काँग्रेस इतिहासमा पहिलोपटक सभापतिका लागि दोस्रो चरणको निर्वाचन
काठमाडौँ - नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा सभापति पदमा कुनै पनि उम्मेदवारले पार्टीको विधानतः बहुमत पु¥याउन नसक्दा काँग्रेस इतिहासमा पहिलोपटक सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुँदैछ ।
आइतबार राजधानीको राष्ट्रिय सभागृहमा नयाँ नेतृत्वका लागि भएको मतदानमा सभापति पदमा तीनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि सोमबार पुनः दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।
सोमबार बिहान करिब ५ः३० बजे सम्पन्न मतगणनाअनुसार सभापतिका प्रत्यासी वरिष्ठ नेता शेरबहादुर देउवाले एक हजार ५६४ र कावा सभापति रामचन्द्र पौडेलले एक हजार १५२ मत प्राप्त गरेका छन् ।
प्राप्त मत परिणामअनुसार वरिष्ठ नेता देउवाको अग्रता रहेपनि ११ मत नपुगेकाले पार्टी सभापति बन्न सकेनन् । सभापतिका अर्का प्रत्यासी महामन्त्री कृष्णप्रसाद सिटौलाले ३२४ मत प्राप्त गरेका थिए । जम्मा खसेको मतमा १०० मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
काँग्रेसको जिल्ला अधिवेशनमा गाउँका मतदाता कम आउने वा आफ्नो विपक्षका मतदाता आउन नदिने अनि थोरै मतान्तरले पनि जिल्ला सभापतिमा विजयी हासिल गर्ने विकृति बढ्दै गएपछि पार्टीमा यो व्यवस्था लागू गरिएको थियो ।
पोखरामा सम्पन्न १०औँ महाधिवेशनबाट यो व्यवस्था केन्द्रीय सभापतिका हकमा लागू गरियो । जसअनुसार केन्द्रीय सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत अनिवार्य ल्याउनुपर्ने व्यवस्था कायम गरिएको काँग्रेसको इतिहासका जानकार पुरुषोत्तम बस्नेतले बताए ।
काँग्रेसका यसअघिका महाधिवेशनमा सभापति पदमा दुईभन्दा बढी उम्मेदवारले प्रतिस्पर्धा गरेपनि यस्तो अवस्था भने कहिल्यै नआएको काँग्रेसका नेतासमेत रहेका इतिहासकार बस्नेतको भनाइ छ ।
विसं २०५७ मा पोखरामा सम्पन्न काँग्रेसको १०औँ महाधिवेशनमा नेताहरु गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र रामहरि जोशी सभापतिका उम्मेदवार थिए। जसमध्ये कोइराला सभापतिमा ठूलो मतअन्तरले विजयी भएका थिए ।
त्यस्तै, २०६१ सालमा काठमाडौँमा सम्पन्न ११औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइराला र नरहरि आचार्य उम्मेदवार रहेका थिए भने यसमा पनि कोइराला ठूलो मतअन्तरले विजयी भएका थिए । त्यसबेला काँग्रेस विभाजित हुनुका साथै नेता देउवा नेपाली काँग्रेस (प्रजातान्त्रिक) को सभापति थिए ।
काठमाडौँ मै २०६७ सालमा सम्पन्न पार्टीको १२औँ महाधिवेशनमा सभापति पदमा नेताहरु सुशील कोइराला, देउवा र भीमबहादुर तामाङले प्रतिस्पर्धा गरे पनि कोइराला पहिलो चरणमा नै विजयी भएका थिए ।
पार्टीको १३औँ महाधिवेशनमा सभापतिका तीनै जना उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरेपछि आज सोमबार अपराह्न २ बजेदेखि ५ बजेसम्म राष्ट्रिय सभागृहमा पुनः मतदान हुने समितिका सचिव प्रदीप पराजुलीले जानकारी दिए ।
सभापतिको दोस्रो चरणको निर्वाचनमा पहिलो दुई जनाबीच मात्र प्रतिस्पर्धा हुने विधानको व्यवस्थाबमोजिम कावा सभापति पौडेल र वरिष्ठ नेता देउवाबीच प्रतिस्पर्धा हुने भएको छ । पहिलो चरणको निर्वाचनमा महामन्त्री कृष्णप्रसाद सिटौलाले सबैभन्दा कम मत प्राप्त गरेकाले उहाँ दोस्रो चरणको निर्वाचन प्रक्रियाबाट बाहिरिएका छन् ।
आइतबार बिहान ८ः४५ बजेदेखि सुरु भएको मतदान कार्य राति करिब १० बजे मात्रै सम्पन्न भएको थियो भने कुल तीन हजार १६१ मतदातामध्ये सभापति पदामा तीन हजार १४८ ले मतदान गरेको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण