शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

राहतको पर्खाइमा भूकम्पजनित मानसिक रोगी

सोमबार, १३ वैशाख २०७३, २० : १४
सोमबार, १३ वैशाख २०७३

काठमाडौं– गोरखा भूकम्प गएको वर्षदिन पूरा भयो । अझै नेपालीले वैशाख १२ गतेको त्यो विनाशकारी दिन भुल्न सकेका छैनन् । गृह मन्त्रालयका अनुसार गोरखा भूकम्पले नौ हजार ५५ नेपालीको ज्यान गएको थियो । तर बाँचेका जनताले अझै न त भरपर्दो साथ पाए नत वाचा अनुसारको राहत र उपचार नै । कतिले त एउटा पालसम्म नपाएको गुनासो गर्दै छन् ।

काठमाडौंको चाबहिलमा बस्ने पवित्रा पौडेलले राहतका नाममा अहिलेसम्म केही पाउनुभएको छैन । भूकम्पले आफ्ना आफन्तसँगै कार्यालयमा काम गर्ने १० जनाको निधन भएको पवित्राले भुल्न सकेका छैनन् । भुल्ने पनि कसरी भूकम्प आएका समयमा ज्यान बचाउन भाग्दै गर्दा उनका दुवै खुट्टा भाँचिएका छन् । जुन अझै निको भएको छैन ।

ज्योतिष काम गर्ने उहाँलाई त्यतिबेलाको भविष्य के होला भन्ने थाहा भएन । सरकारले उपलब्ध गराएको राहत नपाएको उनको गुनासो छ ।

यस्तै गुनासो सिन्धुपाल्चोक बाह्रबिसेका नारायण शिवाकोटीको पनि छ । भूकम्पले उनकी श्रीमतीलाई मानसिक रोगी बनाइदिएको छ । जुन लामो समय उपचार गर्दासमेत निको हुनसकेको छैन । परिवारको बास टहरामा छ । त्यसमाथि सरकारले राहत स्वरुप दिएको सुरुको १५ हजार रुपैँयासमेत उनको हातमा परेन ।

भूकम्पीपीडित परिचयपत्र पनि पाउन नसेका उनको गुनासो छ । उनले भूकम्पले लडाउन लागेको जोखिमयुक्त घरमा नै सिलाइको काम गर्दै आएका छन् ।

उनी भन्छन्– “घर कसरी मर्मत गर्नु, अलिअलि कमाएको पैसा श्रीमती उपचार गर्दा र जहान छोराछोरीको पालनपोषणमा खर्च हुन्छ । अरुले त राहत पाएर चर्किएका घरको अलिअलि मर्मत गरे, मैले एकसुको पाएको छैन । राहत पनि बोल्न सक्ने र पहुँच हुनेका लागि मात्रै रहेछ ।”

यस्ता पीडा भएका पीडित कति छन् भन्ने कुराको एकिन गर्न सकिएको छैन । भूकम्प गएका दिनदेखि थलिनुभएकी गारेखा लामाचौरकी ७६ वर्षीया निर्मला न्यौपाने सरकारको राहत सपना मात्र भएको दुखेसो पोख्छन् । उनी भन्छन्– “भूकम्पले म बुढी जस्ता कति बूढाबुढीलाई बिरामी बनाएको छ । सरकारले भूकम्पमा परी बिरामी भएका सबैको उपचार गरिदिन्छ भन्ने सुनेको थिए । तर, मैले केही सुविधा पाइन ।”

काठमाडौंमा उपाचारका लागि आएकी उनलाई डर लागि रहने, निद्रा नलाग्ने, खानमा रुचि नहुने, कता जाउँ के गरु जस्तो छटपटी हुने समस्याले सताएको छ । भूकम्पमा परी घाइते भएका ठूला चोट लागेका बिरामीको उपचार गर्न नसकिएको आवस्थामा मानसिक रुपमा थलिएकी निर्मलाजस्ता बिरामीको बारेमा कस्ले सोच्ने ?

भूकम्पको त्रासका कारण मानसिक समस्या भएका बिरामी दैनिक दुई, तीनजना आउने गरेको शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ मानसिक तथा मनोरोग विशेषज्ञ प्रा डाक्टर सरोज ओझा बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप