शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बाबुरामले भने, ‘नेपाल निर्माणमा मधेशीको योगदानलाई विज्ञानले पनि पुष्टि गरेको छ’

बुधबार, २६ फागुन २०७२, १३ : ५८
बुधबार, २६ फागुन २०७२

काठमाडौ— डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले नयाँ नेपाल निर्माण गर्ने अभियानका बहस शुरु गरेको छ । यही क्रममा उनले नयाँ नेपाल निर्माणमा मधेशीको भूमिका रहेको कुरा विभिन्न तथ्यहरु दिएर पुष्टि गर्ने प्रयास गरेका छन् ।

नेपाल निर्माणमा मधेसी समूदायको भूमिका रहेको ऐतिहासिक दस्तावेजहरु प्रस्तुत गर्दै उनले तथ्य र तर्कसहितको राजनीतिक गर्न आग्रह समेत गरे । डा.भट्टराईले काठमाडौ (नेपाल) निर्माणमा मधेशी (गोपालवंश) को योगदान रहेको दावीसहित फागुन २४ गते राजधानीमा त्यस विषयमा बहस नै चलाए । ‘नेपाल निर्माणमा गोपालवंशीको योगदान’ विषयक सो अन्ततरक्रिया कार्यक्रममा नेता रामचन्द्र झाले कार्यपत्र प्रस्तुत गरेका थिए । भट्टराईले आफ्नो मन्तव्य दिने क्रममा खाल्डोको रुपमा रहेको काठमाडौं उपत्यकाको पानी बगेपछि उपत्यका घाँसे मैदान भएको र समथर भूभागबाट आएका पशुपालकहरुले त्यहाँ वस्ती बसाएपछि राज्य स्थापना भएको दावी गरे । पशुपालकहरु तराईबाट आएको दावी गर्दै उनले नेपाल निर्माणमा मधेशी (गोपालवंशी) को भूमिको रहेका कुरा कसैले नकार्न नमिल्ने पनि धारणा राखे । खास आर्यले मात्र नेपाली हौं भनि ठान्नु गलत रहेको उल्लेख गर्दै संयोजक भट्टराईले नेपाल निर्माणमा मधेशीको योगदानलाई विर्सन नहुने बताए । नेपालमा निर्माणमा मधेशीको योगदान रहेको कुरा इतिहासले मात्र होइन, विज्ञानले पनि प्रमाणित गरेको उल्लेख गर्दै उनले यो कुरा जीनबाट पनि पत्ता लगाउन सकिने बताए । ‘मधेशीहरुले पनि चित्त दुखाउन हुँदैन,’ मधेशीहरुले पनि नेपाल निर्माणमा योगदान रहेको कुरालाई स्मरण गर्दै उनले नयाँ नेपाल निर्माणमा योगदान दिनुपर्ने धारणा राखेका थिए । दस्तावेजले के भन्छ ? उपत्यका घाँसे मैदानको रुपमा विकसित भएपछि उपत्यकाको तल्लो तटीय क्षेत्र जो ‘विदेह गणराज्य’ को रुपमा हजार वर्षभन्दा पहिलेदेखि अस्तित्वमा थियो । त्यस ठाउँका पालक (गोपाल वंशी) हरु आ–आफ्नो पशुहरुको लागि उपयुक्त चरणक्षेत्रको खोजीको क्रममा उपत्यका प्रवेश गरी आफ्ना पशुहरुसँगै बस्न थाल्दा यहाँ ‘पशुपतिनाथ’ को स्थापनाका साथै ‘नेपाल’ नामक राज्यको बस्ती बसाल्ने कामको थालनी भएको कार्यपत्र प्रस्तोता झाले दावी गरेका छन् । उनले आफ्नो कार्यपत्रमा लेखेका छन्, ‘गोपाल वंशीहरुको थर प्रायः जसो नेपाली इतिहासकारहरुले गोपालवंश यो थर ‘गुप्त’ भनि लेखेका छन् । गुप्त थर प्रायः वैश्य समुदायको हुने गर्दछ, यादव वा गोपालवंशीहरु थर प्राय ‘गोप’ पुरानो जमानामा लेख्ने गरिएको अतः उक्त थर ‘गोप’ हुनुपर्दछ ।’ गोपाल र महिषपाल मिलाएर ७ सय वर्ष उनीहरुले शासन गरेको ऐतिहासिक चर्चा गर्दै झाले गोपाल वंशीले एकसय ६१ वर्ष दुई महिना शासन गरेको दावी कार्यपत्रमा गरेका छन् । जसमा श्री वातसिंह ४९ वर्ष, जय सिंह ७१ वर्ष २ महिना, त्रिभुवन सिंह ४१ वर्ष गरी तीन जनाले क्रमैसँग राज्यसञ्चालन गरेको कार्यपत्रमा उल्लेख छ ।

‘नेपाली राष्ट्रियता विकासको गोरेटोहरु ‘विदेह गणराज्य’ हुँदै आएको देखिन्छ, चाहे त्यो गोपालवंशीहरुद्वारा ‘महिषपाल’ हरुदेखि लिच्छवी, ‘सेन वंशी’ तथा कर्नाटवंशी समेतको आगमन मिथिला क्षेत्र हुँदै कला–संस्कृति, वास्तुदेखि नेपालको निर्माणमा समेत मिथिला क्षेत्रको वृहद् योगदान रहँदै आएको छ’, कार्यपत्रमा भनिएको छ । कार्यपत्रमाथि कांग्रेस नेता प्रदीप गिरीले नेपाल निर्माणमा मधेशीको योगदान रहेपनि मधेशमाथि विभेद इरहेको टिप्पणी गरे । उनले तराईमा रहेका बुद्ध र जानकीलाई आफ्नो भन्ने तर त्यहाँको जनतालाई नेपाली नठान्ने विडम्बना नेपालमा रहेको टिप्पणी गरे । उनले भने, ‘बुद्ध हाम्रो हो भन्छन्, तर बुद्ध बस्ने ठाउँका जनता नेपाली होइन भन्ने सोच गलत हो ।’ नेपालमा मधेशी, जनजाति र खसआर्य गरि तीन कलस्टर रहेको उल्लेख गर्दै उनले राज्यसत्तामा उच्च जातिको मात्र पकड रहेको टिप्पणी गरे । कार्यपत्रमाथि त्रिविका पूर्व प्राध्यापक इतिहासविद् त्रिरत्न मानन्धर, राजविराज क्याम्पसका इतिहासका प्राध्यापक डा.पिताम्बर लाल यादवले पनि टिप्पणी गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप