शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीसँग कोरियाली सभामुखले भने, ‘नेपाल संसारकै सुन्दर गन्तव्य’

सोमबार, १३ वैशाख २०७३, २० : २२
सोमबार, १३ वैशाख २०७३

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका सभामुख छङ उई ह्वाले आज शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा भएको उक्त भेटमा उनीहरुबीच दुईदेशबीचको सम्बन्ध, आपसीहित र चासोको विषयमा केन्द्रित रहेर छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । सो अवसरमा कोरियाली सभामुख ह्वाले नेपाल र कोरियाबीच अत्यन्तै मित्रवत र घनिष्ठ सम्बन्ध रहेको चर्चा गर्दै भूकम्पछिको पुनःनिर्माण दु्रतगतिमा भएर नेपालले छिट्टै समृद्धि हासिल गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरे ।

विश्वकै सर्वोच्च शिखर सगरमाथा र अन्नपूर्णलागयत हिमशृङ्खलाले संसारभरका पर्यटकलाई लोभ्याउने गरेको बताउँदै उनले नेपाल विश्वभरका पर्यटकको लागि सुन्दर गन्तव्य रहेको भनी प्रशंसा गरे । भेटका अवसरमा सभामुख ह्वाले नेपालको प्राकृतिक सम्पदा र पर्यटनका विषयमा केन्द्रित रहेर निकै चासोका साथ गहिरोसँग विस्तृतरुपमा छलफल गर्नुका साथै नेपालका हिमशृङ्खलाको प्रशंसा गरे ।

उनले आफ्नो सभामुखको जिम्मेवारी सकिएपछि नेपालका हिमशृङ्खलाको अवलोकन भ्रमणको कार्यक्रम बनाएर पुनः भ्रमणमा आउने त्यस अवसरमा जानकारीसमेत दिए । इपिएस प्रणालीमार्फत रोजगारीका लागि कोरिया पुगेका अरु देशका श्रमिकको तुलनामा नेपाली ज्यादै अनुशासित र इमान्दार रहेको रोजगारदाता कम्पनीबाट आफूले सूचना प्राप्त गरेको प्रसङ्गसमेत सभामुख ह्वाले उल्लेख गरे ।

सो अवसरमा राष्ट्रपति भण्डारीले गत वर्षको भूकम्पपछि खोज, उद्धार र राहतका लागि कोरियाले पु¥याएको सहयोगका लागि धन्यवाद दिँदै भूकम्पछिको पुनःनिर्माणका लागि आवश्यक कार्यविधि बनाएर नेपाल अब निर्माणको चरणमा प्रवेश गरेको जानकारी दिएका थिए ।

भेटमा दक्षिण कोरियाका सभामुखसँग रहेको संसदीय प्रतिनिधिमण्डका सदस्य र नेपालका लागि कोरियाली राजदूत चोय योङ जिन सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप