शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

रंगमञ्च : ती आमाको कथा, जसले आफ्नो ज्यान दिएर छोरो बचाइन्

मङ्गलबार, १४ वैशाख २०७३, १५ : ५४
मङ्गलबार, १४ वैशाख २०७३

भूकम्प आएको बर्ष दिन भइसकेको छ । तर यसका असरहरू ताजा नै छन् । धेरैले ज्यान गुमाए । तिनका आफन्तमा हृदयमा लागेको घाउ बिसेक भइसकेको छैन । भूकम्पको असरमा परेर बाँचिरहेकाहरूको अवस्था त झनै बिजोग छ । यसैबेला भूकम्पीय समयको एउटा संवेदनालाई पक्रिएर लेखिएको नाटक ‘अमर मातृत्व’ सर्वनाम नाटकघरमा मञ्चन भइरहको छ । प्रा.डा. तारानिधि भट्टराईले भूकम्पमा देखिएको मातृत्वको अतुलनीय उदाहरणलाई नाटकमा खिपेका छन् । निर्देशन गरेका छन् पुरु लम्सालले । हुन त मातृत्वको वर्णनका लागि कुनै विशेष घटनाको उदाहरण नै आवश्यक छ भन्ने होइन । तर पनि यस्ता विशेष घटनाका बेलामा अझ विशेष बन्ने गरेको छ । त्यसैकारण भट्टराईले भूकम्पका बेला आफ्नो ज्यानको परवाह नगरी छोरालाई बचाउने आमाको कथा नाटकमा बुनेका छन् ।

विनोद मानन्धरले नाटकमा पहिलोपटक आफ्नो कलाक्षमता देखाएका छन् । त्यसैगरी आमाको भूमिकामा लूनिभा तुलाधार प्रभावशाली देखिएकी छन् । विष्णुभक्त फुयाँल र मिश्री थापाको परिपक्व अभिनयले नाटकलाई जीवन्त बनाएको छ । छोरीको भूमिकामा सरिता साहले आफूलाई अब्बल प्रमाणित गरेकी छिन् । अशोक थापा, सुवास प्याकुरेल र लक्ष्मणविक्रम बस्नेतको अभिनयले पनि नाटकलाई बलियो बनाएको छ । कलाकार भीष्म जोशी, रेशव अर्याल, नीमा वाइबा, विजय वाइबा, सन्तोष स्याङ्तान, राज भट्टराई र प्रिया रायमाझी पनि नाटकका इँट हुन् । लूनिभा तुलाधर र विनोद मानन्धरको स्टेज जोडी सुहाएको छ । उसैगरी विष्णुभक्त फुयाँल र मिश्री थापाको जोडी पनि जीवन्त देखिन्छ ।

पारिवारिक खुशी, भूकम्पको अनुभूति र भूकम्पपछिको त्रासदीलाई चित्रण गर्न निर्देशकले गरेको मिहिनेत प्रशंसनीय छ । मञ्च निर्माणले पनि त्यसलाई सहयोग गरेको छ । त्यति हुँदा–हुँदै पनि नाटकमा भूकम्प आएपछिको दृश्यमा कमजोर लाग्छ । यसमा संवाद र संवेदनाको उचित तालमेल हुन सकेको देखिँदैन । निर्देशक र कलाकारको निकै बलियो प्रयत्नले पनि भूकम्पपछिको घटनामा दर्शक बाँधिन गाह्रो हुन्छ । दृश्यको संवेदनशीलताले त छुन खोज्छ, तर संवादको बोझले थिचिरहन्छ । यसमा नाटककारले ध्यान दिनु आवश्यक छ । नाटकमा सन्देश दिन बोझिल संवाद नै आवश्यक छ भन्ने सोच्नु ‘नारावादी’ सोचबाट मुक्त आवश्यक छ । यसमा सचेत भएर नाटकको पछिल्लो भाग सम्पादन गर्ने हो भने नाटक अझै बलियो बन्छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले प्रस्तुत गरेको नाटक बुधबारसम्म मञ्चन हुन्छ । हेरौं, निर्देशक पुरु लम्सालको फेसबुक टाइमलाइनबाट लिइएका नाटकका केही तस्बिर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप