मन्त्री सापकोटालाई कार्यकर्ताको प्रश्नै–प्रश्न : प्रधानमन्त्रीले सबै मुद्दाको जिम्मा लिएको मन्त्रीद्वारा खुलासा
काभ्रे – वन तथा भूसंरक्षण मन्त्री अग्नीप्रसाद सापकोटा समक्ष काभ्रेका एमाओवादी कार्यकर्ताहरुले धेरै गुनासा र सवालहरु गरेका छन् । बनेपामा सम्पन्न मन्त्री र कार्यकर्ताहरुबीचमा सोमबार सम्पन्न अन्तरक्रिया कार्यक्रममा कार्यकर्ताहरुले मन्त्री सापकोटा समक्ष गुनासा र सवालहरु गरेका हुन् ।
अन्तरक्रिया कार्यक्रममा एमाओवादी जिल्ला अध्यक्ष दिनानाथ गौतम र सचिव इन्द्रबहादुर थिङले समेत गुनासो पोखेका थिए ।
अध्यक्ष दिनानाथले पोखे असन्तुष्टि एकीकृत माओवादीका काभ्रे जिल्ला अध्यक्ष गौतमले जिल्ला पार्टी मन्त्रीहरुको कामप्रति जिल्ला पार्टी सन्तुष्टि नरहेको गुनासो पोखे । आफू मातहतका कर्मचारी मन्त्रीहरुले आफू खुसी गरेको प्रति उनले आपत्ति जनाए । ‘आफू मातहातका कर्मचारी सरुवा गर्दा मन्त्रीहरुले आफू खुसी र आफ्ना मान्छेहरु ल्याउने कि जिल्ला पार्टीले सिफारीस गरेका व्यक्ति ल्याउने ?’ उनले मन्त्री सापकोटालाई सोधे ।
पार्टी सचिव छिन्ताङको पनि गुनासो एमाओवादी काभ्रे सचिव इन्द्रबहादुर थिङ (छिन्ताङ)ले पनि मन्त्रीसामु गुनासो पोखे । ‘हाम्रो मन्त्रीहरु असफल भए, पार्टी असफल भए किन ?’ उनले धेरै प्रश्न गरे, ‘५४ दरबन्दी प्रहरीमा खोले, प्रत्येक जिल्लाबाट छनौट गर्दा एक जिल्लाबाट ७० जनासम्म छनौट हुन सक्थ्यो । तर, हामीले सिफारिस गरेको मान्छे एउटा पनि परेन । हामीले सिफारिस गरेका जति २ वटा प्रश्न सोध्दै फ्याँकेको रहेछ । यो किन भयो ?’ त्यतिमात्रै होइन सरकारको ५ सय जना भूकम्प पीडित बालबालिकाहरुलाई छात्रवृत्ति दिने योजना रहेकोमा हामीले काभ्रेबाट सिफारिस गरेकाहरुले छात्रवृत्ति किन पाएनन् ? भनेर छिन्ताङले सोधे ।
सानोभन्दा सानो कुराले पार्टी सञ्चालनमा धेरै समस्या आएको भन्दै मन्त्रीहरुको कार्यशैली फेर्नुपर्ने उनले बताए । भूकम्प पिडित लागत संकलनमा आफ्नो पार्टी कार्यकर्ता र समर्थकहरु धेरै छुटेको गुनासो गर्दै लागत संकलनमा पनि एमालेका विद्यार्थी संगठनका मान्छेहरु पठाएकोले दिनभरि लागत संकलन गरे, बेलुका छनौट गरेर हाम्रा मान्छेहरु फ्याँक्ने कामहरु भएको तर सरकारमा बसेकाहरुले केही गर्न नसकेको उनको गुनासो थियो । ‘राष्ट्रिय योजना आयोजकमा हामीले योजना पठाएका छौं, यो योजना पर्नै पर्छ ।’ मन्त्री सापकोटा सामु योजना सामु गर्दै उनले भने ।
तर, कार्यक्रममा मन्त्री सापकोटाले अध्यक्ष र सचिवको गुनासो र सवालको भने जवाफ दिएका थिएनन् । त्यसो त कार्यकर्ताहरुले उठाएको अधिकांश सवालहरुको जवाफ पनि दिएका थिएनन् ।
मन्त्रीहरुले प्रभावकारी कार्य गर्न नसक्नुको कारणहरु कार्यकर्ताहरुले मन्त्रीहरुको प्रभावविहिन कार्यको आलोचना गरेपछि वनमन्त्री अग्नीप्रसाद सापकोटाले प्रभावकारी काम गर्न नसकेको स्वीकार्दै यसो हुनुको कारणहरु कार्यकर्ता समक्ष पेश गर्ने जमर्को गरे ।
सरकार सञ्चालनको लागि सबै भन्दा जटिल समस्या कर्मचारीतन्त्रमा रहेको उनले बताए । धेरैपटक मन्त्री भईसको सापकोटाले मन्त्रीपरिषद्मा गएकाहरुसँग अनुभवको समेत कमी रहेको बताए ।
‘हाम्रो पार्टीको कर्मचारीतन्त्रमा पकड पनि छैन र सरकार सञ्चालनमा हाम्रो अनुभव पनि छैन ।’ उनले भने, ‘यो परिस्थितिमा समेत कति काम गर्न सक्यौं र सक्छौं त भन्ने कुरा मुख्य हो ।’ कर्मचारीतन्त्र आफ्नो पकडमा नरहेकोले नीतिगत हस्ताक्षप, योजनागत हस्ताक्षप र कार्यक्रमिक हस्ताक्षप गर्नै कठीन भएको उनले बताए ।
सबै योजना पार्टीमा राख्न निर्देशन विकास निर्माण तथा अन्य योजनाहरु पार्टी हेडक्वार्टटर पेरिसडाँडामै पेश गर्न मन्त्री सापकोटाले कार्यकर्ताहरुलाई निर्देशन दिए ।
उनले आफू एउटा व्यक्ति मात्र भएको तर पार्टीले ल्याएको कुरा नै ठूलो भएकोले सबै कुरा पार्टी केन्द्रमा राख्नुपर्ने स्पष्ट पारे । ‘म त व्यक्ति हुँ, तपाईंहरुले भनेको कुरा बालशाली हुन्छ, त्यसैले भएका योजनाहरु पार्टी केन्द्रीय कार्यालयमा पेश गर्नुहोस् ।’ मन्त्री सापकोटाले भने ।
सरकार सञ्चालन गरेको ६ महिनामा आफूहरुले केही न केही गरेको जिकीर गर्दै मन्त्री सापकोटाले पार्टीको स्थायी समितिको निर्देशन पूर्ण रुपमा पालन गर्ने प्रतिबद्धता जाहेर गरे ।
डढेलो रोक्ने प्रयत्न भएको छ मन्त्री सापकोटासँग कार्यकर्ताहरुले देशैभरि डढेलो लागेको चिन्ता व्यक्त गर्दै डढेलो नियन्त्रण गर्न सरकार चुकेको गुनासो गरेका थिए । जवाफमा उनले आफूले ठूलै प्रयत्न गरेको जवाफ दिए । त्यसको लागि ठूलै अन्तरकृया कार्यक्रम समेत भईसकेको र योजना निर्माण गरि बजेटको लागि अर्थमन्त्रालयमा पेश समेत भईसकेको बताए ।
अरनीको राजमार्ग चाँडै खुल्ने कार्यक्रममा मन्त्री सापकोटाले अरनीको राजमार्ग चाँडोभन्दा चाँडो खुल्ने बताए । ‘अरनीको राजमार्ग छिटै खुल्छ ।’ उनले भने, चिनियाँ सरकारसँग सम्झौता भई नै सकेको छ ।’ सुरक्षाको दृष्टिकोणले खासालाई चिनियाँ सरकारले विशेष रुपमा हेरेको कारण खुल्न अलि समय लागेको उनले बताए ।
प्रधानमन्त्रीले सबै मुद्दाको जिम्मा लिएको खुलासा कार्यकर्ताहरुले सत्य निरुपण तथा मेलमिलाप आयोगले छानविन गर्नुपर्नेमा मुद्दाहरु अदालती प्रक्रियाबाट अघि बढाउन खोजे पनि सरकारमा बसेका मन्त्रीहरु र पार्टीचूप बसेको गुनासो गरेपछि मन्त्री सापकोटाले प्रधानमन्त्री केपी ओलीले सबै मुद्दाको जिम्मा लिएको खुलासा गरे । ‘एमालेको स्थायी समिति र एमाओवादीको स्थायी समिति अनि साथमा दुवैपार्टीको मन्त्रीहरुसमेतको संयुक्त बैठक बस्यौं ।’ उनले भने, ‘सबै मुद्दाको जिम्मा म लिन्छु भन्नुभएको छ प्रधानमन्त्री ज्यूले ।’
आफूमाथि काभ्रेको अर्जुन लामाको मुद्दा अदालतमा लगेकोमा त्यो मुद्दालाई समेत सत्य निरुपण तथा मेलमिलाप आयोगमा लाने प्रयत्न भएको उनले बताए । ‘त्यो मुद्दा टीआरसीमा गए सबै मुद्दा त्यतै जान्छ ।’
वैद्य बिना पार्टी एकता अधुरो कार्यकर्ताहरुले पार्टी एकता किन नभएको भन्ने प्रस्नमा मन्त्री सापकोटाले मोहन वैद्य विना पार्टी एकता गरे अधुरो रहने र सन्देश पनि पूर्णरुपमा राम्रो नजाने बताए । ‘वैद्य विना एकता त पहिल्यै भइसक्थ्यो तर उहाँ समेत आउँदा राम्रो हुन्छ ।’ उनले भने, ‘९९ प्रतिशत आए पनि बैद्य एकतामा नआए एकताको सन्देश जाँदैन ।’
एकदुई दिनमै पार्टी एकताको गृहकार्य सकिने भएकोले पार्टी एकता भने चाँडै हुने उनले दावी गरे । उनका अनुसार विश्व मजदुर दिवसका दिन पार्टी एकता संयोजन समितिको घोषणा हुने खुलासा गरे । एकता भएमा गुमेको पहलकदमी आफ्नो पार्टीको हातमा आउने र गम्भिर समिक्षा गर्दै रुपान्तरित र एकता भएमा अगाडि बढ्न सकिने कार्यकर्ताहरुलाई विश्वस्त पारे । पार्टी एकता नहोस् भनेर चारैतिरबाट षड्यन्त्र भएको उनको तर्क थियो ।
स्पीरिटमा अरु पार्टीभन्दा अगाडि मन्त्री सापकोटाले अरु जे जे भएपनि अरु पार्टी भन्दा आफ्नो पार्टी स्पीरिटमा अगाडि रहेको जिकीर गरे । कार्यकर्ताहरुले पार्टी विग्रेको आरोप लगाएपछि उनले आफ्नो पार्टी नसप्रिने गरि नविग्रीएको बताए । ‘अरुपार्टी भन्दा हाम्रो पार्टीको स्पीरिट राम्रो छ, हामी आवश्यकता पर्दा वलिदान दिनसक्ने तहमा छौं ।’ उनले भने, ‘हामी विग्रेकै हौं, हाम्रो पार्टी विग्रेकै हो, तर सप्रिनै नसक्ने गरि विग्रेका भने छैनौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण