बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुध्रिएन नदी किनारमा फोहोर फाल्ने बानी

बिहीबार, १६ वैशाख २०७३, १५ : ०५
बिहीबार, १६ वैशाख २०७३

म्याग्दी – जिल्लाका मुख्य दुई ठूला कालीगण्डकी र म्याग्दी नदीको सरसफाईका लागि अभियान सञ्चालन भएपनि सदरमुकाम बेनीका बासिन्दाले नदी किनारमा फोहोर फाल्ने बर्षौदेखिको ब्यवहार सुधार गरेका छैनन् ।

पत्रकारहरुको अगुवाईमा सञ्चालन भएको अभियानमा बेनीबजारका बासिन्दाहरुले असहयोग गरेका छन् । खानेपानी, सरसफाई, तथा स्वच्छता (वास) पत्रकार मञ्चको अगुवाईमा सुरु भएको म्याग्दी–काली बृहत सरसफाई अभियान दुई हप्ता नपुग्दै बजारका बासिन्दाले असहयोग गरेका हुन् । गत हप्ता सरसफाई गरिएको कालीपुल स्थित नदी किनारमा फोहोर फालेका बजारका बासिन्दाले बिहीबार दोस्रो हप्ताको अभियानमा न्युन सहभागिता जनाएर असहयोग गरेका मञ्चले जनाएको छ । बजारका बासिन्दाले आफूले गरेको प्रतिवद्धता उल्लङघन गर्दै नदी किनारमा फोहोर फाल्ने ब्यवहार सुधार पनि नगरेको र फालेको फोहोर ब्यवस्थानका लागि गरिएको सरसफाई अभियानमा सहभागिता नजनाएकोमा मञ्चका अध्यक्ष ठाकुरप्रसाद आचार्यले दुख व्यक्त गरे ।

कालीपुलको मोटरेबल पुल देखि पर्वत बेनी तर्ने झोलुङ्गे पुलसम्मको कालीगण्डकी किनारसम्म गरिएको सरसफाईका क्रममा नेपाली सेनाको ईन्द्रबक्स गण, जिल्ला प्रहरी कार्यालय र सञ्चारकर्मीहरुको उल्लेख्य सहभागिता थियो । पहिलो हप्ताको तुलनामा यस हप्ताको अभियानमा बजारका बासिन्दा र कर्मचारीहरुको अभियानमा सहभागीता ह्वातै घटेको छ । एकातर्फ सरसफाई गरिएको ठाउँमा फोहोर गर्ने र सरसफाई अभियानमा पनि सहभागिता नजनाउनुले बेनी बजारका बासिन्दाले असभ्यताको नमुना प्रर्दशन गरेको अध्यक्ष आचार्यले बताए । आगामी हप्तादेखि सुरक्षा निकायको सहयोगमा जसको घरको पछाडी फोहोर फालीएको छ उनिहरुलाईनै उक्त फोहोर फाल्न लगाउने प्रमुख जिल्ला अधिकारी केशव आचार्यले चेतावनी दिए ।

उक्त क्रममा बेनी नगरपालीकाका कार्यकारी अधिकृत छवीलाल सुवेदीले घर पछाडीको नदी किनारमा फोहोर गर्नेहरुलाई ब्यवहार सुधार गर्न निर्देशन दिए । नगरपालीकाले कार्यतालीका अनुसार नियमित रुपमा बजारमा फोहोर संकलन गर्ने ट्याक्टर पठाउने र अटेर गरेर नदी किनारमा फोहोर फाल्नेलाई दण्ड जरिवाना गरिने अधिकृत सुवेदीले बताए ।

धार्मीक, सांस्कृतीक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने कालीगण्डकी र त्यसको सहायक नदी म्याग्दीमा फोहोर फाल्ने क्रम बढेपछि त्यसलाई निरुत्साहीत गर्न बेनीमा पत्रकारहरुको अगुवाईमा नदी सरसफाई अभियान सञ्चालन गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप