राष्ट्र प्रमुख महिला हुँदैमा महिला हक ग्यारेन्टी हुँदैन : सभासद जयन्ती राई
भोजपुर– सभासद् एवम् नेकपा (एमाले) नेत्री जयन्ती राईले एक नेपाली महिला राष्ट्र प्रमुख बन्दैमा बाँकी सबै महिलाको हकअधिकारको ग्यारेन्टी हुन नसक्ने बताएका छन् ।
एक सय छ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भोजपुरको सदरमुकाममा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले अधिकारका लागि महिलाले अझै सङ्घर्ष गर्नुपर्नेमा जोड दिए ।
राज्यको हरेक तहमा ३३ प्रतिशत महिला आरक्षण कोटा रहे पनि व्यावहारिकरुपमा लागू हुन नसकेको बताउँदै अवसर प्राप्तिका लागि महिला चुलाचौकामै सीमित रहेर बसेको दाबी गरे ।
दिनानुदिन नेपालले भौतिक र शैक्षिक विकासमा गति लिँदै गए पनि पितृसत्तात्मक समाजमा महिला मुद्दाको सवालमा भने पुरुष र समाजले हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन आउन नसकेको गुनासो गरे ।
उनले महिलाले बोक्सीको आरोपमा, दाइजो नल्याएको निहुँमा ज्यूँदै मर्नुपर्ने जस्ता महिला हिंसाको तितो यथार्थ समाजमा यथावत रहेको औँल्याए । पूर्व सभासद् समेत रहेकी राईले नेपाली महिला वंश र अंशको बरोबर हिस्सेदार, समान काम समान ज्यालाका लागि विगत लामो समयदेखि सङ्घर्षरत रहेको र बल्ल ६४ वर्षपछि नयाँ संविधानमा लेख्न सफल भएको प्रष्ट पारे ।
उनले सबै महिलालाई नयाँ संविधानमा अधिकार कार्यान्वयन, बाँकी अधिकार प्राप्ति र कर्तव्य पालनामा हरसमय निष्ठावान् बन्न आग्रह गरेका छन् ।
‘लैङ्गिक समानताका लागि पाइला हाराहारी, सन् २०३० सम्म हिस्सा बराबरी, संविधानलाई व्यवहारमा उतारौँ महिला अधिकार सुनिश्चित गरौँ’ भन्ने मूल नाराका साथ भोजपुर जिल्लामा विविध कार्यक्रमका साथ दिवस सम्पन्न भएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण