शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मानव तस्करीको नयाँ काइदा

मङ्गलबार, १४ वैशाख २०७३, १५ : ४०
मङ्गलबार, १४ वैशाख २०७३

कपिलवस्तु – दाङ घर भएकी सीता केसीलाई दुई जना दिल्ली पुर्याए २० हजार दिने प्रस्ताव आयो । एक साताअघि स्थानीय विक्रम भन्ने व्यक्तिले उनलाई सो प्रस्ताव राखे । आर्थिक रुपमा विपन्न सीता केही नसोची राजी भइन् । २ जना युवती दिल्ली पठाउने जिम्मा लिएर उनी शनिबार काठमाडौंबाट कृष्णनगर आइपुगिन् । कृष्णनगर सीमा क्षेत्रमा प्रहरीले सोधपुछ गर्दा शंकास्पद पाएपछि उनी पक्राउ परिन् । पक्राउपछि सीताले आफू अन्जानमा ठूलो घटनामा फसेको भन्दै पश्चाताप गर्दैछिन् । मानव वेचविखन तथा ओसारपसारमा सक्रिय दलालहरुले अहिले आर्थिक विपन्नता भएका महिलाहरुलाई विचौलियाको रुपमा प्रयोग गरिरहेका छन् । सीमा क्षेत्रमा प्रहरीको बढ्दो सक्रियता र मानव बेचबिखनबिरुद्धका संघसंस्थाहरुको समन्वयका कारण दलालहरुले युवती भारत लैजान नौलो तरिका अपनाउने गरेका हुन् । विपन्न समुदायका महिलाहरुलाई फकाएर दलालहरुले छोटो बाटो पैसा कमाउने प्रलोभनमा पार्ने गरेको प्रहरी निरिक्षक नमराज भट्टराई बताउँछन् । कृष्णनगर नाकाबाट पक्राउ परेका अधिकांश व्यक्ति दलाल नभई बिचौलिया हुने गरेको उनको भनाई छ । एउटा युवती नेपालबाट दिल्ली पुरयाए १० हजार दिन्छन्, कसैले ४ जना सम्म लगेको पत्ता लागेको छ” उनले भने । दलालहरुले निकै चलाखीपूर्ण रुपमा बिचौलियाहरुलाई समेत थाहा नदिई युवतीलाई ओसारपसार गराउने र विक्री गर्ने गरेको केआई नेपालका संयोजक केशर विक बताउनुहुन्छ । अहिले भूकम्पमा परि पीडित भएका युवती तथा ग्रामिण भेगका महिलाहरुलाई भारत हुँदै वैदेशिक रोजगारीमा पठाउने भन्दै दलालहरु सक्रिय रहेको उनको दाबी छ । “कुवेत, बहराईन, इजरायलमा नेपालबाट जान नपाइने, भारतबाट सजिलै गइन्छ भन्दै फकाएर दिल्ली, मुम्बई, लगायतका स्थानमा नेपाली चेलीहरु बेचिन्छन्” उनले भने । आइतबार मात्रै संस्थाले सीता केसीले भारत लैजादै गरेकी रोल्पा र सल्यानकी दुई युवतीलाई आफन्तको जिम्मा लगाएको छ । प्रहरीले यता मुख्य दलालको व्यापक खोजी गरिरहेको छ । प्रहरी निरिक्षक भट्टराईले पीडितको बयानको आधारमा आफुले अनुसन्धान सुरु गरेको बताए । आर्थिक प्रलोभनमा पारेर दलालहरुले सोझा व्यक्तिहरुलाई मानव बेचबिखन ओसार पसारमा प्रयोग गर्ने क्रम बढ्दै गएको प्रति प्रहरीले चिन्ता व्यक्त गरेको छ । थोरै रकममा ठूलो जोखिम मोलेर बिना जानकारी व्यक्तिहरु मानवओसार पसारमा संगल्न हुँदा अनाहकमा सजाय भोग्नुपरिरहेको प्रहरी उपरिक्षक विष्णु केसी बताउँछन् । खुला सीमानाका वावजुद पनि आफुहरुले बेचविखनबिरुद्ध सक्दो अभियान र नियन्त्रण गर्न पहल गरिरहेको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप