शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

७४ लाख ७० हजार रुपैयाँ ठगी भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग

शनिबार, ०२ साउन २०८३, १५ : ४९
शनिबार, ०२ साउन २०८३

सारांश

  • उदयपुरकी सरिता कार्कीले ७४ लाख ७० हजार रुपैयाँ ठगी भएको दाबी गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेकी छन् ।
  • कार्कीले पाँच वर्षअघि काभ्रेस्थलीमा ४ आना जग्गा खरिदका लागि ५४ लाख रुपैयाँ बैना दिए पनि जग्गा नामसारी नभई उमामाया तामाङ फरार भएको बताइन् ।
  • अदालतले घरजग्गा रोक्का गर्ने आदेश दिए पनि पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा तामाङ, च्याउँकीमाया तामाङ र ज्योति विकास बैंकको मिलेमतोमा लिलाम प्रक्रिया अघि बढाएर सम्पत्ति सकार गराइएको आरोप कार्कीले लगाएकी छन् ।

काठमाडौँ । उदयपुरको चौदण्डीगढी नगरपालिका निवासी सरिता कार्कीले आफू ७४ लाख ७० हजार रुपैयाँ बराबरको ठगी तथा अन्यायको सिकार भएको दाबी गर्दै सम्बन्धित निकायसँग निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेकी छन् ।

कार्कीले शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी पाँच वर्षअघि काठमाडौँको तार्केश्वर नगरपालिका–स्थित काभ्रेस्थली, जितपुर फेदीमा रहेको ४ आना जग्गा खरिदका लागि उमामाया तामाङको नाममा सञ्चालित रियल स्टेट कम्पनीमार्फत ५४ लाख रुपैयाँ बैना बुझाएकी थिइन् । तर जग्गा नामसारी नभई उमामाया तामाङ फरार भएको उनले बताइन ।

उनका अनुसार, उक्त विषयमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । अदालतले २०८० वैशाख २८ गते उमामाया तामाङ र उनकी आमा च्याउँकीमाया तामाङको नाममा रहेको घरजग्गा रोक्का गर्ने आदेश दिएको उनले जनाइन् ।  उमामाया तामाङविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको पीडित कार्कीले बताइन् ।

कार्कीले अदालतको आदेश हुँदाहुँदै पनि पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा तामाङ, च्याउँकीमाया तामाङ तथा ज्योति विकास बैंकको मिलेमतोमा लिलाम प्रक्रिया अघि बढाइएको आरोप लगाएकी छन् । उनका अनुसार लिलाम प्रक्रियाबारे थाहा पाएपछि आफूहरू ज्योति विकास बैंकको नेपालटार शाखामा पुगेर सो बारे ध्यानाकर्षण गराएको उनको कथन छ ।

‘सम्पत्ति लिलाम हुने भए हामी दोस्रो रोक्कावाल पक्ष भएकाले बैंकसँग घरजग्गा सकार्ने पाउनु पर्छ भन्ने इच्छा व्यक्त गरेका थियौं’ कार्कीले भनिन्  ‘तर शाखा व्यवस्थापकले ‘जग्गा धनीले पैसा तिर्छु, लिलाम नगरिदिनु भएको छ, त्यसैले तत्काल लिलाम नहुने भयो, लिलाम गर्ने अवस्थामा तपाईहरुलाई जानकारी गराउँछौँ भनेर झुक्यायो ।’

झुट्टा आश्वासनमा दिएर बैंकले ३ महिनापछि कुनै सूचना नदिई लिलाम प्रक्रिया सम्पन्न गरी लामाको नाममा सम्पत्ति सकार गराइएको उनको दाबी छ । कार्कीले उक्त घटनाको निष्पक्ष छानबिन गरी संलग्नमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेकी छन् ।

सो विषयमा दुर्गा प्रसाईंको वार्ता समिति सदस्य कुमार बस्नेतले कानुनी प्रक्रिया पुर्‍याएर पीडित अगाडि बढ्दा पनि कसैले न्याय नदिनु कानुनी राजको खिल्ली उडेको बताए ।

जेनजी लक्ष्मी दवीले जनताले ठुलो आश गरेको वर्तमान सरकारले समेत पीडितको पक्षमा काम नगरेको आरोप लगाइन् । कार्कीले शुक्रबार दुर्गा प्रसाईँको पत्रकार सम्मेलनमा पीडा व्यक्त गरेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप