शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मन्त्री सिंहले भने– निर्वाचन आयुक्तमा राजा महेन्द्रको आत्मा प्रवेश गरेको छ

बुधबार, २६ फागुन २०७२, १७ : ५०
बुधबार, २६ फागुन २०७२
काठमाडौ–पार्टी खारेजीमा परेका खानेपानी तथा सरसफाई मन्त्री एवम् समाजवादी जनता पार्टीका अध्यक्ष प्रेम बहादुर सिंहले निर्वाचन आयोगलाई सत्तोसराप गरेका छन् । उनले आज पत्रकार सम्मेलनको आयोजना गरि निर्वाचन आयोगले संविधान र कानून विपरित आफ्नो दल खारेज गरेको आरोप लगाउँदै त्यसका विरुद्ध बिहीबार सर्वोच्च अदालत जाने चेतावनी दिएका छन् । मन्त्री सिंहले आफूले २०७० सालमा नै निर्वाचन आयोगमा आयव्ययको विवरण बुझाएको भए पनि निर्वाचन आयोगमा रेकर्ड नराखेको आरोप लगाउँदै आफूसँग भएको तथ्याङक भुँईचालोमा परेर नष्ट भएकोले बुझाउन नसकेको बताए । उनले संसदीय सुनवाई नभएका प्रमुख आयुक्त अयोधि प्रसाद यादवको पार्टी खारेज गर्ने आधिकार नभएको भन्दै संवैधानिक हैसियतमाथि प्रश्न उठाए । उनले कुनै पनि राजनीतिक दलले आय व्यय विवरण नबुझाउँदा सचेत गर्ने वा १०० रुपैया जरिवान गर्ने व्यवस्था रहेकोमा कसैलाई सोही अनुसार र कसैलाई बदनीयतपूर्ण काम आयुक्तले गरेको आरोप लगाए । मन्त्री सिंहले भने, ‘कानूनको समान प्रयोग भएन । कसैलाई दलदर्ता ऐन अनुसार र कसैलाई निर्वाचन आयोग ऐन अनुसार कारवाही भयो ।’ संविधानको धारा २७० ले दलमाथि प्रतिबन्ध लगाउन नपाउने स्पष्ट व्यवस्था हुँदा हुँदै निर्वाचन आयोगले राजा महेन्द्रको शैलीमा आफ्नो पार्टी खारेज गरेको आरोप उनले लगाए । उनले निर्वाचन आयुुक्तमा राजा महेन्द्रको आत्मा प्रवेश गरेर वितण्डा मच्याउने काम भएको पनि टिप्पणी गरे । मन्त्री सिंहले नजिर बसाएर राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाएर तर्साउने योजना रचिएको दावी गर्दै लोकतान्त्रिक मुलुकमा राजनीतिक दल खारेज गर्ने निर्णय विडम्बनापूर्ण भएको भन्दै राजनीतिक दललाई खारेज गर्ने ग्राईण्ड डिजाईन अन्र्तगत यो गरिएको परिक्षण भएको पनि दावी गरे । मन्त्री सिंहले राजनीतिक दलहरु दलदर्ता ऐन अनुसार दर्ता हुने हुँदा कारवाही पनि दल दर्ता ऐन अनुसार नै हुनु पर्नेमा बदनीयतपूर्ण ढंगले निर्वाचन ऐन अनुसार गरिएकोले यो गैरकानूनी र गैरसंबैधानिक भएको दावी गर्दै संविधानले समान संरक्षणको हक दिएकोले यो त्यस विपरित भएको ठोकुवा पनि गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप