अमेरिका र इराकबिच ४८ वटा सम्झौता
इराक । इराकले प्रधानमन्त्री अली अल–जैदीको अमेरिका भ्रमणका क्रममा अमेरिकी कम्पनीहरूसँग ४८ वटा सम्झौता तथा साझेदारीमा हस्ताक्षर गरेको छ । तीमध्ये अधिकांश सम्झौता तेल क्षेत्रसँग सम्बन्धित रहेको प्रधानमन्त्रीको कार्यालयले शनिबार जनाएको छ ।
तेल स्रोतमा धनी भए पनि इराक दशकौँ लामो युद्ध र राजनीतिक अस्थिरताबाट प्रभावित हुँदै आएको छ । कमजोर पूर्वाधार, सार्वजनिक सेवाको अभाव, व्यवस्थापकीय कमजोरी र भ्रष्टाचारका कारण देशको आर्थिक सुधार चुनौतीपूर्ण बनेको छ ।
मध्यपूर्वमा जारी द्वन्द्वका कारण तेल निर्यात प्रभावित भई राजस्वमा कमी आएपछि इराकले तत्काल आर्थिक सुधारका उपाय अघि बढाउनुपर्ने अवस्था रहेको छ । “इराक र संयुक्त राज्य अमेरिकाका सार्वजनिक तथा निजी क्षेत्रका निकायबीच ४८ वटा सम्झौता, समझदारीपत्र, सहयोग सम्झौता र साझेदारीसम्बन्धी घोषणा भएका छन्”, प्रधानमन्त्रीको सञ्चार कार्यालयले जनाएको छ ।
सम्झौतामा इराकका तेल तथा विद्युत् मन्त्रालय र अमेरिकी कम्पनीहरू एक्सनमोबिल, केबीआर, जीई भेर्नोभा, शेल र हलिबर्टनबीचको सहकार्य तथा साझेदारी समावेश छन् ।
यसैगरी, इराक र सिरियाबीच कच्चा तेल ढुवानीका लागि मुख्य पाइपलाइन निर्माणसम्बन्धी केही सम्झौता पनि भएका छन् । इराकले स्याटेलाइट सञ्चार सेवा प्रदायक स्टारलिङ्कसँग देशमा सेवा सञ्चालन गर्ने सम्झौता गरेको जनाएको छ ।
मङ्गलबार ह्वाइट हाउसमा भएको भेटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जैदीको प्रशंसा गर्दै उहाँलाई ‘च्याम्पियन’ को सङ्ज्ञा दिएका थिए ।
व्यवसायी पृष्ठभूमिका जैदी अर्का उम्मेदवारलाई ट्रम्पले अस्वीकार गरेपछि यसैवर्ष अमेरिकी समर्थनमा सत्तामा आएका हुन् । उनले इराकको कमजोर अर्थतन्त्र सुधार गर्ने तथा अमेरिकी प्रतिष्ठानमाथि आक्रमण गर्दै आएका इरान समर्थित सशस्त्र समूहलाई निशस्त्र पार्ने प्रतिबद्धता जनाएका छन् ।
इराकले लामो समयदेखि आफ्ना प्रमुख सहयोगी अमेरिका र छिमेकी इरानको परस्पर विरोधी प्रभावबिच सन्तुलन कायम गर्दै आएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण