शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नेपालमा साटेको भारु नक्कली परेपछि चार शिक्षकसहित ५ जना भारतमा पक्राउ

मङ्गलबार, ०७ वैशाख २०७३, १७ : ५४
मङ्गलबार, ०७ वैशाख २०७३

चितवन - भारतीय मुद्रा सहज रुपमा पाउन नसक्दा नेपाली ठगिने मात्र होइन नक्कली परेर कारबाही पनि भोग्दै आएका छन् । यसको पछिल्लो सिकार पश्चिम चितवनको ज्योति नगरमा रहेको युवा माध्यमिक विद्यालयका शिक्षक र कर्मचारी बनेका छन् ।

सो विद्यालयका प्रध्यानाध्यापक रामनाथ घिमिरेका अनुसार गत चैत २९ गते भारतको नौतनवामा भ्रमण सकेर फर्कने क्रममा किनमेल गर्दा नेपालमा साटेर लगेको भारतीय नोट नक्कली परेपछि एक परिचर र चार शिक्षक पक्राउ परे । उनका अनुसार शिक्षकहरु अम्बिका घिमिरे, जीबाखर ढकाल, कृष्णचन्द्र सापकोटा, शिवभक्त पण्डित र परिचर अच्युत घिमिरे पक्राउ परेका हुन् ।

विद्यालयको वार्षिक परीक्षा सकेर शिक्षक र कर्मचारीसहित २३ जना चैत २३ गते यहाँबाट भारतको आग्रा, मथुरा, वृन्दावनलगायतका क्षेत्रको भ्रमणमा निस्किएका थिए ।

नेपाल फर्कने दिन उनीहरु नौतनवा बजार छिरेको प्रधानाध्यापक घिमिरेले बताए । सामान किन्ने बेलामा तीनवटा पसलमा दिएको भारतीय नोट नक्कली भएको भन्दै व्यापारीले प्रहरी बोलाएपछि उनीहरुलाई १२ हजार भारुसहित पक्राउ गरियो बताए । बिरामी रहेकाले प्रधानाध्यापक घिमिरे भने भारत गएनन् ।

भारत जान उनीहरुले स्थानीय चित्रवन नगरपालिका वडा नं १४, सिसहीकी आरती चौधरीसँग सो रकम साटेर लगेको बताएका छन् । ती महिलासहित भरत श्रेष्ठ र रामप्रसाद श्रेष्ठलाई चितवन प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताउनुभयो । उनीहरु तारेखमा छन् ।

उता पक्राउ परेकाहरुको पेशी अप्रिल २६ तारेखमा रहेको र सोका लागि वकिल राख्ने काम भएको शिक्षक महासङ्घ चितवनका अध्यक्ष ध्रुव पोखरेलले बताए । मुद्दालाई सहयोग पुग्ने गरी स्थानीय प्रशासन, प्रहरी र जिल्ला शिक्षा कार्यालयबाट पत्रसमेत बनाएर पठाएको उनले बताए । अन्य जो कोही पनि ठगिन सक्ने हुँदा सजग हुन विद्यालयमा शिक्षकमार्फत सूचित गरिएको अध्यक्ष पोखरेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप