इन्धनको अभावमा नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारमा ढिलाइ
चितवन– नाकाबन्दी खुलेपनि इन्धन आपूर्ति सहज हुन नसक्दा सवारी रोकेर काम थालेको नारायणगढ–मुग्लिन सडकखण्ड फराकिलो बनाउने कार्य लक्ष्य अनुरुप हुनसकेको छैन ।
हरेक दिन दिउँसो चारघण्टा यातायात आवागमन बन्द गरेर काम अगाडि बढाइएको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यातायात आवागमन बन्द गरेर काम गरिँदै आएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार काम तीव्रगतिमा गर्न दैनिक चार हजार ५०० लिटर डिजेल आवश्यक पर्दछ ।
हाल दैनिक एक हजार ५०० लिटरको हाराहारीमा मात्रै ठेकेदारले डिजेल उपलब्ध भइरहेको उनको भनाइ छ । स्थानीय प्रशासनको सिफारिसमा नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट डिजेल ल्याएको भए पनि आवश्यकताको ३३ प्रतिशत मात्रै आपूर्ति भएको छ । “ठूला उपकरण पूर्णरुपमा सञ्चालन हुन नसक्दा सोचेजति काम हुन सकेको छैन” उहाँले भन्नुभयो ।
निर्माणलाई तीव्रता दिन सो सडकमा दैनिक ३५० जना मजदुर तथा ८५ जना व्यवस्थापकीय जनशक्ति खटिएको छ । यस्तै १९ वटा स्काभेटर, ६ वटा लोडर, पाँचवटा जेसीबी र ३६ वटा ट्रिपर कामका लागि प्रयोग गरिएका छन् । हाल सो सडकमा भित्ता काट्ने, पर्खाल लगाउने, माटो भर्ने, कल्भर्ट राख्ने जस्ता काम भइरहेका छन् ।
कालिखोलादेखि मुग्लिनसम्म र सेतीदोभान र घुमाउनेमा पहाड फोरेर बाटो चौडा गर्ने काम भइरहेको छ । सो क्षेत्रमा हाल पाँच मिटर चौडा कालोपत्रे बाटो रहेको छ भने ९ मिटर फराकिलो कालोपत्रे सडक निर्माण गरिँदै छ । सडकबन्द भएका बेला मुग्लिनमा र रामनगरमा सवारीसाधन रोक्ने गरिएको छ । सम्झौता भएको २४ महिना सन् २०१७ को अप्रिलसम्म निर्माणसक्ने सर्त भएको जानकारी दिँदै खनालले भूकम्पको असर र इन्धनको अभावको कारण अहिले १० प्रतिशत काम मात्र सकिएको बताए ।
विश्व बैंकको रु दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । एसियन हाईवेअन्तर्गतको ए एच ४टु खण्ड नारायणगढ मुग्लिन सडकखण्ड पर्दछ । इन्जिनियर खनालकाअनुसार चीन हुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा नौबिसे, मुग्लिन नारायणगढ, हेटौंडा र वीरगन्जबाट भारतको मुजफ्फरपुर हुँदै जाने यो सडक एसियन हाईवेको एक खण्ड हो ।
आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ ।
काठमाडौंबाट तराईका जिल्ला बाहिरिने र भित्रिने मुख्य सडक भएकाले यो सडक व्यस्त रहने गर्दछ । इन्धन समयमै सहज आपूर्ति हुन नसके लामो समयसम्म सवारी रोकेर सडक निर्माण गर्नुपर्ने देखिएको छ । सबै उपकरण चल्नसके वैशाख १५ गतेसम्ममा मुख्य मुख्य काम सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि सो अनुरुप काम हुनसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण