कार्ड वापत रु १० का दरले रु ५ लाख २० हजार रकम उठेको कार्यकारी अधिकृत अधिकारीले वताए । उपभोक्तावाट उठेको सो रकम नगरपालिकाको विविध आम्दानी शिर्षकमा जम्मा भएको नगरपालिकाका कर अधिकृत शिवहरि शर्माले वताए । उनले ग्याँस कार्ड वितरणको रकम कार्ड वितरण शीर्षकमा नभई विविध शिर्षकमा नै दाखिला भएको जानकारी दिएका छन् । पोखरामा ग्याँस कार्ड वितरणमा अवरोध हुनु र वितरण गरिएका ग्याँस कार्डवाट ग्याँस नपाउनुमा घर धनी र एलपी ग्याँस विक्रेता संघ दोषी रहेको नागरिकहरुको भनाई छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद रेग्मीले ग्याँस कार्ड वितरण कार्य अहिलेका लागि रोकिएको वताए । उनले यो प्रक्रिया रोकिएपनि जारी हुने वताए । तत्काल ग्याँसको आपूर्ति राम्रो सँग नहुँदा ग्याँस पाउन समस्या भएपनि ग्याँस आउन थालेपछि सो समस्या आफै हटेर जाने उनको भनाई छ । यता घरधनीले भाडामा वस्नेको विवरण भरेर वुझाए वहाल कर तिर्नुपर्छ भन्ने वुझ्नु र एलपी ग्याँस विक्रेता संघले पनि कार्ड भएका उपभोक्तालाई वेवास्ता गरेका कारण उपभोक्ता ग्याँस कार्ड कार्यान्वयनमा समस्या आएको वताईन्छ । यता एलपी ग्याँस विक्रेता संघ कास्कीका महासचिव नारायणप्रसाद शर्माले सवै ठाउँमा ग्याँस कार्ड प्रयोग नभएपनि केही स्थानमा कार्ड प्रयोग भएको दावी गरे । उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोईरालाले कार्ड हातमा परेका उपभोक्ताले कार्ड कै आधारमा ग्याँस पाउनु पर्ने वताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण