शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सडक दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा श्रद्धाञ्जलीसभा

सोमबार, १३ वैशाख २०७३, १३ : ५५
सोमबार, १३ वैशाख २०७३

काठमाडौं– हलेसी प्रतिष्ठान खोटाङले केही समयअघि खोटाङमा सडक दुर्घटनामा परी ज्यान गुमाउने २५ यात्रुको सम्झनामा श्रद्वाञ्जलीसभा गरेको छ । खोटाङको महादेवस्थान गाविसअन्तर्गत काभ्रेमा गत चैत ३० मा भएको सडक दुर्घटनामा परी ज्यान गुमाउने २५ यात्रुको स्मरण गर्दै १२औं पुण्य तिथि पारेर श्रद्वाञ्जलीसभा गरिएको कार्यक्रम संयोजक सयन्द्र राईले बताए । श्रद्वाञ्जलीसभामा खोटाङ जिल्ला क्षेत्र नम्बर १ सांसद पाँचकर्ण राईले २०७२ को अन्तिम दिन भएको सडक दुर्घटनाले जिल्लावासी ठूलो शोकमा परेको बताए । दुर्घटनास्थल पुगेर घाइते तथा मृतकको उद्वार गरेका सांसद राईले मृतकको चीर शान्तिको कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका थिए । उनले दुर्घटनाबारे छानबिन भइरहेको भन्दै घटनाको कारण खुलेपछि सतर्कता अपनाउनुपर्ने सुझाए । फरक प्रसंगमा, सांसद राईले निर्वाचनताका पार्टीविशेष प्रतिनिधि रहे पनि निर्वाचनपछि आफू सबैको साझा प्रतिनिधि भएको प्रस्ट्याए । जिल्ला विकासका लागि पार्टीविशेषमात्रै नभएर सबैको एकमत हुनुपर्नेमा उनले जोड दिए । उनले जनताले तिरेको करबाट जागिर खाएर जनतालाई नै सास्ती दिने कर्मचारीेको प्रवृत्ति अन्त्य नभएसम्म विकासको गति बढ्न नसक्ने औंल्याए । श्रद्वाञ्जलीसभामा खोटाङ सेवा समाज काठमाडौं अध्यक्ष राकेश राई, हलेसी प्रतिष्ठा पूर्वअध्यक्ष तारा राई, यातायात व्यवसायी खोटाङ अध्यक्ष गणेश शाहीलगायतले आ–आफ्नो धारणा राखेका थिए । दुई चरणमा सम्पन्ने कार्यक्रमको पहिलो चरणमा २५ मृतकको नाममा दियो बालेर १ मिनेट मौनधारण गरिएको थियो । दोस्रो चरणमा हलेसी प्रतिष्ठानलाई अमूल्य सहयोग गर्ने सदस्यलाई आजीवन सदस्यता तथा विभिन्न व्यक्तिलाई सम्मानसमेत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप