शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बैतडीकी “बारबरा आमा”

मङ्गलबार, १४ वैशाख २०७३, १४ : ४७
मङ्गलबार, १४ वैशाख २०७३

बैतडी – दशक भन्दा बढी सयम बैतडीमै बसेर कलम चलाउँदै छु । ती मध्ये केही वर्ष बारबरा एडम्स बैतडी आउँदा उहाँसितका केही अनुभूति निकै रमाईला र रोचक भए पनि आज दुःखका साथ बैतडीबाट बारबरालाई सम्झदै छु । बारबराको दुःखद् देहान्तले बैतडी जिल्लाले एक अशल समाजसेवी गुमाएको छ । यहाँको सुकम्बासी र दलित बस्तीका लागि बारबरा एडम्स नयाँ जीवन दिने अवतार बनेर विगत केही वर्षदेखि बैतडीमा दलित, सुकुम्बासी र हलिया समुदायका लागि आवास, बिद्यालय र स्वास्थ्यचौकी बनाउने काममा बारबराको सहभागिता थियो । बैशाख १० गते राती अबेर मैले किशोर श्रेष्ठ दाईको फेसबुक स्टाट्सबाट बारबराको देहान्तको खबर पाए । सिगास शिक्षा क्याम्पस गाँजरी बैतडीले दोश्रो च्वाँगढ सांस्कृतिक महोत्सवको आयोजनाको निमन्त्रणामा म बैशाख १० गते गाँजरी पुगेको थिए । गाँजरी जानै पर्ने अर्को पनि करण थियो– गाँजरीमा मैले सानो पुस्तकालय स्थापना गर्ने कोशिश गरेको थिए । बारबरा एडम्सले त्यहाँ भवन बनाउन सहयोग गर्ने बाचा दिएकाले पुस्तकालयको नक्सा र स्थानको केही फोटो खिच्ने सोच बनाएर गाँजरी गएको थिए । फोटो खिच्न गाँजरी महोत्सवले अझै राम्रो मौका जुराई दिएको थियो । अन्यथा पत्रकारलाई जिल्ला सदरमुकामबाट फोटो खिच्नकै लागि बाहीर जान आर्थिक हिसाबले संभव छैन । गाँजरी जानु पूर्व बैतडी शिक्षा कार्यालयका श्रोत व्यक्ति एवं बारबरा फाउण्डेशनका सल्लाहकार हरि नाथ ( मेरा आदरणीय गुरु) सित बारबराका विषयमा कुराकानी भएको थियो । हरि नाथकै आग्रहमा बारबरा एडम्सले बैतडीका सुकुम्बासीहरुलाई सहयोग गर्दै आउनु भएको थियो । गाँजरी जानुभन्दा २ दिन पहिले हरि नाथ गुरुसित पुस्तकालयको भवन बारे छलफल गरेको थिए । पुस्तकालयको फोटो र अन्य कागजात ईमेल गर्न उहाँले पनि मलाई अग्रह गर्नु भएको थियो । गाँजरी महोत्सवको निँहुले बैशाख १० गते म पुस्तकालय गाँजरी पुगे । बैतडीको सबै भन्दा अग्लो स्थानमा पर्ने गाँजरी –५ मा रहेको सिगास धुरा धार्मीक पर्यटकीय दृष्टिले निकै अनुपम सुन्दरताले भरिपूर्ण छ । बारबराले पनि गाँजरीको प्रशंसा गर्नु भएको थियो । गाँजरी महोत्सव संगै सिगास धुरा हेर्न राप्रपा नेपालका केन्द्रीय सदस्य एवं अखण्ड सुदूर पश्चिम आन्दोलनका प्रणेता पुष्करराज जोशी (लख्खाभार्ई) ले गाडीको चाँजोपाँजो मिलाउनुभयोे । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीलाई सिगास शिक्षा क्याम्पसले आयोजना गरेको महोत्सवमा प्रमुख अतिथिका रुपमा बोलाएको थियो भने लख्खाभाई कार्यक्रमको विशिष्ट अतिथि हुनुहुन्थ्यो । कार्यालयको कामको व्यस्तताले प्रमुख जिल्ला अधिकारीज्यूले केही ढिलो आउने खबर गरेपछि लख्खाभाईको टिमसहित हामी बैतडी सदरमुकामको शाहीलेक बजारबाट बैशाख १० गते विबहान करिब ११ः बजे गाँजरी महोत्सवका लागि हिड्यौं ।

एक घण्टाको यात्रापछि हामीले पाटन बजारमा खाना खायौं । खानापछि हाम्रो गाडी पाटनको रमणीय स्थानमाथि नागबेली सडक हुँदै गाडी अघि बढ्यो । खोड्पे बजारबाट ११ किलो मिटर जति जयपृथ्वीबहादुर सिंह राजमार्ग कटेपछि गाँजरी जाने ८ किलोमिटर कच्ची सडकमा धुलो खाँदै हामी गाँजरी बजार पुग्यौं । बाटोभरी पुस्तकालयको रम्रो फोटो खिचेर बारबरा मेडमलाई ईमेल गर्ने कुरा गम्दै थिए । तर, फोटो खिचेर सदरमुकाम फर्किदा उहाँको मृत्युको खबर सुने, जुन मेरा लागि निकै दुःखद् र अविस्मरणीय घटना बन्न पुगेको छ । लख्खाभाईको गाँजरी भ्रमण पहिलो भएकाले उहाँले त्यहाँ रहेका सरकारी ईलाका कार्यालय, गाविस भवन , सिगास धुरा हेर्ने ईच्छा राख्नुभयो । हामी आधाघण्टा जति गाँजरी बजार घुम्यौं । च्वाँगढ क्षेत्रको मुटुमा रहेको गाँजरीको भुगोल र सुन्दरता देखेर लख्खाभाईले निकै प्रशंसा गर्दै फोटो खिचाउनुभयो । मैले गाँजरीमा रहेको पुस्तकालयको फोटो खिचे । बारबरा एडम्सको याद आयो । २०७१ सालको माघ महिनामा बरबराले गाँजरी पुगेर पुस्तकालयको भवन बनाउने बाचा गरेको याद आयो । पुस्तकालयको फोटो खिच्दा मैले बारबरालाई निकै बेर सम्झदै थिए–“ बारबराले भवन बनाईदिएपछि सार्वजनिक पुस्तकालयमा सबैले सहज ढंगले अध्ययन गर्न पाउने छन् ।” बिडम्बना त्यो अब कल्पना मात्र भएको छ । गाँजरी बजारमा आधा घण्टाको घुमफिरपछि बैतडीका प्रमुख जिल्ला अधिकारी लीलार अधिकारी महोत्सवमा आईपुग्नु भयो । कार्यक्रम बेलुकी ७ः बजेसम्म चल्यो । महोत्सवमा प्रमुख जिल्लाअधिकारी देउडा गायक मुरलीधर अवस्थीको गीतमा कम्मर मर्काएर नाच्नुभयो । महोत्सवको उद्घाटन सकेर हामी खुशी हुँदै सदरमुकाम फर्कियौं । पुस्तकालयको फोटो खिचेर बारबरा एडम्सलाई ईमेल गर्ने सोच बनाएर कोठा पुगे । ईमेल भन्दा पहिला फेसबुकमा महोत्सवको फोटो अपलोड गर्ने सोचले फेसबुक खोल्दा पत्रकार किशोर श्रेष्ठ दाईको फेसबुक स्टाटस्को हार्दिक श्रद्धाञ्जली पढेर म झसंग भए । खबर बारबरा एडम्सको देहान्तको थियो । क्यामेरा बन्द गरेर ल्यापटपमा रहेका पुराना फाईल खोज्न थाले । डेढ वर्ष अघि बारबरासित गाँजरीमा खिचेका फोल्डर खोलेर फोटोहरु पल्टाए । मान्छेको चोला यस्तै रहेछ । धन्य बारबरा एडम्स ! सुविधा सम्पन्न अमेरिका छोडेर नेपाल छिरेर दरवारसितको साईनो देखि बैतडीका सुकुम्बासीको घरवार बसाई दिने अभियान थाकेकी थियौं । बैतडीका गरिब, दलित र सुकुम्बासीहरु तिम्रो मृत्युको खबरले स्तब्ध भएका छन् । “बारबरा आमा” भनेर बैतडीको श्रीकोट र सित्तड गाविसका सयौं दलित परिवारले अब “बारबरा आमा” आउँदैछिन् भन्न नपाउँने भएका छन् । मान्छेको जन्म कहाँ र मृत्यु कहाँ हुन्छ कसैलाई थाहा हुँदैन । बारबराको जीवनी यस्तै लाग्छ । अमेरिका जन्मेर बेलायती महारानी एलिजाबेथ नेपाल आउँदा रिपोर्टिङ गर्न एक पत्रकारका रुपमा नेपाल छिरेपछि उहाँ राजपरिवारसित जोडिनु भयो । बशुन्धरा शाहसित उहाँको सम्बन्ध रहेको थियो । सम्पत्ति दिनु पर्ने डरले उहाँलाई नेपाली नागरिकता दिईएन । प्रचण्ड सरकारका बेला माबदेव गौतम र पत्रकार किशोर श्रेष्ठको अगुवाईमा बारबराले लामो समयपछि नेपाली नागरिकता पाउनुभयो । नेपाली नागरिकता पाएपछि बारबरराले आफ्नै नाममा बारबरा फाउण्डेशन गठन गरी बैतडीका गरिब र सुकुम्बासीका लागि जग्गा किनेर बिगत ४ वर्षदेखि घर,बिद्यालय भवन, स्वास्थ्यचौकी बनाउन सक्रिय भएर लाग्नुभएको थियो । कयौं पटक बारबरासित रिपोर्टिङ गर्न बैतडीको सित्तड र श्रीकोटका विभिन्न गाउँ, डाँडा काँडा र भीर पाखा छिचोल्दै हिँडेको अब सम्झना मात्र बाँकी रहेको छ । बारबराले बैतडीको श्रीकोट ५ थामचमडियामा ५० परिवार सुकुम्बासीका लागि घर निर्माण, लुगाफाटो,भाडावर्तन, खानेपानी योजना निर्माण, बिद्यालय भवन र स्वास्थ्यचौकी बनाउनुका सथै उज्यालोका लागि सोलार बत्ती जडान गरिदिनु भएकोे छ । त्यसै गरी सित्तड र श्रीकेदारको दलित वस्तीमा पनि उहाँले ठूलो सहयोग गर्नु भएको छ । पोहोरसाल भुकम्पसंगै बिरामी परेर लामो उपचारपछि उहाँलाई अलि सन्चो लागेको खबरले बैतडीका सुकुम्बासी खुशी भएका थिए । सन्चो लागेपछि एक चोटी सुकुम्बासी वस्तीमा भएको परिवर्तन हेर्न बैतडी आउने उनको चाहना अधुरो रहेको छ । ८२ वर्षमाको उमेर बैतडी पुगेर सुकुम्बासी र दलितहरुलाई बारबराले गरेको सहयोगले अहिले सुकुम्बासी र दलित वस्ती निकै परिवर्तन भएको छ । ८२ वर्षको उमेरमा बारबरा बैतडी पुग्दा सुकुम्बासीसित सधैं हंसिलो अनुहार लिएर वस्तीमा छिर्दा दलित र सुकुम्बासीहरु बाजागाजा बजाएर खुशीयाली मनाउने गर्थे । बैतडी बसुन्जेल सुकुम्बासीहरुसित नै रुखोपिठो खाने बारबरा एडम्सले सुकुम्बासी वस्तीमा ल्याएको परिवर्तन जो कसैका लागि पनि अनुकरणीय बनेको छ । सन्चो लागेपछि पुनः बैतडी फर्किने बारबराको धोको अधुरो रहे पनि उहाँले चाहना गरे अनुसार सुकुम्बासी वस्तीमा खुशी र हाँसो छाएको छ । धुलो मैलोमा बस्ने दलित वस्ती सुन्दर सफा बनेको छ । बारबराले बाँडेको सोलारले दलित वस्ती उज्यालो बनेको छ । यो सबै परिवर्तन बारबराकै देन हो । बारबरा कहिल्यै नब्युँझने गरी चीर निंद्रामा लिन भए पनि दलित वस्तीमा बल्ल चेतना र जागरणको बत्ती बलेको छ । सलाम छ बारबराका सहयोगी हातहरुलाई अनि हार्दिक श्रद्धाञ्जली सहित मृत आन्तामाको चिरशान्तिको कामना गर्दछु । अलविदा बारबरा ! लेखक गोरखापत्र दैनिकसँग आबद्ध छन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप