शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चितवनमा खादामात्रै १९ करोडको बिक्री, काँग्रेसद्वारा खादा प्रयोगमा प्रतिबन्ध

आइतबार, ०५ वैशाख २०७३, १८ : ४४
आइतबार, ०५ वैशाख २०७३

चितवन -  नेपाली काँग्रेस चितवनले आफ्ना कार्यक्रममा खादाको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

जलाउँदा वातावरणमा असर गर्ने र गाड्दा पनि नकुहिने भएकाले खादा प्रयोगलाई निरुत्साहित गर्न यस्तो निर्णय गरेको काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए । आजदेखि नै यसलाई कार्यान्वयनमा ल्याएको उनले बताए ।

जमिनमा पुरेको खण्डमा समेत कृषि र माटोमा समेत असर गर्ने देखिएको र ढलमा अड्किएको अवस्थामा पनि वातावरणमा असर गरेको पाइएकाले खादा प्रयोग नगर्न काँग्रेसले आफ्ना कार्यकर्तालाई समेत निर्देशन दिएको छ । यसको विकल्पमा गम्छा उपयुक्त हुने जनाइएको छ ।

अन्य विकल्पमा फूलमाला, पिपलको पातजस्ता वस्तु प्रयोग गर्दा उपयुक्त हुने भन्दै यस्तो निर्णय गरिएको श्रेष्ठले जानकारी दिए । विभिन्न क्षेत्रमा खादाको प्रयोग गर्नु नहुने भन्दै यसअघि आवाज उठिरहेका बेला काँग्रेसले भने यस्तो निर्णय नै गरेको हो ।

यसले ठूलो मात्रामा नेपाली पैसा विदेश गइरहेको समेत काँग्रेसले जनाएको छ । स्वदेशी उत्पादनलाई प्राथमिकता दिनसमेत काँग्रेस चितवनले आह्वान गरेको छ ।

वातावरणमा समेत खादाले असर गरिरहेको जनाइएको छ । जिल्लामा उत्पादित फोहरमा खादा अत्यधिक देखिएको छ ।

जिल्लामा गएको वर्ष करिब १९ करोडको खादामात्रै बिक्री भएको तथ्याङ्क आएकाले यसरी पैसा खेर नफाल्नसमेत आग्रह गरिएको श्रेष्ठले बताए । आफू पनि नलगाउने र अरुलाई पनि नलगाइदिने घोषणा गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप