बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पहिलो लेगमा बायर्नमाथि एथ्लेटिकोको झिनो अग्रता

बिहीबार, १६ वैशाख २०७३, ०९ : ३८
बिहीबार, १६ वैशाख २०७३

म्याड्रिड – साउल निग्वेजको उत्कृष्ट गोलको मद्दतले च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा एथ्लेटिको म्याड्रिडले जमर्न महारथी बायर्न म्युनिखमाथि अग्रता बनाएको छ । निग्वेजले बायर्नका आधा दर्जन खेलाडीलाई ल्याउँदै खेलको पहिलो पहिलो हाफमा गोल गरेका थिए । उनैको गोल निर्णायक बन्यो । दोस्रो हाफमा भने बायर्नले सुदृढ खेल प्रदर्शन गर्दै एथ्लेटिकोमाथि दबाब राखेको थियो । डेभिड अलाबाले ३५ यार्ड टाढाबाट हानेको प्रहार बारमा लागेको थियो अर्टुरो भिडालको प्रहार एथ्लेटिकोका गोलकिपरले जोगाएका थिए । उता, एथ्लेटिकोका लागि पनि फर्नान्डो टोरेसले हानेको प्रहार पोलमा लागेको थियो । दुवै टोली आगामी मंगलबार बायर्नको एलियान्ज एरिनामा भेट्ने छन् विजेताले मे २८ मा म्यान्चेस्टर सिटी र रियल म्याड्रिडको विजेतासँग फाइनलमा भिड्ने छ । एथ्लेटिको लामो समय आफ्नो छिमेकी रियलको छाँयामा रहँदै आएको छ । हालसम्म उसले च्याम्पियन्स लिग नजिते पनि दुई पटक फाइनलमा पराजित भएको छ ।

डिएगो सिमियोनीको नेतृत्वमा भने एथ्लेटिकोले ला लिगामा रियल र बार्सिलोनाको अधिपत्यलाई चुनौती दिइरहेको छ । यसको साथै पहिलो पटक च्याम्पियन्स लिग जित्नका लागि बलियो दाबेदारी प्रस्तुत गरेको छ । यद्यपि, घरेलु मैदानमा खेलिएका पछिल्ला २४ खेलमा बायर्न एक मात्र खेलमा पराजित रहेको छ । त्यही भएर सेमिफाइनल अझै पनि अनिर्णित नै छ । एथ्लेटिकोको सफल हुनमा उसको डिफेन्स नै महत्वपूर्ण हिस्सा रहँदै आएको छ । च्याम्पियन्स लिगमा एथ्लेटिकोले हालसम्म मात्र ५ गोल खाएको छ भने ला लिगामा पनि पछिल्ला ४ खेलमा गोल खाएको छैन । यता, बायर्नले भने प्रतियोगिताका १० खेलमा २८ गोल गरेको छ । उता, यस सिजन पेप ग्वार्डिओलाको बायर्नमा तीन वर्षे कार्यकालको अन्त्य हुँदैछ । पछिल्लो दुई पटककै सेमिफाइनलमा ग्वार्डिओला स्पेनिस प्रतिद्वन्द्वीसँग पराजित हुँदै बाहिरिएको छ । पहिलो पटक रियल र दोस्रो पटक बार्सिलोनासँग बायर्न पराजित बनेको थियो । यसपटक बायर्नको सामु अर्को स्पेनिस टोलीले चुनौती प्रस्तुत गरेको छ । खेलपछि ग्वार्डिओलाले भने, ‘उक्त गोल उत्कृष्ट थियो तर गल्ती पनि हाम्रै थियो । आजको खेलबाट म खुसी छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप