हतियार बनाउने मेसिनसहित पूर्व माओवादी लडाकु पक्राउ
धनगढी - जिल्ला प्रहरी कार्यालय कैलालीले अवैध हातहतियार बनाउन प्रयोग गरिने मेसिन र अन्य सामग्रीसहित एक जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
सल्यान जिल्ला परिडाँडा–२ कोडवाडा स्थायी ठेगाना भई हाल कैलालीको मसुरिया–२ इन्द्रपुर बस्ने ३९ वर्षीय राजेश भन्ने बाबुराम विकलाई आइतबार निजकै घरबाट पक्राउ गरिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए । विशेष सूचनाका आधारमा गएको प्रहरी टोलीले विकलाई पक्राउ गरेको हो ।
विक कैलालीको तालबन्दस्थित माओवादी लडाकुको तत्कालीन सातौँ डिभिजन कार्यालयबाट स्वैच्छिक अवकास लिएका पूर्व छापामार रहेको प्रहरी उपरीक्षक विष्टले बताए ।
विसं २०५३ देखि उनी हतियार बनाउने र पुरानो हतियार मर्मत गर्ने कार्यमा संलग्न रहेको बताइएको छ । विकको साथबाट हातहतियार बनाउन प्रयोग हुने मेसिन एक थान, हतियार बनाउने तरिकाबारे जानकारी दिने पुस्तक, एसएलआर राइफलको म्याग्जिन, ३०३ राइफलको म्याग्जिन, पेस्तोलमा प्रयोग हुने म्यागजिन, नलकटुवा पेस्तोल, सर्टगन कार्टिज पाँच थान, ३०३ राइफलको गोली पाँच राउन्ड र खोका ११ थान बरामद गरिएको छ ।
यसैगरी, बेसाबुद अवस्थाको सर्टगन, भरुवा बन्दुकको कुन्दा आकारमा तयार भएको काठको कुण्डा, भरुवा बन्दुकको नाल तीन थान, १२ बोर बन्दुकको बट्टा एक थान, भरुवा बन्दुकको नाल बनाउन प्रयोग हुने फलाम दुई थानका साथै हतियार बनाउन प्रयोग हुने किलाकाटी, स्प्रिङ्गलगायतका सामग्रीसमेत बरामद गरिएको छ ।
विकमाथि हातहतियार तथा खरखजाना ऐन २०१९ बमोजिम तीन देखि पाँच वर्षसम्म कैद वा रु ६० हजारदेखि रु एक लाखसम्म जरिवाना हुने प्रहरी उपरीक्षक विष्टले बताए ।
पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका विकले माओवादीको सातौँ डिभिजन कार्यालय, तालबन्द, कैलालीमा आफू कार्यरत रहेको बेला यी सामग्री ल्याएको पत्रकारलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण