बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

पत्रकार सूर्यकुमार क्षेत्रीप्रति श्रद्धाञ्जलि : सभामुखदेखि कांग्रेस सभापतिसम्म पुगे

शुक्रबार, १७ वैशाख २०७३, १४ : ५१
शुक्रबार, १७ वैशाख २०७३

काठमाडौँ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ब्रेन ट्युमरबाट निधन भएका नेपाल प्रेस युनियनका केन्द्रीय सचिव सूर्यकुमार क्षेत्रीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

आज नेपाल प्रज्ञा प्रतिष्ठानमा पुगी क्षेत्रीको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर उनले अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

यस्तै, सभामुख ओनसरी घर्ती पनि सोही स्थानमा पुगेर क्षेत्रीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

उपप्रधानमन्त्री चित्रबहादुर केसी, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सञ्चारमन्त्री शेरधन राई, उद्योगमन्त्री सोमप्रसाद पाण्डे, नेपाली काँग्रेसका नेताहरु कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, डा. मीनेन्द्र रिजाल, गगनकुमार थापा, प्रदीप पौडेल, गुरुराज घिमिरे, एनपी साउद, चन्द्र भण्डारीलगायतका नेताहरु श्रद्धाञ्जलि दिन प्रज्ञा प्रतिष्ठान पुगेका थिए ।

विसं २०७१ मङ्सिरमा ब्रेन ट्युमर देखिएपछि उनको सफल शल्यक्रिया गरिएको थियो । बिहीबार राति ९ः१५ बजे अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएका क्षेत्रीको दाहसंस्कार उनकै गृहजिल्ला स्याङ्जामा गरिने भएको छ । महासङ्घद्वारा पत्रकार क्षेत्रीप्रति श्रद्धाञ्जलि यता, नेपाल पत्रकार महासङ्घले पत्रकार सूर्यकुमार क्षेत्रीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ ।

महासङ्घका महासचिव उजिर मगरले आज एक विज्ञप्ति जारी गरी क्षेत्रीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु, निर्भिक र युवा पत्रकार गुमाएको जनाएका छन् ।

“महासङ्घ स्वर्गीय क्षेत्रीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतात्माको चिर शान्तिको कामना गर्दछ । शोकको यस घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ” –विज्ञप्तिमा उल्लेख छ ।

पाल्पाबाट पत्रकारिता सुरु गर्नुभएका क्षेत्रीले उज्यालो नेटवर्क र नेपालवाणी नेटवर्कमा लामो समय पत्रकारिता गर्नुभएको थियो । पछिल्लो समय नेपाली कला डटकममा आबद्ध क्षेत्री गीत, सङ्गीत र साहित्यमा समेत संलग्न थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप