शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मणिचूड क्षेत्रलाई पर्यटकीयस्थलमा विकास गर्न माग

शुक्रबार, ०३ वैशाख २०७३, १४ : २८
शुक्रबार, ०३ वैशाख २०७३

काठमाडौँ– काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा पर्ने ऐतिहासिक, धार्मिक, पर्यावरणीय र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मनमोहक वातावरण रहेको मणिचूड क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने अभियान सुरु भएको छ ।

राजधानीबाट २५ किमीको दूरीमा रहे पनि एकीकृत विकास, प्रचारप्रसार र प्रवद्र्धन हुन नसक्दा ऐतिहासिक स्थल मणिचूड गुमनाम छ । मणिचूड राजाको राज्य क्षेत्र रहेको यो स्थल बुद्धको तपोभूमि हो । सिद्धार्थ गौतम जन्मनुभन्दा धेरै वर्षअघिदेखिको प्राचीन इतिहास बोकेको यो क्षेत्रको विकासमा राज्यको ध्यानाकर्षण गराउन पर्यटन क्षेत्र घोषणा गर्ने अभियान सञ्चालन गरिएको हो ।

सांसद रामेश्वर फुयाँल बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मणिचूड क्षेत्रको एकीकृत गुरुयोजना नै बनाएर अघि बढ्नुपर्ने आवश्यकता देख्छन्।

“बौद्ध परिपथको निर्माण र मणिचूडलाई यसको मुख्य अङ्ग बनाइनुपर्छ, यसका लागि संसद्मा ध्यानाकर्षण पत्र दर्ता गरेको छु, छलफलको क्रममा छ, बुद्धको जन्मथलो लुम्बिनी–स्वयम्भू–बौद्धनाथ–मणिचूड–नमोबुद्ध र बोधगयासमेत जोडेर बौद्ध परिपथको निर्माण गरी प्रचारप्रसार र प्रवद्र्धन गर्न सके राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकलाई नेपाल भित्र्याउन सकिन्छ” – उनले भने ।

जननेता मदन भण्डारी र मनमोहन अधिकारीसँग चुनाव प्रचारका क्रममा मणिचूड पुग्दा सूर्योदयको दृश्य देखेको स्मरण गर्दै उनले त्यही बेलादेखि आफू यस स्थलको पर्यटन विकासमा लागेको सुनाए । घरबास होम स्टेको निर्माण, स्थानीय कला संस्कृतिको जगेर्ना, पूर्वाधारको विकास गरी अघि बढ्नुपर्नेमा यस क्षेत्रका स्थानीयवासीको जोड रहेको छ ।

साँखुका इतिहासकार प्रकाशमान श्रेष्ठ ‘सक्व’ले मणिचूडको ऐतिहासिक तथ्यको खोजतलास गरी प्रचारप्रसार र विकासमा लाग्नुपर्ने औंल्याए । “सिद्धार्थ गौतम जन्मनुभन्दा धेरै अघि मणि राजाको राज्यक्षेत्र रहेको इतिहास छ, राजाले शिरमा मणिधारण गरेर आउँदा सबै रोग निको हुने गरेको इतिहासमा उल्लेख छ” – उनले भने । मणिचूडको ऐतिहासिक विशेषतालाई बचाइराख्न सबै एकजुट भएर साझा अभियान सञ्चालन गर्नुपर्ने आवश्यकतामा उनले जोड दिए ।

स्थानीय वीरबहादुर घलान मणिचूडलाई पर्यटकीय क्षेत्र घोषणा गरी पूर्वाधार विकास गर्न सरकारको ध्यान जानुपर्ने बताउँछन् । ‘मणिचूड जाऔँ, पर्यटन क्षेत्र प्रवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ अभियान सञ्चालन गर्न लागिएको उनले बताए ।

साँखुबाट सात किमी माथि शङ्खरापुर नगरपालिका वडा नं १२ को शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको मणिचूडमा पदमार्गको विकास गर्न सके स्वदेशी एवम् विदेशी पर्यटकलाई थप आकर्षण गर्न सकिने स्थानीयवासीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप