शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सुरक्षाको सुनिश्चितता नभएसम्म महिलालाई घरेलु कामदारका रुपमा विदेश पठाउन दिन्न : मन्त्री बोहरा

मङ्गलबार, ०७ वैशाख २०७३, १९ : २०
मङ्गलबार, ०७ वैशाख २०७३

काठमाडौँ - श्रम तथा रोजगारमन्त्री दीपक बोहराले यथास्थितिमा महिला कामदारलाई घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा पठाउन नसकिने बताएका छन् ।

‘वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका’ विषयमा आज श्रम मन्त्रालयले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा मन्त्री बोहराले भने – “वैदेशिक रोजगारीमा जानुअघि महिला कामदारको सुरक्षाको पूर्व सुनिश्चितता नभएसम्म ह्वारह्वार्ती पठाउने काम म मन्त्री हुन्जेल हुँदैन ।”

उनले हरेक दिन वैदेशिक रोजगारीमा रहेका महिला विदेशमा अलपत्र परेको, शारीरिक यातना पाएको, पारिश्रमिक नपाएकोजस्ता कुरा सुनिने गरेको भन्दै ठोस मापदण्ड बनाएरमात्रै महिला कामदार पठाइने स्पष्ट पारे ।

कार्यक्रममा श्रम मन्त्रालयका सचिव विष्णु लम्सालले अहिले वैदेशिक रोजगारी हो कि मानव तस्करी हो छुट्याउनै गाह्रो पर्ने गतिविधि भइरहेको भन्दै त्यसलाई सच्याउन आवश्यक रहेको बताए । परराष्ट्र मन्त्रालयका सहसचिव दीपक अधिकारीले संस्थागत श्रम स्वीकृति खुला गरिए पनि व्यक्तिगत श्रम स्वीकृतिबाट महिलालाई वैदेशिक रोजगारीमा पठाउने कार्य बन्द गरिनुपर्ने सुझाव दिए ।

महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले अहिले विभिन्न मुलुकमा अलपत्र परेका महिला कामदारको पहिले उद्धार गरेरमात्रै थप कामदार पठाउनेबारे निर्णय लिइनुपर्ने बताए ।

वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव रोहन गुरुङले गन्तव्य मुलुकसँग श्रम सम्झौता नगरी महिलालाई वैदेशिक रोजगारीमा पठाउन नहुने धारणा राखे ।

कार्यक्रममा श्रम मन्त्रालयका सहसचिव आभा श्रेष्ठले ‘वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७२’ लाई संशोधनसम्बन्धी नयाँ बुँदाका बारेका जानकारी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप